© २०२३
गत कार्तिक १७ गते राती ११ः४७ बजे जाजरकोटलाई केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम, सल्यान सहित पश्चिम नेपालका झण्डै दर्जन जिल्लाका हजारौँ नागरिकको घरबार उजाडिएको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ को रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिमको जनजीवन क्षतविक्षत् पारेको डेढ महिना बितिसक्यो । भूकम्पले नागरिकका शरीर या केही हजार घरहरू मात्र ढलेनन्, हजारौँ सपना ढलेका छन् ।
कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखाका अनुसार जाजरकोटमा मात्रै १०१ जनाको ज्यान गयो भने १५८ भन्दा बढी घाइते भए । यस्तै भूकम्पबाट प्रभावित रुकुम पश्चिममा ५४ जनाले ज्यान गुमाए भने २०२ जना घाइते भए । महाशाखाका अधिकृत कृष्ण बहादुर रोकायाका अनुसार भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ४३ जना बालिका र ३८ जना बालक गरी ८१ जना बालबालिकाको मृत्यु भएको छ भने ४९ जना बालिका र ५० जना बालक गरेर ९९ जना बालबालिका घाइते भएका थिए । कर्णालीका करिब ६२ हजार घरमा क्षति पुगेको छ भने ५१३ बढी सरकारी तथा सार्वजनिक संरचनामा क्षति पुगेको देखिन्छ ।
जाजरकोट भूकम्पले शिक्षा क्षेत्रमा मात्रै ठूलो क्षति गरेर नराम्रो गरेर प्रभावित बनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार २५, मंसिरसम्मको विवरणमा जाजरकोट, रुकुम पश्चिम र दैलेखमा ३५१ वटा विद्यालयमा भूकम्पले क्षति पु¥याएको छ । जसमध्ये १०२ विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त छन् भने २४९ विद्यालयमा आंशिक क्षति पुगेको छ । रुकुम पश्चिममा ७६, जाजरकोटमा २७३ र दैलेखमा दुई विद्यालयमा क्षति पुगेको विवरण मन्त्रालयसँग छ । यता छिमेकी जिल्ला सल्यानमा पनि जाजरकोट र रुकुम पश्चिमकै हाराहारिमा भौतिक क्षति भएको प्रभावित गाउँपालिका दार्मा गाउँपालिकाले जनाएको छ । दार्मा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष निम बहादुर केसीले दार्मा गाउँपालिकामा मात्रै ९ वटा विद्यालयमा पूर्ण र १२ वटा विद्यालयमा आंशिक गरी जम्मा २१ वटा विद्यालयमा क्षति पुगेको जानकारी दिए ।
भूकम्प प्रभावित जिल्लाको स्थानीय प्रशासन, मन्त्रालय तथा विभिन्न निकायका विवरणमा मेल खाएको देखिँदैन । यद्यपि भूकम्पले विद्यालय क्षेत्रलाई क्षतविच्छेद बनाएको छ । विद्यालय भवनसँगै केही विद्यालयका आईसीटी ल्याब, पुस्तकालय, घेराबार र सोलार सिस्टममा समेत क्षति पु¥याएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटले २८९ विद्यालय भवन क्षति भएको जनाएको छ । इकाइ प्रमुख रमेश मल्ल भन्छन्, ‘जाजरकोटमा ४२३ वटा सामुदायिक र २१ संस्थागत हुन् । करिब ५०० को हाराहारीमा कक्षाकोठा क्षति भएका छन् । केन्द्रीय शिक्षा विभाग तथा प्रदेशको सामाजिक विकास मन्त्रालयबाट प्राविधिक टोलि मार्फत यथार्थ विवरण संकलन कार्य भइरहेको छ ।’ अहिले क्षति भएका विद्यालयमा पनि पठनपाठनलाई अगाडी बढाइएको मल्लले बताए । ‘मंसिर ४ गतेबाट विद्यालय सञ्चालन गर्ने स्थानीय तह तथा विभिन्न निकायसंगको समन्वय एवं निर्णयानुसार विद्यालय खुलेका छन् । क्षति भएको विद्यालयमा चौरमा बसेर, विभिन्न निकायले बनाएका अस्थायी शिक्षण सिकाइ केन्द्रहरूमा पढाइ भइरहेको छ । पठनपाठन रोकिएको भन्ने कुरा कतैबाट आएको छैन’, उनले भने ।
जाजरकोटमा मात्रै करिव ३०० विद्यालय बनाउनुपर्ने भएकाले त्यो एकैपटक सम्भव नभएको तथा कसरी बनाउने भन्ने विषयमा शिक्षा विभाग छलफलमा रहेको उनले जानकारी दिए । पहिलो चरणमा अस्थायी शिक्षण सिकाइ केन्द्रहरू निर्माणमै जोड दिइएको छ । भूकम्पले विद्यार्थीमा मानसिक असर परेको सन्दर्भमा विभिन्न निकायबाट काउन्सीलिङ भइरहेको, भूकम्प लगाएत विपदबाट बच्ने उपायबारे गैर सरकारी निकायबाट पनि अभिमुखिकरण भइरहेको मल्लले बताए । उनका अनुसार जाजरकोटमा विद्यालय भर्ना भएका २४ बालवालिकाको मृत्यु भएको छ भने ४५ जना विद्यार्थी घाइते भएका थिए ।
भूकम्पको केन्द्र रहेको जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष बीर बहादुर गिरीले आफ्नो गाउँपालिकामा भूकम्पले कुनै पनि विद्यालयलाई बाँकी नराखेको बताए । गाउँपालिकाका ४४ वटा सबै विद्यालय क्षति भएको भन्दै उनले भने, ‘भवन निर्माण हामीले सक्दैनौँ, माथिल्लो निकायसंग समन्वय गरेर निर्माण गर्ने विषयमा निरन्तर छलफल र समन्वयमा छौँ । हाललाई पाल राखेर सामान्यतया पठनपाठन भइरहेको छ । युनिसेफले पाल दिएकोमा त्यसलाई पनि व्यवस्थापन गर्न सकिएको छैन । अस्थायी शिक्षण सिकाइ केन्द्र निर्माणको तयारीमा छौँ ।’
शिक्षा विकास तथा समन्वय ईकाई रुकुम पश्चिमका प्रमुख तारा प्रकाश पुन मगरका अनुसार रुकुम पश्चिममा मात्रै २६८ विद्यालयका ५१७ वटा भवन क्षति भएका छन् । जसमा २१३ वटा पूर्ण र ३०४ आंशिक क्षति भएका छन् । यस्तै ६२८ पूर्ण र ७८० आंशिक गरेर १४०८ कक्षाकोठामा क्षति पुगेको र ३०१ वटा शौचालय पनि क्षतिग्रस्त भएको इकाइ प्रमुख पुन मगरले बताए । भूकम्पमा परेर विद्यालय भर्ना भएका १५ जना विद्यार्थीको मृत्यु भएको पनि उनले जानकारी दिए । इकाईका सूचना अधिकारी डायमण पुनले पनि अस्थायी केन्द्र मार्फत पठनपाठन भइरहेको जानकारी दिए ।
भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विद्यालयहरूमा पठनपाठन नियमित बनाउन आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा २१३ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएको बताइएको छ । अस्थायी सिकाइ केन्द्र निर्माण भएपछि विद्यालयमा आउने विद्यार्थी संख्यामा वृद्धि भएको पाइएको छ । स्थानीय तहले विभिन्न दातृ निकायसँग समन्वय गरेर अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन नियमित गरिएको जनाएका छन् । केही दिन अघिसम्मको विवरण अनुसार आठबिसकोट नगरपालिकामा १३९ र सानीभेरी गाउँपालिकामा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भएका हुन् । आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टका अनुसार पठनपाठनलाई नियमित गर्न अस्थायी सिकाइ केन्द्र तयार भएको बताउँदै पढ्न आउने विद्यार्थी संख्या बढेको जानकारी दिए । सल्यानको दार्मा गाउँपालिकामा पनि विद्यार्थीलाई पालहरूमा बसालेर पठनपाठन भइरहेको जनाउँदै गाउँपालिका अध्यक्ष निम बहादुर केसीले विद्यालय भवन निर्माणका लागि सम्बन्धीत मन्त्रालय एवम् दातृ निकायहरूसँग निरन्तर छलफल र पहल भइरहेको बताए ।
भूकम्पपछि विद्यालय भवन निर्माण तथा शिक्षण सिकाइ क्रियाकलापलाई पुरानै लयमा फर्काउन निकै मिहेनत गर्नुपर्ने देखिन्छ । भूकम्प पश्चात खुला आकाशमुनि रहेका विद्यार्थीहरूलाई कक्षाकोठा भित्र स्थानान्तरण गराउने, भूकम्पबाट क्षति भएका सामुदायिक विद्यालयहरूलाई भौतिक रूपमा सुदृढ, सुरक्षित र बालमैत्री विद्यालयको रूपमा निर्माण गर्ने, गराउने र संम्भावित स्रोतहरूको अधिकतम उपयोग गरी विद्यालय पुनर्निर्माणलाई व्यबस्थित बनाउने कार्य चुनौतिपूर्ण छ । सेभ द चिल्ड्रेनले भूकम्प प्रभावित क्षेत्रमा बालवालिकाको लागि शिक्षा क्षेत्रमा काम गर्ने योजना बनाइरहेको जनाएको छ । यस अघि उसले भूकम्प प्रभावितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, कम्बल, न्यानो कपडा, भान्साका लागि आवश्यक भाडावर्तन लगाएतका सामग्री राहत स्वरूप वितरण गरेको थियो ।
शिक्षा क्षेत्रमा प्रभावकारी विपद पूर्व तयारी गरी आपतकालिन अवस्थामा बालबालिका र किशोरकिशोरीहरूको लागि सुरक्षित वातावरणमा पठनपाठन र सिकाई निरन्तरता गर्नु आवश्यक रहने शिक्षाविदहरू बताउँछन् । भूकम्प प्रभावित परिवारहरूको आवश्यकता परिपूर्तीका साथै बालवालिकाहरूको संरक्षण, सरसफाई, आवश्यक सामग्री, आश्रय, स्वास्थ्य, पोषण जस्ता साझा सरोकारका विषयमा सम्बोधन हुन आवश्यक छ । भूकम्प पश्चात प्रभावित क्षेत्रका बालबालिका तथा अन्य उमेर समूहका मानिसहरूलाई विभिन्न किसिमका शारीरिक तथा मानसिक आघात पुगेको हुनसक्छ । उनीहरूलाई मनोसामाजिक विशेषज्ञको सहयोगको आवश्यकता पर्दछ । मनोसामाजिक विज्ञहरूका अनुसार मनोसामाजिक अवस्थालाई सबल बनाउन शिक्षक, सहजकर्ता, अभिभावक आदिको सहयोगको आवश्यकता पर्दछ । धेरैजसो बालबालिकाहरू सुरक्षाको अनुभूति पाए भने, दैनिक जीवनको खेल, मनोरञ्जन तथा साथीहरूसँगको घुलमिलबाट नै सामान्य बन्छन् ।
अस्थायी सिकाइ केन्द्रमा शिक्षकले विद्यार्थीलाई सिधै
पाठ्यपुस्तकमा प्रवेश गर्नुभन्दा बालबालिकालाई स्वागत गर्न, बालमैत्री तथा जिम्मेवार शिक्षकका रूपमा प्रस्तुत हुन, बालबालिकासँग विद्यालय वरिपरिका खतरा योजना तथा सुरक्षा योजना बनाउन, बालबालिकालाई दैनिक क्रियाकलाप अर्थात सामान्य जीवनमा फर्किन मद्दत गर्न, मनोसामाजिक सहयोग पुग्ने क्रियाकलापहरू गराउन तथा अभिभावक तथा समुदाय सँग समन्वय गर्न आवश्यक रहेको शिक्षाविद्हरू बताउँछन् । कर्णालीका विभिन्न जिल्लामा भूकम्पपछि अब सयौँ विद्यालय भवन निर्माण गर्नुपर्ने देखिन्छ । अव बन्ने संरचनाहरू भूकम्प प्रतिरोधि बनाउनका लागि एउटा अवसर पनि हो । सम्बन्धित मन्त्रालय (संघ तथा प्रदेश) एवम् स्थानीय तहहरूले पनि विपद् एवम् पुनर्निमाणका क्षेत्रमा कार्यक्रम तथा बजेट विनियोजन गर्न, अन्य प्रयोजनमा छुट्याएको बजेट आपतकालिन योजनामा उपयोग गर्न र आवश्यक श्रोतसाधन जुटाउनका लागि पहल गर्र्नुपर्ने देखिन्छ । यसमा समुदायका सदस्यहरू, गैरसरकारी संघ संस्था, दातृ निकायहरूको पनि उत्तिकै ध्यान जान जरुरी छ । à