© २०२३
पाल्पा, २ कात्तिक ।
पाल्पा निस्दी गाउँपालिकाको झिरुबासका भुपेन पाटाले सात दशक पार गरे । बुढेशकालले झपक्कै छोपे पनि आफ्नो खर्चका लागि आफैले व्यवस्थापन गर्दै आएका छन् ।
बाँसको चोयाबाट डोको बुन्ने उनको बाल्यकालदेखिको सिप भएको उनी बताउँछन् । पहिले पहिले अहिले जस्तो टोल टोलमा मोटर बाटो थिएन । महिना दिन लगाएर डोको बुन्ने अरुण खोलाको बजारमा पु¥याएर बिक्री गर्दा महिना दिनलाई खाद्यान्नको जोहो गरेको पाट बताउँछन्् । “पहिला पहिला जस्तो डोकोको प्रयोग हँुदैन, कमै प्रयोग भएपनि घरैबाट डोको बिक्री भएको र आफ्नो खर्चको लागि पर निर्भरता हुनु परेको छैन”–उनी भन्छन् ।
पहिले पहिले पुराना पुस्ताले गर्मी मौसममा रुखको छहारी मुनि र जाडोयाममा घाममा बसेर डोको, धान राख्ने भकारी, मान्द्रो जस्ता सामग्रीहरु बुन्ने गर्थे । पहिले गाउँघरमा पानी डोकोमा गाग्री राखेर पानीको जोहो गर्ने चलन आजभोलि घर घरमा टकीं धाराहरु छन् । खेत बारीमा दाउरा घाँस अनि मल राख्न सबै डोकोमा बोकेर गर्नु पर्ने बाध्यता आजभोलि ट्याक्टरको प्रयोग हुन थालेको पनि दशक भन्दा बढी भयो । त्यसैले बाँसबाट निर्मित डोको, डालो, भकारी, मान्द्रो अत्यन्तै कम प्रयोग हुन थालेको झिरुवासका कृष्णबहादुर सोती बताउँछन् ।
माथागढी गाउँपालिका चन्द्रवनका २० घर परिवारले बासको चोयाबाट निर्मित डोको, डालो, डाली, मान्द्रो, सुपो जस्ता सामग्री बुनेर गाउँघरमा डुलेर मात्र होइन वुटवलको हाटबजार सम्म पुगेर बिक्री गर्ने व्यवसाय गरेका थिए तर आजभोलि जसोतसो ३ घर परिवारले मात्र निरन्तरता दिएको स्थानीय गोपाल नेपाली बताउँछन् ।
पहिले पहिलेको तुलनामा बाँसबाट निर्मित सामग्रीहरु अत्यन्तै कम प्रयोगमा आउन थाले । त्यसैले गर्दा परम्परागत व्यवसायबाट विस्थापित हुन पुगेको स्थानीय धनबहादुर नेपाली बताउँछन् । पहिले पहिले स्याङ्जाको धनुबासेबाट बास ल्याएर चोयाँ काढेर बुटवलको हाटसम्म पु¥याएर बिक्री गरेको खुम बहादुर विश्वकर्मा बताउँछन् । “हामीले बनाएका सामग्री पोखराको बजार सम्म पुग्यो । त्यतिबेला सस्तो मूल्यमा बिक्री गर्दा पनि त्यही पेशा बाट ७–७ जनाको परिवार राम्रै चलेको थियो, तर के गर्ने पुराना दिनहरु सपना जस्तै भएका छन्”–उनी भन्छन् ।
“पहिला जस्तो यसको प्रयोग पनि हँुदैन । पहिले कृषिमा निर्भर हुनेहरुको संख्या धेरै थियो त्यति मात्र नभएर आजभोलि प्लाष्टिकका सामग्रीहरुले पनि हाम्रो सिपलाई बिस्थापित गर्न पुगेको छ । मान्द्रो, डाला डाली भकारी त बुन्नै नपर्ने भयो । डोकोले सम्म पेशा धानेको छ”–रैनादेवी छहरा गाउँपालिका सत्यवतीका विर बहादुर दर्लामी भन्छन् । “दलित जातिको विवाहमा डोकोमा बोकेर मासु, मदिरा बटुकर, रोटी लैजान पर्ने परम्परा भएकाले गाउँमा डोको खोज्नेहरु कहि कतै भेटिन्छन्, नत्र सबै कुरा हराएर गयो”–उनले भने । यस्ता उद्यमीहरु र सिपको स्थानीय सरकारले संरक्षण गर्नु पर्ने थियो, तर स्थानीय सरकारको ध्यान त्यसतर्फ जान नसकोको स्थानीयहरुको गुनासो रहेको छ ।