© २०२३
बुटवल, २ असार । जथाभावी छरिएर चलेका ग्रील उद्योगका कारण बजार क्षेत्रमा चर्को ध्वनी प्रदुषणले नगरवासी हैरान छन् । फलाम काट्दा आउने चर्को आवाजले विद्यार्थीहरुको पढाईमा समेत असर गरिरहेको छ । उद्योगबाट निस्कने फलामका कणले वातावरण प्रदुषण समेत भइरहेको र नगरवासीको स्वास्थ्यमा समेत असर गरिरहेको छ । तर यसको दोषी ग्रील उद्योगी मात्र हैनन् । स्थानीय तहका सरकारले यस्ता उद्योग सञ्चालनका लागि वस्ती छुट्टै ठाउं दिएको भए ग्रीलजोन स्थापना हुन सक्थ्यो । अनि घना वस्ती भएको बजार क्षेत्रमा ग्रील उद्योगको ध्वनी र वातावरण प्रदुषणको समस्या हुंदैन थियो ।
ग्रील तथा स्टील ब्यवसायी संघ रुपन्देहीले २०६६ सालदेखि नै ग्रील जानेको माग गर्दै आएको थियो । तत्कालीन जिल्ला अध्यक्ष अशोक वर्माको पालादेखि उठेको ग्रील जोनको माग उनी केन्द्रीय उपाध्यक्ष र लुम्बिनी प्रदेश अध्यक्ष हुंदासम्म व्यक्तिगत र संस्थागतरुपमा डेढ दशकसम्म निरन्तर उठाइ रहे ।
अन्तत: रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा ग्रील जोन स्थापना आवश्यक ठानेर आर्थिक वर्ष २०८१।८२ को संघीय सरकारको वजेटमा एक करोड रुपैयां वजेट विनियोजन गराृउन भूमिका खेले ।
वजेटमा औद्योगिक पुर्वाधार विकास कार्यक्रम अन्तर्गत बुटवलमा ग्रीलजोन स्थापनाका लागि एक करोड रुपैयां विनयोजन भएको छ । वजेट वक्तव्यमै ग्रीलजोनको माग सही सावित पुष्टी भएको ग्रील तथा स्टिल व्यवसायी महासंघका प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष अशोक वर्माले बताए ।
‘हामीले २०६६ सालदेखि ग्रीलजोनको माग गर्दै आएका हौं, ढेड दशकपछि यस क्षेत्रका संघीय सांसद विष्णु पौडेलले यसका लागि भूमिका खेलेर एक करोड वजेट पनि विनियोजन भयो यसले समग्र रुपन्देहीका ग्र्रील व्यवसायी खुशी र उत्साहित भएका छन्’–वर्माले भने–‘अब जथाभावी छरिएर चलेका ग्रील उद्योगहरुलाई एकै थलोमा ल्याएर चलाउन सबै स्थानीय तहहरुलाई सन्देश गएको छ, ठूलो वजेट नै विनियोजन भएकाले अब बुटवल उपमहानगरले त जग्गाको व्यवस्था गरिदिनुपर्ने हुन्छ, अन्यथा वजेट फिर्ता हुन्छ ।’
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बुद्धि गुरुङले ग्रील जोन स्थापना हुन सके उपमहानगरको सुन्दरता बढ्ने, वस्तीमा हुंदै आएको ध्वनी र वातावरण प्रदुषण कम हुने मात्र नभई व्यवसाय समेत मर्यादित हुने बताए ।
यसअघि बुटवल मैनाबगरमा नगरभरि छरिएका ग्यारेजहरुलाई ल्याएर अटो भिलेज स्थापना गरिएको थियो । अटो भिलेज अहिले देशकै नमूनाका रुपमा चिनिन्छ ।
भोलिका दिनमा ग्रील जोन पनि स्थापना हुन सके यसले बुटवल उपमहानगरकै नाम र उचाई बढ्ने जिल्ला अध्यक्ष गुरुङ बताउंछन् । बुटवलमा करिब डेढ सय ग्रील उद्योग छन् । स्थानीय सरकारले जग्गा उपलब्ध गराएर स्थापना हुने ग्रील जोनबाट कारोबार गर्दा व्यवसायीहरु राज्य र उपभोक्तामाथि थप जिम्मेवार बन्ने र उपभोक्ताहरु मूल्यमा ठगिनबाट जोगिन,अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुने र व्यवसाय मर्यादित हुने गुरुङले बताए ।