© २०२३
भैरहवा, असोज गृहमन्त्री बालकृष्ण खाँणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइने बताएका छन् । उनले विमानस्थलमा नयाँ रोजगारी खुल्दा र अन्य अवसरमाहरु समेत स्थानीयले प्राथमिकता पाउने भन्दै त्यसतर्फ आफूले पहल गर्ने जनाएका छन् ।्
रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणले शनिबार भैरहवामा आयोजित गठबन्धनको कार्यक्रममा बोल्दै स्थानीले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र विमानस्थल निर्माण सम्पन्न भएकाले नयाँ रोजगारी खुल्दा स्थानीयलाई योग्यता अनुसारको रोजगारीमा प्राथमिकता पाउने बताए ।
‘स्थानीयले जमिन नदिएको भए विमानस्थल बनाउन कठिन हुन्थ्यो, त्यसैले विमानस्थल निमार्णका लागी पुस्तौदेखि बस्दै आएको जग्गा दिएर योगदान पुर्याएकाहरुले नै हरेक अवसरमा पहिलो प्राथमिकता पाउनुुपर्छ,’, उनले भने, ‘स्थानीयले मुआब्जा लिएर भए पनि विमानस्थल बनाउन गरेको सहयोग सरकार र कसैले पनि विर्सिनु हुँदैन ।’। ‘मैले सुरुदेखि नै भन्दै आएको कुरा यही हो, यहाँका स्थानीय हरेक कुराहरुमा प्राथमिकतामा पर्नुपर्छ, उनीहरुले विमानस्थललाई अपनत्व ग्रहण गर्नुपर्छ र आत्मनिर्भर पनि बन्नुपर्छ’, उनले भने ।
गृहमन्त्री खाँणले विमानस्थल निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यता अनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध पनि रहेको र यसबारे आफूले गौतमबुद्ध विमानस्थलका प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा पनि गरिरहेको उल्लेख गरे ।
अर्को प्रशंगमा मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नु पर्ने गृहमन्त्री खाँणले बताए । उनले सरकारले हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिने जनाउँदै ढुक्क भएर मुलुकको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार पाण्डेयले वर्तमान गठबन्धन पवित्र भएकाले यसले संविधान, लोकतन्त्र, संघीयताको रक्षा गर्दै मुलुकको समग्रमा विकासमा लाग्ने बताए । उनले गौतमबुद्ध विमानस्थलमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन पहल गर्ने जनाए ।