© २०२३
बुटवल, ८ माघ । लुम्बिनी प्रदेशमा उपचारमै रहेका कुपोषित बालबालिका हराउने गरेको पाइएको छ । कुपोषित बालबालिका पत्ता लागे पनि उपचारको क्रममा नियमित उपचारमा नआई विचमै छाड्ने गरेको पाइएको हो । प्रदेशमा गत आर्थिक बर्षमा १ हजार ९ सय ९२ जना बालबालिका सिघ्रकुपोषित बालबालिकाको रूपमा पत्ता लागेको भएपनि त्यसबाट १ सय ९९ जना बालबालिका विचमा नै उपचार गराउन छाडेको पाइएको हो ।
प्रदेशमा रुकुम पूर्वमा ५ जना, रोल्पामा ४३, प्यूठानमा ३५, गुल्मीमा ३४, अर्घाखाँचीमा ५ जना र पाल्पामा २० जना बालबालिका पत्ता लागेको थियो । यस्तै प्रदेशको नवलपरासीमा १९९ जना, रूपन्देहीमा ३९५ जना, दाङमा २३२ जना, बाँकेमा सबैभन्दा बढि ४२५ जना र बर्दीयामा २ सय ८६ जना बालबालिका भेटिएका थिए । त्यो मध्ये ७ जना बालबालिकाको मृत्यु भएको छ भने प्यूठानमा ३७, रोल्पामा ३५, नवलपरासीमा २४, अर्घाखाँचीमा २० जना बालबालिका उपचार गराउँदा गराउँदै हराएका हुन् ।
यस्तै कपिलवस्तुमा, दाङ र गुल्मीमा १५/१५ जना, बर्दियामा १२ जना, पाल्पा र रूपन्देहीमा १०/१० जना र बाँकेमा ६ जना बालबालिका हराएका हुन । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो । पोषण कम भएकै कारण प्रदेशका ७ जना बच्चाको मृत्यु समेत भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक वर्षको अवधिमा कुपोषणबाट ग्रस्त भएका १ हजार ९९२ जनाको उपचार भएको छ । यो तथ्यांक ५ वर्ष भन्दा कम उमेर समूहका बच्चाहरूको रहेको जनाइएको छ । जसमा उपचारकै क्रममा ७ जनाको मृत्यु भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले कुपोषणका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको पुष्टि गरे । यो त स्वास्थ्य संस्थामा आउने बालबालिकाहरूको तथ्यांक हो । यो बाहेक अन्य स्वास्थ्य संस्थामा नआएर घरमा नै मृत्यु हुने बालबालिकाहरूको तथ्यांक प्रदेश सरकार संग छैन ।
लुम्बिनी प्रदेशमा प्रदेशका विभिन्न निकाय, सङ्घीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषण सुधारका लागि काम गर्दै आएका छन् । प्रदेशका ३ स्थानमा त बालबालिकाको पोषण सुधारको लागि भन्दै पोषण पुनस्र्थापना गृह समेत बनाइएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जमा पोषण गृह समेत सञ्चालित छन् । तर प्रदेशको पोषण अवस्थाले भने प्रदेश सरकारलाई नै गिज्याएको छ ।
पोषण अति कम भएका बच्चाहरूलाई ती पोषण सुधार पुनः स्थापना गृहमा राख्ने गरिएको छ । अति पोषण कम भएकाहरूलाई स्वास्थ्यकर्मीको सिफारिसको आधारमा पुनः स्थापना गृहमा १ महिनासम्म राखेर सुधार ल्याउने काम गरिन्छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पोषण सुधार गृहकी निर्देशक प्रतीक्षा थापाले लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ९ जना बच्चाहरू राखेर पोषण पुनः स्थापना गराइरहेको जानकारी दिइन ।
प्रदेश सरकारले गरेको स्मार्ट सर्वेक्षणमा प्रदेशका दुई वटा जिल्ला छानेको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार रुकुम पूर्व हिमाली जिल्ला र तराईको कपिलवस्तु जिल्लाको बीचमा तुलनात्मक रूपमा तथ्यांक समेत सार्वजनिक गरिएको छ । जसमा पुड्कोपना भएका बालबालिकाहरूको संख्या कपिलवस्तु जिल्लामा ४६.१ प्रतिशत पाइएको छ भने रुकुम पूर्वमा जम्मा ३७.९ प्रतिशत रहेको छ । यस्तै ख्याउटेपना कपिलवस्तुमा बढि देखिएको छा । १०.३ प्रतिशत रहेकोमा पुर्वीरुकुममा ४.८ प्रतिशत मात्रै रहेको छ ।
यस्तै कम तौल भएका बालबालिकाहरूको संख्यामा कपिलवस्तुमा बढि पाइएको छ । जसमा ३५.२ प्रतिशत रहेकोमा पुर्वीरुकुममा १८.१ प्रतिशत रहेको छ । प्रदेशको एक मात्रै हिमाली जिल्लाको रूपमा रहेको पुर्वी रुकुममा अन्य स्थानको भन्दा कम पौष्टीकपना भएको आंकलन गरिएको भएपनि कपिलवस्तु जिल्ला तराईंको सुगम जिल्ला भएपनि बालबालिकामा पौष्टीक तत्वमा कम भएको पाइएको हो ।
प्रदेशको रोल्पा, प्यूठान, नवलपरासी, कपिलवस्तु, बर्दिया जिल्लामा एक/एक जना बालबालिकाको मृत्यु गत आर्थिक बर्षमा भएको थियो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जन्मेदेखि ५ वर्षसम्मका तौल कम भएका बच्चाहरूलाई यहाँ राख्ने गरिएको उनको भनाइ छ । जसअनुसार उनीहरूलाई निःशुल्क रूपमा खाने बस्ने व्यवस्था गरिएको हुन्छ । यस्तै बालबालिका, किशोरी र प्रजनन् उमेरका महिलाहरूमा रक्तअल्पता अधिक भएको खण्डमा आइरन चक्की वितरण एवं अन्य सेवा समेत दिने गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले बताए ।
पोषण फोकल पर्सन तथा निर्देशनालयको पोषण सुरक्षा महाशाखा प्रमुख कौशल भण्डारीका अनुसार ५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुड्कोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौति रहेको छ ।
बालबालिका, किशोरी र प्रजनन् उमेरका महिलाहरूमा रक्तअल्पता अधिक हुन, स्तनपान संरक्षण, संवर्धन र प्रवर्द्धनमा कमी हँुदै गएको कारण समस्या रहेको उनको भनाइ छ । उनी भन्छन्–‘जिल्लास्तरको अस्पतालमा केयर युनिटले निरन्तरता तथा सञ्चालनमा चुनौति रहेको छ ।’
५ वर्ष मुनिका बालबालिकामा पोषण लेखाजोखा तथा व्यवस्थापनमा कमी भएको कारण पनि यसरी हराउने बालबालिका संख्या रहेको उनको भनाइ छ ।