© २०२३
बुटवल, २८ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का पुष्प व्यवसायी इश्वरी भण्डारी एक महिनायता तनावमा छन् । ८ कट्ठा जग्गामा बेमौसमी फूल खेती लगाएका उनी चितुवाका कारण तनावमा परेका हुन् ।
भण्डारीले फूलखेती गरेको जग्गामा एक महिनायता ८ पटक चितुवा आइसकेको छ । चितुवाले खेतबारीमा पसेर बाली नष्ट गर्न थालेपछि आफू निकै चिन्तित भएको भण्डारीले बताए । “फूलखेतीका लागि बनाएको मल्चिङमा कुल्चंदै चितुवाले बिरुवा खोस्रेर उखेल्लुका साथै पानीको पाइपमा समेत नोक्सानी पु¥याएको छ”–भण्डारीले भने ।
८ कट्ठा जग्गामा लगाएको फूलखेतीमा चितुवा पस्न थालेपछि आफूलाई रातिको समयमा जान समेत डर लाग्ने गरेको उनले बताए । “फूल लाग्न थालेपछि रातको समयमा पनि जानुपर्ने हुन्छ, चितुवा आउन थालेपछि जानको लागि डर भयो, मानिसलाई नै असुरक्षा भयो”–उनले भने ।
रातको समयमा खेत खोस्रने र बालीलाई नोक्सान पु¥याउन थालेपछि चितुवाले नै हो भन्ने उनलाई लागेको थिएन । यसबारे पत्ता लगाउन भण्डारीले शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेलाई सोधे । पाण्डेले जनावरको पाइलाको तस्विर खिचेर जाउलाखेल चिडियाखानाका अधिकारीलाई पठाए । त्यहाँबाट वन्यजन्तुविज्ञहरुले पाल्यला हेरेपछि चितुवा हो भन्ने प्रमाणित गरेको र आफूलाई जानकारी गराएको भण्डारीले बताए ।
ग्रिन जोन एग्रो फार्मको नामबाट व्यवसाय सुरु गरेका भण्डारी भारतको कलकत्तामा १२ वर्ष बिताएपछि स्वदेश फर्किएर पुष्पखेतीमा लागेका स्थानीय हुन् । पुष्पखेती सुरु गर्नुभन्दा अगाडि उनले अन्य व्यवसायमा समेत हात नहालेका होइनन् । उनले मसलाको बजार प्रतिनिधि भएर काम गरेको अनुभव बटुल्दै किराना पसल खोले । तर कोभिड महामारीसँगै भएको लकडाउनले उनको सोंच बदलिदियो । अनि थाले कृषि कर्म । गत तिहारमा उनले ठूलो मात्रामा फूल उत्पादन र बिक्री गरेर सबैको प्रशंसा बटुलेका थिए । “बेमौसममा पनि फूल खेती गरेर बजारको आवश्यकता पूरा गर्ने योजना थियो, तर चितुवाले दिनहुँ तनाव दिएको छ, यसको नियन्त्रणका लागि वन कार्यालयले पहल गरिदिए हुन्थ्यो”–उनले भने ।
भण्डारीले फूलसँगै नर्सरी उत्पादन पनि गरेका छन् । गतवर्षसम्म १४ कट्ठा जग्गामा फूलखेती र नर्सरी गरेका उनले माग धान्न नसकेपछि यसवर्षको तिहारमा ४६ कट्ठामा फूल र नर्सरी उत्पादन गरेका थिए । जुन रुपन्देहीमै सबैभन्दा धेरै हो ।
फोटो/भिडियोः हरिलाल बस्याल