© २०२३
बुटवल, २६ पुस । देशकै ठूलो वडाको रूपमा रहेको छ बुटवल उपमहानगरपालिका वडा नम्बर ११ । दुई दशकमा यो वडामा हजारौं नयाँ घरहरू निर्माण भएका छन । तिलोत्तमा नदी किनारमा रहेको बुटवल वडा नं ११ को अब्यवस्थित बसोबासीको बस्तीमा मजदुरी गर्नेहरूको बाहुल्यता रहेको छ । दैनिक ज्यालादारी गरेर जिविका चलाउनेहरूको बढी रहेको बस्तीमा बि.सं. २०५४ सालमा प्रगति विद्यालय स्थापना भएको हो । ज्यालादारी गर्ने गरिब, निमुखाहरूका छोराछोरीलाई शिक्षाको ज्योती दिने उद्देश्यका स्थापना भएको यो विद्यालय अहिले २५ वर्ष पुरा गरेको छ ।
शैक्षिक र भौतिक विकास गर्दै २५ वर्ष पार गरेर प्रगति अहिलेको युवा अवस्थामा आईपुगेको छ । विद्यालयमा ४ जना प्राबि राहतका शिक्षक, निमाबिमा शिक्षक सिकाई केन्द्रबाट १ जना, माबि नगर अनुदान ३ जना, निजी श्रोतबाट ४ जना शिक्षकहरू छन । सावर्जनिक जग्गामा स्थानीय शिक्षाप्रेमी, अभिभावकहरूका अगुवाईमा संघीय सरकारको सहयोगमा पूर्वाधार निर्माण भएर वर्तमान अवस्थामा आइपुगेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जित बहादुर मल्ल बताउँछन । श्रमिक, गरिब, जनजातीहरूका छोराछोरीहरूलाई शिक्षा दिँदै आएको विद्यालय नगर सरकारको पहुँचमा पुग्न नसकेको उनको दुखेसो गरे । ‘स्थानीय सरकारसँग धेरै हार गुहार गरेपनि सहयोग पाउन सकेनौं,’— उनले भने । सामुदायिक विद्यालयमा सरकारको दृष्टिकोण सकारात्मक नभएको उनी बताउँछन । ‘सामुदायिक विद्यालय संचालन गर्न केवल १० प्रतिशत सरकारी बजेट पर्याप्त हँुदैन,’ उनले भने ।
विद्यालयको पुरानो भवन बि.सं. २०७२ सालमा भूकम्पबाट प्रभावित भएको हुँदा यसलाई पुर्ननिर्माण गर्न धेरै पहल गरे पनि सहयोग पाउन नसकेको उनले दुःख बताए । ‘बालबालिकाहरू भूकम्प प्रभावित भवनमा पढ्न बाध्य छन,’ उनले भने । विद्यालयको शैक्षिक विकासको उद्देश्यका साथ बि.सं. २०७५ साल बैशाख २२ बाट २९ गतेसम्म विद्यालयले महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट कुल १ करोड ९७ लाख रूपैया उठेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मल्ल बताउँछन । महायज्ञबाट विद्यालयको स्तरोन्नती गरि माबि चलाउने सफल भएको उनले बताए ।
महायज्ञ संचालन खर्च कटाएर बचेको ४६ लाख रूपैयाँ फिक्स डिपोजित रकमबाट निजि श्रोतका शिक्षकलाई तलब खुवाउँदै आएको उनले बताए । विद्यालयमा माबि पढाइ शुरु गरेपनि सरकारबाट विषयगत शिक्षक उपलब्ध नगराउँदा कठिनाई भोग्नुपरेको विद्यालयकी प्रअ शिव कुमारी अर्यालले बताईन । ३ वर्ष एसईईमा सहभागी हुदा नीजि विद्यालयबाट शिक्षक सहयोग मागेर विद्यार्थीहरूलाई पठनपाठन गराएको उनी बताउँछन । ‘बि.सं. २०७७, २०७८, २०७९ सालमा एसईई परीक्षामा सहभागी हँदा विषयगत शिक्षक नहुँदा कठिनाई भोगेका थियौं,’— उनले भनिन ।
विद्यालयमा समाजसेवी गोपाल रानाबाट स्थापना भएको ६ लाख ५५ हजार रूपैयाँ, बालकुमारी भण्डारीको १ लाख ११ हजार, साबित्रा टण्डनको ५१ हजार रूपैयाँ, बासु खनालको ५१ हजार १ सय ११, अर्जुन रसाईलीको ५० हजार रूपैयाँ, दोण प्रसाद रमाईलीको ५० हजार रूपैयाका अक्षयकोषहरू छन ।
अझै पनि विद्यालयको पुर्वाधार अभाव झेलिरहेको छ । भुकम्पले प्रभावित भवन बनाउनुपर्ने अवस्थामा छन । ससाना बालबालिका यही भवनमा जोखिम मोलेरै अध्ययन गरिरहेका छन । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थीहरू अध्ययरत छन ।
पाँच वर्षसम्म उठेन महायज्ञकै दान
विद्यालयको स्तरोन्नतीको लागि पाच वर्ष अघि महायज्ञ गरियो । महायज्ञमा धेरै दाताहरूलाई अबिरजात्रा गरि टोल परिक्रमा गर्ने र दानको रकमबारे प्रचार गरियो । तर अहिलेसम्म तत्कालिन समयमा घोषणा भएको करीब ५७ लाख रूपैया रकम उठ्न बाकि रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मल्लको दुखेसो छ । महायज्ञबाट १ करोड ९७ लाख रूपैया उठेको भएपनि खर्च कटाउँदा ४६ लाख रूपैयाँमात्र बचत भएको उनले बताए । यही रकमको ब्याजबाट ३ जना शिक्षकलाई तलब खुवाउँदै आएको उनले बताए । विद्यालयबाट महायज्ञ संचालन गरि माबि संचालन गरिएको छ ।