© २०२३
जिल्लास्थित स्थानीय तहहरू शिक्षा क्षेत्रमा शैक्षिक सुधारका लागि फरक–फरक अभ्यास गर्दै आएका छन् । शिक्षा क्षेत्रको मूलभूत कुरालाई यथावत राख्दै स्थानीय स्तरबाट फरक–फरक अभ्यासको थालनी गरिएको देखिन थालिएको हो ।
नेपाल सरकारले नै अहिले केही ससर्त र केही अनुदान मार्फत शिक्षा क्षेत्रको विकासका लागि प्रोत्साहित गर्दै आएको कुरालाई अंगिकार गर्दै स्थानीय सरकारको रूपमा रहेको स्थानीयहरू मूलभूत कुरामा एकता राख्दै केही विविधता ल्याउन पाउनु नै संघीयताको एउटा स्वरूप पनि भएको शिक्षा क्षेत्रका जानकारहरूले यसलाई सकारात्मक रूपमा लिईनुपर्ने बताउँदै आएका छन् । संवैधानिक रूपमा नै माध्यमिक तहको शिक्षा स्थानीय सरकारको रूपमा रहेको स्थानीय तहको जिम्मेवारीमा आएपछि केही स्थानीय तहले शैक्षिक सुधारका कार्यक्रम गर्दै आएका छन् । नगरपालिका र गाउँपालिकामा रहेका शिक्षा शाखाहरू शैक्षिक सुधारका कार्यक्रमलाई प्राथमिकताका साथ काम गर्ने तदारुकता देखाउन थालेका शिक्षा क्षेत्रमा लामो समय बिताएका डा.कौशलेन्द्र बहादुर श्रीवास्तव बताउँछन् ।
संघीयताको मुल मर्मलाई स्थानीय तहले अंगिकार गर्दै काम गर्नु सकारात्मक ढंगले लिनुपर्छ, उनी भन्छन्, यसले नयाँ नयाँ फरक अभ्यासले बालबालिकामा नयाँ ज्ञान, सिप र अनुभुति पनि गराउँछ । स्थानीय पाठ्क्रम बनाई स्थानीयस्तरकै विषय बस्तु समेटेर पाठ्यपुस्तक मार्फत स्थानीय ज्ञानको अनुभूतिले पनि केन्द्रियतासँगै स्थानीयतामा वृद्धि ल्याउने उनी विश्वास ब्यत गर्दै भन्छन्, आधुनिक संसारमा अहिले ग्लोबलाईजेसन (विश्वब्यापीकरण) ले एउटा मान्यता स्थापित गरेको छ, तर अहिलेको स्थानीय तहरूले गर्ने गरेको शिक्षा क्षेत्रको नयाँ–नयाँ अभ्यासले लोकलाईजेसन (स्थानीयता) पनि स्थापित गर्दै आएको छ । यिनै ग्लोबलाइजेसन र लोकलाईजेसन दुबैको अनुभूतिले अहिलेका बालबालिकामा थप नयाँ ज्ञान र सिपका लागि ग्लोबलाईजेसन तर्फ उन्मुख गराउँछ । यसले गर्दा थिंक ग्लोबली (विश्वब्यापी सोंच) डु लोकली (स्थानीयस्तरमै काम गर्नु) को नयाँ अवधारणा विकसित गर्नमा पनि बल पुयाएको उनको भनाइ थियो ।
शैक्षिक सुधारका लागि नेपालका तिनै तहका सरकार लागि परेको भएपनि माध्यमिक तहको शिक्षा ब्यवस्थापन गर्ने कार्यमा नवलपरासी जिल्लाका विभिन्न स्थानीय तहले विभिन्न कार्यक्रम अगाडि सारेर शैक्षिक सुधारका विभिन्न आयाम मध्ये भौतिक पूर्वाधारका लागि पहिलो प्राथमिकतामै राखेर काम गर्दै आएको जानकारी गराएका छन् । केही विद्यालयले शैक्षिक गुणस्तर सुधार, भर्ना अभिायान, विद्यार्थीले कक्षा छाड्ने कार्य रोक्ने खालका कार्यक्रम गर्न थालेका छन् । दुई बर्ष पहिला जिल्लामा पहिलो पटक बर्दघाट नगरपालिकाले विद्यालयमा बालबालिकाको आकर्षण बढाउने उद्देश्यले आमा अभिभावक शिक्षा कार्यक्रम समेत चलाएको थियो । त्यसले गर्दा विद्यालयमा पढ्न जाने बालबालिकालाई आमाले घरबाटै तयार गरेर पठाउनु पर्ने, उचित प्रबन्ध मिलाउने कार्य प्रायःआमाहरूबाटै हुने हँुदा जिल्लामा पहिलोपटक आमा अभिभावक शिक्षा सञ्चालन गरिएको नगरपालिकाका पूर्व मेयर धिरज शर्मा बस्यालले जानकारी गराएका थिए । उनका अनुसार सो कार्यक्रम धेरै प्रभावकारी देखिएको थियो । ‘दुई बर्ष निरन्तर त्यसका लागि बजेट विनियोजन गरिँदै आएको भएपनि कोभिड महामारीका कारण सञ्चालन गर्न सकिएन्,’ उनी भन्छन्–‘एक बर्ष मात्र सो कार्यक्रम सञ्चालन गर्न सकिएको थियो ।’ नगरपालिकाका १७ वटा विद्यालयमा ५ सय भन्दा बढि आमा अभिभावकलाई विद्यालयमा भेला गराई आमा अभिभावक शिक्षा चलाइएको थियो । सो कार्यक्रमलाई अहिलेको जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्ने उनको भनाइ अहिले पनि छ ।
आमा अभिभावक शिक्षा प्रभावकारी देखिँदा अहिले जिल्लाका तिन वटा पालिकाले समेत आफ्ना बजेट कार्यक्रममा सम्बोधन गरेका छन् । रामग्राम नगरपालिका, सरावल गाउँपालिका र सुस्ता गाउँपालिकाले पनि आमा अभिभावक शिक्षा मोडेलको रूपमा सञ्चालन गरि विद्यालयको शैक्षिक सुधारको टुल्स प्रयोगमा ल्याउन खोजेका छन् । आमा अभिभावक शिक्षा प्रभावकारी हुन्छ भनि चालु आर्थिक बर्षमा बजेट विनियोजन गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन् । शिक्षामा जनशतिm आपूर्तिलाई सहजता र शैक्षिक बेरोजगारीलाई केही राहत हुने गरि बेरोजगार शैक्षिक युवालाई शैक्षिक स्वयंसेवी शिक्षकमा प्रयोग गर्दै आएका छन् । अभिभावक शिक्षा सञ्चालन गर्दै आएका अनुभवी संंघसंस्था मार्फत सो कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।
त्यसको प्रभावकारिता हेर्दै निरन्तरता दिँदै जाने हो । शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी, ब्यवस्थापन समिति र सरकार मात्रै लागेर गुणस्तरिय शिक्षा दिन गाह्रो छ । त्यसका लागि अभिभावक स्वयं जागरुक हुनुपर्छ । त्यसमा पनि बालबालिकाहरूले धेरै समय बिताउने आमा अभिभावक अझ धेरै जागरुक र जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । आमा अभिभावक शिक्षालाई यो बर्ष सरावल गाउँपालिकाले समेत अंगिकार गरि थोरै भएपनि बजेट कायक्रम मार्फत समेट्ने प्रयास गरेको छ । परिक्षणको रूपमा स्थानीयस्तरबाट यो शुभारम्भ गर्न खोजिएको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी बताउँछन् ।
‘यो भन्दा पहिला पनि शैक्षिक सुधारका लागि शिक्षा क्षेत्रमा सूचना प्रविधि, प्रधानाध्यापकहरूलाई सूचना प्रविधिसम्बन्धी तालिम चलाइयो,’ उनी भन्छन्–‘यसको प्रभावकारिता त देखिन थालेको छ ।’ अभिभावकलाई बालबालिका प्रति गम्भिर बनुन् भनेर नै विगत बर्षमा गाउँपालिकाले विद्यार्थीको बैंक खाता खोलेर खाजा, पाठ्यपुस्तकको रकम खातामा पठाउने निर्णय गरेको थियो । तर अहिले सो रकम ससर्त अनुदानको रूपमा रहेको हुँदा प्रत्यक्ष खातामा पठाउन नसक्ने अवस्था आएपछि चालु आर्थिक बर्षदेखि रोकिएको जानकारी गराए । जबकि यो एउटा स्थानीय तहबाट प्रभावकारी कार्यक्रम नै अभ्यास भइरहेको थियो । साथै सबै विद्यालयमा अंग्रेजी माध्यमको शिक्षालाई पनि प्रभावकारी रूपमा बढाउने पालिकाको निर्णय थियो । धेरै विद्यालयले यसको अभ्यास गर्न थालेका छन् । तर यो कार्यक्रममा चुनौती स्थानीय भन्दा केन्द्रिय ब्यवस्थापनका कारण भइरहेको उनको भनाइ थियो ।
अंग्रेजी माध्यमका पाठ्यपुस्तकका लागि आउने अनुदान सरकारी दररेट अनुसारको छ । सो अनुसार सामुदायिक विद्यालयले खरिद गरेर उपलब्ध गराउन सक्दैन्, अंग्रेजी माध्यममा पढाउने इच्छा भए पनि पठनपाठन गराउने अभिभावकले पाठ्यपुस्तकका लागि थप आर्थिकभार तिर्न सक्ने अवस्था छैन । अंग्रेजी माध्यमको पाठ्यपुस्तक साझा प्रकाशनको पनि छ, तर माग गरेर अनुसार बेलामा साझा प्रकाशनले अंग्रेजी माध्यमको पाठ्यपुस्तक दिन सकेको छैन ।
साझा प्रकाशनले दिन नसकेको हो कि दिन नचाहेको हो ? साझा प्रकाशन नै माथिल्लो तहबाट प्रभावित हुने गरेको अनुमान गर्न सकिन्छ । अंग्रेजी माध्यम नै बेचेर सञ्चालन भईरहेका निजी विद्यालयको संगठनको प्रभावले नै साझा प्रकाशनको अंग्रेजी माध्यमको किताब पाउन मुस्किल प्रायः छ । स्थानीय तहले केही राम्रा अभ्यास गर्न खोजेपनि केही विषयमा केन्द्रियता अझै कायम रहेको हुँदा चाहे जस्तो शैक्षिक सुधारका कार्य गर्न सक्ने अवस्था नरहेको स्थानीय तहका शिक्षा शाखाहरूले जानकारी गराएका छन् ।
निजी विद्यालयमा पठाउने अभिभावक भन्दा सामुदायिक विद्यालयमा बालबालिका पठाउने अभिभावक अलि कम जागरुक छन् । जागरुक अभिभावकले बालबालिकाको अध्ययनमा चासो राख्नुपर्ने आवश्यकता महशुस गरेर नै अभिभावक शिक्षा कार्यक्रम स्थानीयस्तरबाट चलाउन खोजिएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । सुस्ता गाउँपालिकाले पनि सामुदायिक विद्यालयका आमा अभिभावकलाई जागरुक बनाउनका लागि बजेट कार्यक्रममा आमा शिक्षा कार्यक्रम राखेको छ । यसले जागरुक अविभावक, क्रियाशिल शिक्षकको सहकार्यले मात्र शैक्षिक गुणस्तरको आश गर्न सकिन्छ । त्यसको परिक्षण स्वरूप अभ्यासमा लागेका छौं । अभिभावक जागे, विद्यालय जागि हाल्छ, बालबालिकाले पाउने गुणस्तरीय र जिवनोपयोगी शिक्षाको लक्ष्य प्राप्त गर्न सक्छन् ।
अभिभावक शिक्षासँगै अहिले पाल्हीनन्दन गाउँपालिकाले विद्यालयमा शान्ति शिक्षा तथा मानवअधिकार जागरणका अभ्यास गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेल बताउँछन् । ‘विद्यालयमा यो नौलो अभ्यास हो,’ उनी भन्छन्–‘शान्ति शिक्षाले बालबालिकामा नयाँ अनुभुति गराउनुका साथै शिक्षक अभिभावकलाई शान्ति अनुभूति गराउनमा सहयोगी बन्ने विश्वास लिएका छौं ।
विगत लामो समयदेखि अभिभावक शिक्षा सञ्चालन गर्दै आएका प्रशिक्षक रामप्रसाद पाण्डेले स्थानीय तहको यो अभिभावक शिक्षामा लगानी गर्ने उत्साहले प्रशिक्षक मात्रै नभई सबै शिक्षा क्षेत्रका सुभचिन्तकलाई उत्साही बनाएको छ । ‘अभिभावकले नै आफ्नो बालबालिकाको भविष्य खोज्ने, बनाउने योजनामा लाग्नुपर्छ,’ उनी भन्छन् । एउटा अभिभावक कहिल्यै सोच्दैन कि उसका बालबच्चा राम्रो नहोस, फरक यतिको छ, कि कसरी सोंच्ने र कसरी बनाउने त्यसबारे अभिभावक आफै जानकार छैन । शिक्षामा अर्बाैं लगानी गर्ने राज्यले शिक्षा क्षेत्रको एउटा प्रमुख कडि अभिभावक पनि हुन्, त्यसमा पनि आमा अभिभावक नै सबैभन्दा बढि जिम्मेवार हुन् ।