© २०२३
मगरभित्र विविध संस्कार, संस्कृति छ । बाह्र मगराँत, अठार मगराँत र काइके भाषा बोलिन्छ मगर समाजमा । आफू जन्मेको संस्कार र संस्कृतिदेखि अलिक फरक रूपमा मगर संस्कारलाई समेटेर मगर समाजलाई चलचित्र प्रस्तुत गर्न खोज्नु भनेको मगर समाजभित्रकै विविध संस्कार र संस्कृति मध्ये एकलाई सबै सामु ल्याउने प्रयास गर्नु विविधताकै रूप हो । विगतदेखि वर्तमानसम्मको कुराहरू समेटेर कुनै एतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि चलचित्र निर्माण भएको हुन्छ । आफ्नो पुरानो संस्कार र संस्कृति युवा पुस्तालाई जानकारी गराउनु पर्दछ । जो चलचित्र विद्यामा सम्भव रहन्छ । विविध संस्कार, संस्कृतिलाई एउटै चलचित्रले समेट्न सक्दैन । मगरको विषयवस्तु समेटेर बनाइएको एतिहासिक चलचित्र सिमारेखा हो । सिमारेखा चलचित्रमा राज्यसत्ताले छलकपट गरि मगरको राज्य हत्याएको विषयवस्तु दर्शाइएको छ । जुन इतिहासमा पाइदैन ।
पहिचानको लडाइँमा चलचित्र पनि महत्वपूर्ण माध्यम बन्न सक्छ भन्ने सोचाईंको धरातल मगर समाजमा निर्माण गर्न सकिएको छैन् । एउटा दृश्यले हजार शब्द बोल्न सक्छ । यो लेख मार्फत चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन भन्ने जानकारी गराउने प्रयत्न रहने छ । यो सभ्यताको लडाईमा भाषणले मात्र केही गर्न सक्दैन । पुस्तक, पत्रपत्रिका प्रकाशनको साथै चलचित्रले पनि पहिचानको लडाईमा झन आत्मबल प्रदान गर्न सक्छ भन्ने सोचाई बनाउनु पर्छ ।
आफ्नो जीविकापार्जन र आफ्नो आवश्यकता पुरा गर्नका लागि आफ्नो ज्ञान, बुद्धि, विवेक, शिप, क्षमताको उपयोग गर्दै अनवरत रूपमा अवलम्बन गर्दै पूर्खाहरूबाट विरासतका रूपमा प्राप्त मौलिक, परम्परागत जीवनशैली वा जीवनपद्धति नै संस्कृति हो । संस्कृति भित्र परम्परागत रूपमा प्रचलित खानपान, भेषभूषा नाचगान, धर्म–कर्म, हाँसखेल, ज्ञान, कला, शिप, साहित्य, चाडपर्व, उत्सव, संस्कार–अनुष्ठान आदि परम्परागत प्रथा–प्रचलनहरू पर्दछन् ।
कुनै पनि जाति वर्ग र समुदायको संस्कृतिभित्र उसको भाषा, साहित्य, इतिहास, दर्शन, चिन्तन, भूगोल, परम्परा जस्ता वस्तुहरू पर्दछ । यही संस्कृतिकै कारण मानिसहरू अन्य प्राणीहरूभन्दा पृथक र विशिष्ट बन्न पुगेको हो । मानिस समाजमा नै जन्मन्छ, हुर्कन्छ र समाजमा नै जीवनयापन गर्दछ । मानिसले समाजबाट नै सम्पूर्ण ज्ञानहरू सिक्दछ । मानिस जुन संस्कृतिमा हुर्कन्छ सोही अनुसार उसको सोचाई, बुझाई तथा आचरण बन्ने गर्दछ । त्यसैले व्यक्ति, समाज र संस्कृति एक अर्काको अभिन्न अंग हो । विकृतिहरूलाई जितेर नै संस्कृति बन्दछ । मानिस जतिनै सभ्य र आधुनिक बन्न पुगे पनि उसको व्यवहारमा प्राचीन संस्कृति कतै न कतै झल्केकै हुन्छ । अर्थात संस्कृति रातारात निर्माण नभई प्राचीन समयदेखि नै निरन्तर रूपमा हस्तान्तरण हुँदै आएको वस्तु हो ।
आज हामी जुन साँस्कृतिक धरातलमा बाँचेका छौं, त्यो अघिल्लो पुस्ताबाट हस्तान्तरण हुँदै हामीलाई प्राप्त भएको हो । संस्कृति एक व्यक्तिबाट अर्को व्यक्ति, एक समाजबाट अर्को समाज तथा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आउँछ । संस्कृति मानिसको आस्था, आशा, भरोसा, विश्वास पनि हो । त्यसैले संस्कृतिभित्र आध्यात्मिक भावना र चिन्तन विद्यमान हुन्छ । संस्कृति एउटा व्यापक प्रक्रिया हो । यसभित्र धर्म, दर्शन, संस्कार, आस्था जस्ता आध्यात्मिक ज्ञान तथा चिन्तन समेत रहेको हुन्छ । मानिस जीविकोपार्जनको लागि संसारका विभिन्न क्षेत्रमा विस्तारित हुने क्रममा विभिन्न प्रकारका संस्कृतिहरूको निर्माण हुन्छ । त्यसैले संस्कृति जाति, धर्म, भूगोल, देश अनुसार फरक फरक खालका हुन्छन् ।
संस्कृति भनेको मानिस जीवनयापन गर्ने क्रममा अवलम्बन गर्ने जीवनशैली हो । सामान्यतया रीतिथिति, परम्परा, खानपान, चाडपर्व, नाचगान आदिलाई मात्र संस्कृतिको रूपमा बुझ्नु गलत हुनेछ । संस्कृति भित्र भौतिक वस्तुहरू (देख्न र छुन सकिने) खानपिन, भेषभुषा, नाचगान, खेलकुद, वास्तुकला, चित्रकला, मुर्तीकला, बाजागाजा, हातहतियार आदि मानव निर्मित वस्तुहरू तथा अभौतिक वस्तु (देख्न र छुन नसकिने) भाषा, साहित्य, धर्म, दर्शन, विचार, आस्था, मुल्य, मान्यता, शिप, कला, इतिहास, मिथक, गीत, संगीत, मायाप्रीति, रोदन–क्रन्दन, ज्ञान, विवेक, रुची, स्वभाव आदि अमूर्त वस्तुहरू समेत पर्दछन् ।
नेवारी भाषा आन्दोलनका हस्तीहरू कविकेशरी चित्तधर ‘हृदय आमा शीर्षकको कविता नेपाल भाषामा प्रकाशित गरे वापत सन् १९४० (वि.सं. १९९७ साल) मा १० वर्ष कैद परेका थिए । कवि सिद्धिचरण श्रेष्ठले ‘वर्षा शीर्षकको कविता नेपाल भाषामा प्रकाशित गरे वापत सन् १९४० मा सर्वस्वहरण सहित आजन्म कैद र फत्तेबहादुर सिंहले नेपाली विहार पुस्तक नेपाल भाषामा प्रकाशित गरे वापत सन् १९४० मै सर्वस्वहरणसहित आजन्म कारावास दिएका थिए । यसै गरी गाउँघरका लिम्बूहरूलाई शिक्षित तुल्याउन प्रयत्न गर्ने छेन्ताङ, ताप्लेजुङ (पहिले आठराई) का लालसोर सेन्दाङले ७४ वर्षको उमेरमा वि.सं. १९७१ (सन् १९१४) मा ज्यान बचाउन देश छोडेर आप्mना चेलाहरूसहित सिक्किम भाग्नु प¥यो । डा. चैतन्य सुब्बा, २००२
वि.सं. १९७८ (ई. १९२१) श्रावण २९ को राणा सरकारले एक इस्तिहार जारी गरी गैरनेपाली भाषामा लेखिएका कागजपत्रहरू अदालतमा प्रमाण स्वरूप पेश गर्न नसकिने व्यवस्था लागू भयो । डा. चैतन्य लिम्बू ।
माथि उल्लेखित कारणहरूले गर्दा आदिवासी जनजातिका मातृभाषाहरू केही लोप भयो भने केही लोप हुने क्रममा छन् । राज्यसत्ताकै कारण केही मगरहरू अहिले मगर भाषा विहिन भई खस नेपाली भाषा मात्र बोल्ने बनेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा ३.०९८ प्रतिशत जनसंख्याले मगर भाषाहरू बोल्ने गरेको देखाएको छ । यो वि.सं. २०५८ सालको जनगणनाको ३.३९ प्रतिशत भन्दा काम हो । यद्यपी वि.सं. २०६८ को जनगणनाको तुलनामा केही प्र्रतिशत बढेको देखिन्छ ।
देश भित्र रहेको जीवित कला, संस्कृतिहरू कुनै पनि मुलुकको गर्व गर्ने पहिचानहरू हुन् । विश्व मानचित्रमा नेपाल सानो भए पनि यहाँको भौगोलिक र साँस्कृतिक विविधता अनि प्राकृतिक सुन्दरताको कारणले संसारभर आफ्नै प्रकारको समृद्धि राष्ट्रमा चिनिन्छ । हाम्रो सिर्जनामा यिनै भौगोलिक, साँस्कृतिक र प्राकृतिक विविधता तथा सुन्दरताका समीश्रणहरू पाइन्छ । खासगरी चलचित्र— श्रव्यदृश्यात्मक प्रस्तुति भएको र यसप्रकारका प्रस्तुतिबाट मानव मस्तिष्कमा छिट्टो प्रभाव पर्ने भएको कारण हामीले चलचित्रको माध्यमबाट विश्व समक्ष हाम्रा साँस्कृतिक र प्राकृतिक सुन्दरताहरू सम्प्रेषण गरि समग्र नेपाललाई चिनाउन सक्छौं । तथापि नेपालमा मौलिक, राष्ट्रिय भावनाले ओतप्रोत, नेपालीपन, नेपाली जनजीवन र नेपाली मन बोकेका चलचित्र विरलै मात्र बनेका छन् । भाषा र प्रविधिको कारणले पनि नेपाली सिनेमाहरूको विश्वव्यापी पहुँच बढाउन नसकिरहेको भएतापनि वर्तमान समयमा नेपाली भाषी तथा नेपालीहरूको बसोबास भएका देशहरूमा सिनेमा प्रदर्शन भने हुने गरेको छ ।
मुलुकको ऐतिहासिक, धार्मिक, सामाजिक, साँस्कृतिक, प्राकृतिक र पुरातात्विक कुराहरूलाई सजिव रूपमा प्रस्तुत गरि प्रदर्शन गरे देशमा पर्यटन वृद्धि गर्ने सबैभन्दा प्रभावशाली माध्यम रहेको श्रव्यदृश्य (चलचित्र) क्षेत्रको विकास र संरक्षणको लागि प्रयास भइरहेको भए पनि अझ ठूलो लगानी र अत्याधुनिक प्रविधिमा निर्माण भएका विदेशी सिनेमाहरू नेपालमा सर्वशुलभ हलहरूमा प्रदर्शन हुने भएको कारण नेपाली सिनेमा ती विदेशी सिनेमाको चपेटामा परेको कुरा सबैलाई थाहा भएकै छ । यसै सन्दर्भमा विदेशी सिनेमाको सर्वशुलभ नेपालभित्र प्रदर्शनको कारण नेपाली सिनेमा र नेपाली सिनेमाको प्रदर्शन प्रक्रिया, हल मालिकहरूको प्रदर्शन नीतिको कारण आदिवासीका सिनेमाहरूले प्रदर्शनको लागि हल नपाउने र राज्यको नीति आदिवासी सिनेमाप्रति सकरात्मक नभएको कारण आदिवासी मौलिक सिनेमाहरूले अवसर नपाएको कुरा पनि जगजाहेर नै छ ।
नेपाल विविध धर्म, संस्कार, संस्कृति रहेको बहुभाषिक देश हो । आफ्नो देशभित्र रहेको साँस्कृतिक पक्ष, परम्परा र देशको गौरवपूर्ण कथाहरूमा मौलिक नेपाली सिनेमा बनाउनु भन्दा हिन्दी सिनेमाहरूको देखासिकी अझै पनि उतैको जस्तो चलचित्रको फोटोकपी जस्तो नेपाली सिनेमा निर्माण गरिरहेका छौं । नेपाली सिनेमा क्षेत्रमा नायक÷नायिका आर्यन समुदायबाट र खलपात्र मंगोल समुदायबाट बनाउने परम्परागत सोचाई वर्तमान समयमा दिनानुदिन परिवर्तन भईरहेको छ । नेपाल भित्रको कथामा नेपाली सिनेमा निर्माण गरिनु पर्दछ भने आदिवासीको सिनेमा भनेर ट्याग लगाउने हो भने सम्बन्धीत जातिको कथा र संस्कृतिमा नै सिनेमा निर्माण हुनु पर्दछ । साथै सम्बन्धीत जातिको कथामा बनेको उत्कृष्ट सिनेमाहरूलाई राज्यले संरक्षण र प्रवद्र्धनको लागि समेत व्यवस्था मिलाईदिनु पर्छ । र, जातीय संघ÷संस्थाको तर्फबाट पनि यसप्रकारको सिनेमाहरूलाई प्रदर्शनको क्रममा सहयोग दिनु पर्दछ ।
सिनेमाः
विगतदेखि वर्तमानसम्मको कुराहरू समेटेर कुनै एतिहासिक, कुनै यथार्थपरक, कुनै शिक्षामुलक त कुनै शुद्ध मनोरञ्जनको लागि निर्माण भएको हुन्छ । यसैले चलचित्रलाई समाजको दर्पण भनिन्छ । चलचित्रले संस्कृति हस्तान्तरण, अन्वेषण, भाषा पुनःउपयोग र जातीय जागरण÷सचेतना ल्याउने कार्य गर्दछ ।
असल सिनेमाः
एउटा कालखण्डको अभिलेख राख्ने माध्यम हो । एउटा कालखण्डमा भाषा, संस्कार र संस्कृति कस्तो थियो भन्ने जानकारी चलचित्रले दिने गर्दछ । यसले व्यवसाय गरेर पनि एउटा खण्डको इतिहास बताउने कार्य गर्दछ । यो बनाउनेहरूको अध्ययन कति छ– त्यसमा भर पर्ने कुरा पनि हो । हामीले चलचित्र व्यवसाय हो भनेर बनाईरहँदा चलचित्रले समाजमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पारिरहने हुँदा चलचित्र बनाउने व्यक्तिहरूले समाजको गहन अध्ययन गर्नुपर्दछ । मैले बनाउने चलचित्रले समाजमा कस्तो प्रभाव पार्दछ भन्ने विश्लेषण चलचित्रकर्मीले पहिलेनै गरिसक्नु पर्छ ।
विकसित मुलुकले श्रव्यदृश्यको माध्यम प्रयोग गरि भु–उपग्रह (सेटेलाईट) प्रयोग गर्दै अर्को देशमा बसोबास गरिरहेका जनता समक्ष आफ्नो देशको भाषा, संस्कृति, संस्कारलाई देखाउने, सिकाउने तथा प्रवद्र्धन गर्ने सजिलो माध्यम बनाई रहेका छन् । यसैले श्रव्यदृश्यको माध्यम विकसित देशको लागि राजनीति पनि हो । यसप्रकारको राजनीतिबाट एउटा देशले अर्को देशलाई भौतिक रूपमा (सिमाना) जितिरहनु पर्दैन । मात्र देशको स्वार्थ अनुरूप सिनेमा निर्माण गरिदिनु पर्दछ । र, त्यसप्रकारको सिनेमाहरूलाई सम्बन्धीत देशले मनोरञ्जन कर छुटको व्यवस्था गरि बिशेष प्राथमिकतामा राखेर सहयोग गरिदिएको पनि हुन्छ । जसको प्रसारण देश/विदेशसम्म हुन्छ । यसप्रकारको सिनेमाले देशको भाषा, संस्कार, संस्कृतिलाई अन्य देशमा समेत प्रचार गर्नु रहन्छ ।
आदिवासी समुदायका आफ्नै खालको कथावाचन शैली छ । आफ्नै खालको साहित्यीक परम्परा छ । गीत छ र गायन, भाका, लय छ । वाद्यवादन छ, साँगीतिक धुनको लय छ । नृत्य र नृत्य गर्ने शैली आफ्नै छ । यिनैलाई समीश्रण गरि निर्माण हुने विज्ञान मिश्रित पछिल्लो कला सिर्जना चलचित्रकला हो । जसले मनोरञ्जन दिने बाहेक, सुसुचित गर्ने, जागरुक बनाउने, शिक्षा प्रदान गर्ने, ऐतिहासिक अभिलेख राख्न सहयोग पु¥याउने आदि कार्य गर्दछ ।
आदिवासी जनजाति सिनेमा : समुदायबोधक नाम, साझा, वंश, परम्पराको मिथक, धर्म इतिहास, मातृभाषा, विशिष्ट संस्कृति, निश्चित भौगोलिक क्षेत्रसित सम्बद्ध, सामुहिक भावना आदि विशेषतायुक्त सिमान्तीकृत जाति वा समुदायलाई आदिवासी जनजाति भनिएको पाइन्छ । संयुक्त राष्ट्र संघको परिभाषा अनुसार— बाहिरका मानिसहरूले अतिक्रमण गर्नु अघि अर्थात उनीहरूको भुभागलाई उपनिवेश बनाउनु भन्दा अघि त्यहाँ विकसित भएको समाजका सदस्यहरू हुन् । आज त्यस क्षेत्रमा भएका तर बाहिरबाट आएका अन्य समुदाय भन्दा जसले आफुलाई अलग देख्दछन् । आजको अवस्थामा यिनीहरू समाजमा प्रभुत्वविहिन सामाजिक समुहको रूपमा बाँचिरहेका छन् । नेपालमा आदिवासी जनजाति महासंघका अनुसार— आदिवासी जनजाति भन्नाले साधारणतः हिन्दू वर्णाश्रम भित्र नपर्ने, आफ्नो परम्परागत भौगोलिक बसोबासको क्षेत्र, धर्म, संस्कृति, इतिहास, मौलिक मातृभाषा, परम्परागत रीतिरिवाज, साँस्कृतिक पहिचान र सामाजिक संरचना भएको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा उल्लेख भएको अनुसुचि बमोजिमको आदिवासी जनजातिलाई बुझाउँछ । आदिवासी जनजाति चलचित्र महासंघले आदिवासी जनजाति महासंघकै परिभाषालाई आत्मसात गर्दै चलचित्रमा आदिवासी जनजातिले उठाएका आवाज, माग र मुद्दाहरू साथै आदिवासी जनजातिको पहिचान दिने गरि निर्मित चलचित्रहरूलाई आदिवासी जनजाति चलचित्र भनि परिभाषित गरेको छ । आदिवासी चलचित्र निर्माण गर्न आदिवासी भएर मात्र हुँदैन, सोंच र चलचित्रको सार पनि आदिवासी हुनुपर्छ ।
चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाति चलचित्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति गठन गरिएको छ । जसको कार्यविधि २०६६ अनुसार आदिवासी जनजाति चलचित्र भन्नाले—
क) जातीय चलचित्रमा कम्तीमा ७० प्रतिशत सम्बन्धीत जातिको भाषा वा आदिवासी जनजाति प्राविधिक तथा कलाकार संलग्न भई निर्माण गरेको चलचित्र जुन चलचित्रको निर्देशक समेत सोही भाषासँग सम्बन्धीत समुदायको व्यक्ति हुनु पर्नेछ ।
ख) जातीय चलचित्रमा कम्तीमा ५०/७० प्रतिशत सम्बन्धीत जातिको भाषा वा आदिवासी जनजाति प्राविधिक तथा कलाकार संलग्न भई निर्माण गरेको चलचित्र ।
आदिवासी समाजभित्र २०४४ सालमा नेपाल भाषाको सिनेमा शिलु, थारु भाषामा करम र लिम्बु जातिबाट तरेवा टेलिचलचित्र/सिनेमा निर्माण गरेर प्रसारण/प्रदर्शन भए पश्चात मगर बाह्र मगरात मगर भाषामा लङ्घन टेलिसिरियल वि.सं. २०५१ सालमा निर्माण भयो । जसको लेखन/निर्देशन युवराज राना मगरले गरेका थिए । यो हिमालयन कल्चर मुभिजको ब्यानरमा डि.बी.पुलामी मगरले लगानी गर्नु भएको थियो । पहिलो मगर सिनेमामा नायक राज थापा काउचा मगर र नायिका तारा (टुगा) थापा मगरको अभिनय रहेको थियो ।
नेपाली समाजमा अनादिकालदेखि मौलिक भाषा, संस्कृति, रितिरिवाज, परम्पराका धनी मगर जातिको लेख्य इतिहास विकसित नभएको अवस्था र अझ कलाको अत्याधुनिक सिनेमा विद्यामा मगर समाज अझ पछाडि रहेको हुँदा खोज–तलास गरि आफ्नो भाषा, संस्कृति, धर्म र रीतिरिवाजको संरक्षण, सम्वद्र्धन एवम् जगेर्ना तथा समयानुकुल परिमार्जन र विकास गर्न उत्कृष्ट मगर साहित्यको रचनाबाट मौलिक मगर सिनेमाहरू निर्माण गरिनु पर्दछ । मगर साहित्यको विकासले नै मौलिक मगर सिनेमाहरू निर्माण हुन्छ । मगर सिनेमा क्षेत्रमा व्यक्तिगत रूपमा संलग्न भई काम गरिरहेको अवस्थामा संगठनको आवश्यकता महसुस गरि मगर सिनेमामा संलग्न सक्रिय व्यक्तिहरूको पहलमा २०६५ सालमा मगर सिनेमा क्षेत्रमा संस्थागत रूपमा एक भएर अगाडि बढ्ने उद्देश्य लिएर मगर चलचित्रकर्मी संघ गठन भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिको ११औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको काठमाडौंमा बसेको दोश्रो पूर्ण बैठकको ११ औं निर्णयमा मगर चलचित्र सम्बन्धी निर्णय पारित भएको परिपत्र गरिएको थियो ।
उक्त निर्णयमा मगर समुदायको भाषा, संस्कार र संस्कृति, भेषभुषा र इतिहासको जगेर्ना गर्ने गरि निर्माण हुने चलचित्रहरूलाई मगर चलचित्र भनिने र मगर चलचित्र निर्माण र वितरण भन्दा अगावै कथाको सेन्सर र छायाँकन पश्चात सेन्सर गर्ने जिम्मा नेपाल मगर संघको प्रतिनिधि र चलचित्रकर्मी संघको प्रतिनिधिलाई दिई वितरण गर्ने उल्लेख छ ।
मगर सिनेमाको बजारः
मगरहरू पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसोबास गरिरहेका छन् । अझ विदेशमा विभिन्न स्थानमा मगरको जातीय संगठन बिस्तार भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको पारित निर्णयको अनुसरण साथ देश र विदेशमा गठन भएका संघ÷संस्था मार्फत निर्माण भएका मगर चलचित्रहरू प्रदर्शन गर्ने पहल मात्र भई दिएमा मगर चलचित्रको बजार राष्ट्रिय स्तरसम्म मात्र होइन अन्तराष्ट्रिय स्तरसम्म पनि छ । नेपाल मगर संघ ६५ जिल्लामा गठन भएको छ । यस्तै गरि नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थी संघ पनि नेपालको विभिन्न जिल्ला र क्याम्पसहरूमा गठन भएको छ । र, मगरको संगठन विस्तार भएको जिल्लाहरूमा सिनेमा प्रदर्शन गर्ने पहल हुने हो भने जताततै सम्भव छ । यसरी प्रदर्शन गर्ने क्रममा खर्च कटाएर ७० प्रतिशत निर्मातालाई र ३० प्रतिशत स्थानीय आयोजकले नाफा राख्ने व्यवस्था रहेको छ । यसो गरेमा निर्माता र स्थानीय आयोजक दुवैलाई बचत हुन्छ । यसप्रकार निर्माताले लगानी उठाउन सम्भवना हुन्छ भने अर्को सिनेमा निर्माण प्रक्रियामा ऊ लाग्न सक्छ । त्यसैगरि स्थानीय आयोजकको बचतबाट सामाजिक कार्य गर्न सम्भव रहन्छ ।
महोत्सव सहयोगार्थ चलचित्र : ट्याङ्चलाक (उज्यालोतिर)
मगर चलचित्रको इतिहासमा मगर भाषा र विषयवस्तुमा निर्माण भएको कथानक चलचित्रले १५ वटा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भई ४ वटा विद्यामा पुरस्कृत भएको यो चलचित्र ट्याङ्चलाक (उज्यालोतिर) मगर साहित्य महोत्सव सहयोगार्थ भैरहवाको काशी सिनेमा हलमा असोज ९ गते र बुटवलको इन सिनेमा हलमा असोज १० गते दिनभर प्रदर्शन हुनेछ । यसबाट संकलित रकमले महोत्सवको लागि आार्थिक जोहो गर्ने छ । यस चलचित्रको कथाका पात्रहरू काल्पनिक भएतापनि ठाउँ, घटना, काल, परिस्थिति यथार्थको निकट छ । आदिमकालदेखि नेपालको विभिन्न थातथलोहरूमा शान्तिसँग बसेका समुदायहरूलाई केही समुहहरूले सुनियोजित तरिकाले विस्थापित गर्न लागिपरेका छन् । यस कथाले त्यस्ता स्थानहरूको आँशिक दृष्टान्त प्रस्तुत गर्न खोजेको छ । यो हाम्रै वरपरको कथा हो । यो बुटवल बजार माथि रहेको बसन्तपुरको कथा पनि हो । यो फुलबारी माथिको विस्थापित मगर बस्तीको कथा पनि हो । मौलिक कथा वस्तुमा निर्माण भएको कारणले नै होला, यो अन्तराष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट हुन सफल भएको ।
साहित्य र सिनेमामा मगरपनः
अहिले सम्म प्रर्दशन आएका मगर सिनेमाहरू साँस्कृतिक रूपमा मात्र सिमित छ । तर नेपालमा मगरको इतिहास वृहत छ । मगरका पूर्खाहरू देशको सिमाना सुरक्षार्थ नेपालको हरेक स्थानमा लडाई लडेका छन् । अंग्रेजसँग लडेका छन् । वीर गोरखाली बनेर पहिलो र दोश्रो विश्व युद्ध लडेका छन् । भारतको तर्फदेखि विभिन्न स्थानमा लडाई लडेका छन् । जंगबहादुरको विरुद्ध आवाज उठाउँदा लखन थापा मगर नेपालको प्रथम शहीद भएका छन् । नेपालको हरेक परिवर्तनहरूमा मगर प्रत्यक्ष संलग्न हुनुको मगरको पसीना, रगत बगेको छ । भाषा बोल्न नदिने कार्यवाहीमा परेका छन् । मगर– धर्म परिवर्तनको मिचाईमा परेका छन् । मगरहरू साँस्कृतिक विचलनमा पनि परेका छन् । मगरलाई– धेरै थिचोमिचोमा पारेको छ– राज्यसत्ताले । यसर्थ मगर सिनेमाहरूमा त्यो थिचोमिचोको कथा आउनु पर्छ । मगर सिनेमामा साँस्कृतिक, धार्मिक, राजनैतिक थिचोमिचोको गन्ध आउनु पर्छ । असल साहित्य लेखन भएमा असल सिनेमा बन्ने भएको कारण अब मगर साहित्यकारहरूले मगरको उत्कृष्ट साहित्य लेखन गर्न पनि ध्यान दिन आवश्यक छ ।
यसै सन्दर्भमा नेपाल मगर महिला संघ, जिल्ला समिति रूपन्देहीको पहलमा ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मुल नारा सहित प्रथम मगर साहित्य महोत्सव आयोजना हुन गईरहेको छ । मगर साहित्य क्षेत्रको लागि मगर महिलाबाट यो आँट गर्नु आफैमा एतिहासिक र गर्व गर्न लायक पहल हो । यो निरन्तर आयोजना हुनुपर्दछ । जसको आयोजनाले मगर साहित्य क्षेत्रमा लगेका व्यक्ति एवम् प्रकाशित कृतिको चर्चा समाजमा आवश्य हुनेछ । यसप्रकारको आयोजना, छलफलको कारण मगर विषयमा प्रकाशित पुस्तकहरूले बजार बिस्तार र विक्रीमा सहयोग मिल्ने छ । मगरको जनसंख्या र संघ/संस्थाहरूबाट साहित्य र चलचित्र क्षेत्रलाई यसप्रकारको सहयोग प्राप्त भए बजारीकरण गर्न सजिलो हुनेछ । पुस्तक विक्री हुने वातावरणले मगर सम्बन्धी कलम चलाउने व्यक्तिहरूले अझ नयाँ नयाँ विषयहरूमा खोज गर्दै पुस्तकहरू प्रकाशित गर्न सम्भव हुनेछन् ।
प्रथम मगर साहित्य महोत्सवमा मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संरक्षणमा टेवा पुग्ने गरि नयाँ पुस्तकहरू विमोचन एवम् कविता प्रतियोगिता गरेर पुरस्कृत गरिने छ । मगर आदिकवि द्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर सारु मगर साहित्य पुरस्कार एवम् गोरेबहादुर खपाङी मगर सामाजिक पुरस्कारले सम्मान गरिने छ । महोत्सवमा मगर विषयवस्तुमा रहेर विभिन्न प्यानल डिसकसन गरिने छ । महोत्सवमा भएका क्रियाकलापहरूलाई अभिलेखन गरि पुस्तकको रूपमा प्रकाशित गरिने छ । जसको मद्दतले भविष्यमा पनि यस प्रकारको आयोजना गर्न अझ सहज हुने छ । मगर साहित्य महोत्सवको सफलताको कामना सहित निरन्तरताको शुभकामना ।
(लेखक : ट्याङचलाक चलचित्रको लेखक/निर्देशक समेत हुन् ।)