© २०२३
“स्वस्थ्य आँखा, स्वस्थ समाज” भन्ने उद्देश्यका साथ सरकारले विद्यालय तहका विद्यार्थीको हरेक बर्ष आँखा परीक्षण गर्ने नीति छ । राष्ट्रिय आँखा रणनीति २०७९–२०८६ मा आँखा स्वास्थ्य सेवालाई विद्यालय स्वास्थ्य कार्यक्रममा समावेश गर्दैै विद्यालयमा हरेक बर्ष दृष्टि परीक्षण गरिने उल्लेख छ । मानिसका सबै अंग उत्तिकै महत्वपूर्ण हुन्छ तर आँखाबिना संसार अँध्यारो हुन्छ । आँखा स्वच्छ, सुन्दर, स्वस्थ हँुदामात्र त्यसले सुन्दर संसार देख्न सक्छ । भबिश्यका कर्णधार बालबालिकाको आँखा स्वस्थ भए मात्र स्वस्थ समाज निर्माण गर्न सकिने भन्दै सरकारले यस्तो रणनीति ल्याएको हो ।
शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दिपक शर्मा सरकारको निर्णय बमोजिम स्थानीय तहमार्फत विद्यालयलाई बर्षको एक पटक अनिबार्य रूपमा विद्यार्थीको आँखा परीक्षण गर्न निर्देशन गरिसकिएको बताउँछन् । महानिर्देशक शर्माले भने “रणनीतिमा उल्लेख भए अनुसार विद्यार्थीको हरेक बर्ष आँखा परीक्षण गर्ने जिम्मा स्थानीय तहको रहेको छ । सोही अनुसार हामीले रणनीति कार्यन्वयन गरेर विद्यालय तहका विद्यार्थीको आँखा परीक्षण गर्न स्थानीय तहलाई निर्देशन दिइसकेका छौं ।”
बुटवल उपमहानगरपालिकाका शिक्षा बिभागका टीकाराम पन्थीले भने नगरपालिकमा विद्यार्थीको आँखा परीक्षण गर्ने कुनै त्यस्तो खालको निर्देशन नआएको बताए । बालबालिकाको आँखा परिक्षण जस्तो संबेदनशील बिषय भएकाले निर्देशन आउने बित्तिकै बिद्यालयलाई परिपत्र गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यस्तै, बुटवल–४ लक्ष्मीनगरको लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक शान्ति सुबेदीले पनि सरकारले विद्यालय तहका बालबालिकालाई बर्षमा एकपटक आँखा अनिबार्य परिक्षण गर्नुपर्ने रणनीति ल्याएको थाहा पाएको भएतापनि स्थानीय तहबाट बालबालिकाको लागि अनिबार्य आँखा परिक्षण गर्नेपर्ने निर्देशन अहिलेसम्म नआएको बताईन् ।
उनले सरकारबाट निर्देशन नआएपनि बालबालिकाको आँखाको स्वास्थ्य जस्तो बिषयमा बिद्यालय संबेदनशिल भएको बताईन् । उनले बिभिन्न समयमा बिद्यालय आफैले बालबालिकाको आँखा परिक्षण गर्दै आएको पनि जानकारी दिईन् । “स्थानीय तहले बालबालिकाको अनिबार्य आँखा परीक्षण गर्न भनेर निदर्शेन दिएको छैन । बालबालिकाको आँखाको बिषयमा गम्भिर छौं । त्यसैले हामीले बिभिन्न समयमा बिभिन्न क्लबहरूको सहयोगमा बिद्यालयमा अध्ययनरत बालबालिकाको आँखा शिबिर सञ्चालन गरेर आँखा परिक्षण भने गर्दै आएका छांै,” उनले भनिन ।
अहिलेको समय डिजिटलको समय हो । प्रबिधिमा आएको बिकाससँगै मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेटको प्रयोग बढ्दो छ । त्यसको सबैभन्दा बढी असर त साना बालबालिकामा परेको छ ।
आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिका आँखा बिग्रने सम्भावना धेरै हुने हँुदा बच्चाहरूको आँखा प्रत्येक वर्ष अनिवार्य जाँच गराउन अत्यन्तै आवश्यक रहेको बताउँछिन् त्रिभुवन विश्व बिद्यालय शिक्षण अस्पतालकी बालरोग आँखा रोग विशेषज्ञ डा.ज्योतिबाबा श्रेष्ठ । श्रेष्ठले बालबालिका बिद्यालय जान लागेपछि नै आँखाको भिजन चेक गर्नुपर्ने बताउँछिन
डा. श्रेष्ठले भनिन, कतिपय बच्चाको आँखा चिलायो र रातो भयो भने पढ्न ध्यान दिँदैन। त्यहि आँखा धेरै चलाएर बस्छन् । यसले गर्दा अध्ययनमा समेत असर गर्दछ । त्यसैले ५ देखि १५ वर्षको बच्चाहरूको प्रत्येक वर्ष भिजन जाँच गर्नु पर्दछ । स्कुल पढ्ने विद्यार्थीमा दृष्टिदोष समस्या देखिएर चश्मा लगाउनुपर्ने बताउँछिन । उनले अल्छी आँखा, ढेडो वांगो आँखा, आँखाको स्वास्थ्यमा सुरक्षा गर्न नसकेर आँखा पाक्ने जस्ता समस्या देखिन सक्ने बताइन् । त्यसको समयमा उपचार गराइएन त्यस्तै छोड्यो भनेपछि गएर बच्चाको आँखा नै बाङ्गो हुन सक्ने उनको भनाइ रहेको छ ।
“बच्चाहरू बाहिर खेल्ने जाने भएकोले आँखामा धूलो कसिंगर भित्र पसेर आँखा रातो र पाक्ने समस्या हुने गर्दछ । आँखामा एलर्जी आँखा चिलाउने, जस्ता समस्या बालबालिका देखिने गर्दछ,” उनले भनिन ।
उनका अनुसार जन्मजात देखिने समस्या अलि अलि देखिन्छ । बच्चामा जन्मजात मोतिविन्दु, जलविन्दु राती अध्यारोमा रतन्धो जस्ता समस्या देखिने गर्दछ । यस्तै उनले बालबालिकामा आँखाको क्यान्सर पनि हुने गरेको बताउछिन् । “बाहिर खेल्दा चोट लागेर आँखा फुटाएको पनि हामीसँग उपचार गर्न आएका हुन्छन्” उनले भनिन, “त्यसैले बालबालिकोको समयमा नै आँखा परीक्षण गर्नुपर्दछ । नेपालमा ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या रहेको पाइएको छ ।
नेपाल नेत्रज्योति संघले करिब ८ लाख बालबालिकाको आँखा परिक्षण गर्दा ४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको जनाएको छ । संघका कार्यक्रम व्यबस्थापक रंजन शाहका अनुसार सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ बर्षसम्मका बिद्यालय जाने र नजाने बालबालिकाहरूको आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षण पश्चात समस्या देखिएका बालबालिकाहरूलाई निःशुल्क चस्मा तथा शल्यक्रिया समेत गरिएको शाहले जानकारी दिए । à