© २०२३
काठमाडौं, ३ कार्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
मतदाताहरुलाई फ्रि भिसा फ्रि टिकटको झुटो आश्वासन दिएपछि एकीकृत समाजवादीबाट रौतहट–१ का उम्मेदवार समेत रहेका नेपाल विरुद्ध उजुरी परेको थियो । आयोगले नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।
नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए । निर्वाचनका बेला यस्तो आश्वासन दिनु आचार संहिताको ठाडो उल्लंघन र मतदाता प्रभावित गर्ने दाउ भएको निर्वाचन आयोगका पदाधिकारीहरु बताउंछन् ।