© २०२३
सुर्खेत, ५ साउन ।
जलवायु परिवर्तनको जोखिममा सबैभन्दा बढी जोखिममा रहेको भन्दै विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाहरुले औल्याएका छन् । जलवायु परिवर्तनको असर बढ्दै गएको र त्यसको प्रत्यक्ष रुपमा महिला, बालवालिका, अपांगता भएका व्यक्ति लगायतका सिमान्तकृत वर्गहरु नै प्रभावित भएको उनीहरुले बताएका छन् ।
युएसएआइडीको आर्थिक सहयोग तथा अन्तरनिर्भर समाजको सहकार्यमा सञ्चालित जल, जंगल परियोजना अन्तर्गत शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जैविक विविधता र वातावरणीय विषयमा सरोकारवालाबीच भएको बैठकका सहभागीहरुले यस्तो औल्याएका हुन् ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रध्यापक कल्पना पौडेलले जलवायु परिवर्तनले महिला तथा वालवालिका बढी समस्यामा रहेको बताइन् । यसको लागि विशेष कार्यक्रमको आवश्यकता पर्ने भन्दै उनले सिमान्तकृत समुदायलाई नीति निर्माणमा सहभागिता गराउनुपर्ने बताइन् ।
अधिकारकर्मी तेज सोनामले जलवायु परिवर्तनको चपेटामा सिमान्तकृत समूदाय रहेको भन्दै उनीहरुको हरेक निकायमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने बताए । ‘सिमान्तकृत समूदायलाई अहिलेसम्म नाम मात्रकै सहभागिता गराउदै आएको पाइन्छ’ उनले भने ‘यसको लागि सबै निकायलाई सचेत गराउनुपर्दछ ।’
आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले प्राकृतिक स्रोतको संरक्षमा महिलाको भुमिका महत्वपूर्ण भूमिका रहेको औल्याइन् । उनले सामुदायिक वन तथा अन्य निकायमा महिलाको नेतृत्व प्रभावकारी देखिएको बताइन् । उनले कतिपय समिति तथा समूहमा सिमान्तकृत समूदायलाई नाम मात्रको सहभागिता गराएको भन्दै अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिइन् ।
अपांगता सशक्तिकरण केन्द्रका विष्णु शर्माले अपांगता भएका व्यक्तिहरुलाई हरेक निकायमा समावेशीकरणबाट वञ्चित गराउँदै आएको जनाए । समावेशीकरण भनिएता पनि नीति निर्माण लगायत हरेक क्षेत्रमा अपांगता भएका व्यक्तिहरु सहभागिता हुन नपाएको बताए ।
जलजंगल परियोजनाका विनोद शाहीले परियोजनाले जलाधार क्षेत्रका सिमान्तकृत समूदायमा आधारित भएर कार्यक्रम सञ्चालन गर्दै आएको जनाए । मानवनिर्मित क्रियाकलापले जलवायु परिवर्तनको जोखिम निम्तिएको भन्दै उनले प्राकृतिक स्रोतको संरक्षणमा जोड दिनुपर्ने बताए । यसमा सिमान्तकृत समूदायलाई जोड दिएर कार्यक्रम सञ्चालन गरिएको बताए ।