© २०२३
गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्व शान्तिको मुहानको रूपमा संसारभर परिचित छ । जहाँ देश विदेशका पर्यटकहरू त आउँछन् नै नेपालीहरूको साझा पर्यटनको थलो हो । बुद्धसँग जोडिएको दरबार रहेको कपिलवस्तुको तिलौराकोट, मावली देवदह र अस्तुधातु रहेको नवलपरासीको रामग्राम बुद्धलाई बुझ्न घुम्नै पर्ने ठाउँहरू हुन् । यहाँको थप गहनाको रूपमा २०६० सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लिन सकिन्छ । यो बुद्ध दर्शनको अध्ययन हुने नेपालको पहिलो र एकमात्र विश्वविद्यालय हो । यो विश्वविद्यालयले ४ वर्षे स्नातक तहमा बुद्धिज्म र २ वर्षे स्नातकोत्तर बुद्धिज्म तथा पीएचडीका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लुम्बिनी प्रदेशका अन्य मुख्य केही पर्यटकीय स्थलहरूमा धार्मिक रूपले प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, मथुरा, पाल्पाको
रानीमहल, पाल्पा, गुल्मी स्याङ्जाको संगलस्थल रुरुक्षेत्र, गुल्मीको रेसुङ्गा, रोल्पाको रुन्टीगढी हेर्न पर्यटक आउँछन् ।
त्यसैगरी दाङको जंगलकुटी, धारापानी, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज, बाँकेको बागेश्वरी, रोल्पाको होलेरी, थवाङ, रुकुमको तक्सेरा, महत गाउँ, लुकुम पर्यटक आउने थलो हुन् । जहाँ घुम्दै, हेर्दै लुम्बिनीका सिक्न लायक प्राविधिक र साधारण धारको पठनपाठन हुने विद्यालय, मदरसा, स्थानीय तह, उच्च शिक्षाका कार्यक्रम संचालन हुने क्याम्पस हेर्न सकिन्छ । सिक्न सकिन्छ ।
लुम्बिनी प्रदेशमा १०९ वटा स्थानीय तहहरू रहेका छन् । भूगोलका हिसाबले हिमाल पहाड र तराई समेटेको प्रदेशमा शिक्षामा फरक फरक अभ्यासहरू भइरहेका छन् । उदाहरणको रूपमा नवलपरासीको सुनवलमा शिक्षा सुधारका लागि विद्यालय व्यवस्थापन समिति परिचालन, कपिलवस्तुको शिवराज, दाङको राप्ती, बर्दियाको ठाकुरबाबा, बारबर्दिया, रोल्पाको त्रिवेणीमा निःशुल्क आधारभूत शिक्षाको अभ्यास, रूपन्देहीको तिलोत्तमा, पाल्पाको रम्भामा विद्यार्थीलाई पठनपाठनसँगै सीप सिकाउने अभ्यास, नवलपरासीको बर्दघाटमा विद्यालयको वातावरणीय सुधारमा विद्यार्थी परिचालन, रूपन्देहीको कञ्चनमा शिक्षण सिकाइमा सामग्रीको प्रयोग र छोरी शिक्षा कार्यक्रम आशालाग्दा उदाहरणको रूपमा संचालन भइरहेका छन् । त्यसैगरी यहाँका पालिकाहरूले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको निर्माण गरी विद्यालयमा लागु गरिरहेका समेत छन् । यसको अध्ययन र अवलोकनबाट अलमल रहेका पालिकालाई विद्यालय शिक्षा सुधारका लागि प्रोत्साहन र थोरै मात्रामा भए पनि सफल अभ्यासको तरिका सिकाउन सक्छ । गुणस्तरीय सामुदायिक शिक्षाका लागि पालिकाहरूले हिंड्नुपर्ने अबको गोरेटो देखाउन पनि सक्छ ।
उच्च शिक्षातर्फ मानित विश्वविद्यालयतर्फ उन्मुख बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल कालिका क्याम्पस, सिद्धार्थ क्याम्पसले समुदायमा नाम कमाइसकेका छन् । दाङको राप्ती बबई क्याम्पस धेरै विद्यार्थी हुने र व्यवस्थापनमा चुस्त देखिएको क्याम्पसको सूचीमा पर्दछ । त्यसैगरी देउखुरी क्याम्पस, लमही, पद्मोदय क्याम्पस, घोराही, नवलपरासीको दिव्यज्योती क्याम्पस, महाकवि देवकोटा क्याम्पसले उच्च शिक्षातर्फ फरक पहिचानका शैक्षिक अभ्यास गरिरहेका छन् ।
लुम्बिनी प्रदेश सरकारको कुरा गर्ने हो भने, सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्ने छात्राको संख्या बृद्धि, विपन्न, मुक्त कमैया, दलित छात्रबृत्तिले विद्यालय शिक्षा त्यस्ता समुदायका बालबालिकाको पहुँचमा सहयोग पुगेको छ । मदरसा, प्राविधिक शिक्षालय र विद्यार्थी संख्या भएका सामुदायिक क्याम्पसहरूको भौतिक पूर्वाधार सुधारका कार्यक्रम लुम्बिनी प्रदेश सरकारले शिक्षामा गरेको अभ्यासहरू छन् ।
विद्यालयतर्फ देशकै सबैभन्दा धेरै विद्यार्थी संख्या हुनेमा कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा छ । जहाँ अहिले बालविकास केन्द्रदेखि कक्षा १२ सम्म ८ हजार ५० विद्यार्थी अध्ययनरत छन् । यो संख्या देशभरका पालिकामध्ये ३९४ वटा पािलकागत विद्यार्थी संख्याभन्दा बढी पनि हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाको शैक्षिक सत्र २०७९ को तथ्यांकलाई आधार मान्दा ३९४ वटा पालिकामा कालिकामाभन्दा कम विद्यार्थी छन् । विद्यालयमा शिक्षक र कर्मचारी संख्या ३३७ जना छन् । त्यसमध्ये विद्यालय स्रोतका शिक्षक—कर्मचारी २७५ जना हुन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको पछिल्लो अध्ययनमा कालिका पुनः प्रथम भएको छ । १६ वटा सूचकमा ९३ दशमलव ५ अंक ल्याएर विद्यालय प्रथम भएको हो । कालिकाका अभ्यासहरूलाई २९ वटा बुँदामा समेटिएको छ । त्यसपछि बुटवलको कान्ति मावि र बाँकेको धम्बोजी मावि पनि यस प्रदेशबाट उत्कृष्ट विद्यालयको सूचीमा परेका छन् ।
यसका साथै रूपन्देहीमा रहेका शान्ति नमूना मावि, नवीन मावि, पब्लिक मावि, नहरपुर मावि, नयाँगाउँ मावि, ज्ञानोदय मावि, केरवानी मावि, तेनुहवा मावि, हरैया मावि, कपिलवस्तुको नेपाल आदर्श मावि, शिवराज, जनता मावि, पिपरा, बाँकेको त्रिभुवन मावि, कोहलपुर, बर्दियाको राष्ट्रिय मावि, मधुवन, त्रिभुवन मावि, भुरेगाउँ, चुरे मावि, ठाकुरबाबा, गुराँस मावि, मधुवन, अर्घाखाँचीको यूवावर्ष रविचित्र जनता मावि, जनज्योति मावि, भगवती मावि, आदर्श मावि, खनदह, हरिहर संस्कृत तथा साधारण मावि, ज्योती मावि, ठाडा, जनकल्याण मावि, छत्रदेव, विश्व मावि, भूमिकास्थान नाम चलेका विद्यालय हुन् । दाङको मावि रझेना, घोराही, पद्मोदय पब्लिक मावि, मावि सेन्टर, तुल्सीपुर, गुरुजजुर मावि, रक्षाचौर, रोल्पाको बालकल्याण मावि, राष्ट्रिय मावि, रुकुमको रुक्मीणी, रुकुमकोट, पाल्पाको दमकडा मावि, जेभिटि, रामपुरको रामतुलसी मावि, दरै ठाटी मावि, गंगा मावि, उद्बुद्ध मावि, पूर्वखोला गुल्मीको रेसुङ्गा मावि, सिद्धबाबा मावि, महेन्द्र मावि, ज्ञानोदय नमूना मावि, मजुवा, नवलपरासीको पवन मावि, महाकवि देवकोटा मावि, ज्योति मावि, सरस्वती मावि, मदरसातर्फ मदरसा मदिनतुल ओलुम, प्रतापपुर, नवलपरासी, मदरसा आयसा मदरतुलबनात, नेपालगञ्ज, मदरसा जामिया कमरुनिशा, चैनपुर, रूपन्देही हेर्ने र सिक्न लायक मदरसा र विद्यालयमा रूपमा विकास भएका छन् ।
उदाहरणको लागि रूपन्देहीकै कालिका मानवज्ञान माविमा २०६३ यता करिब १८ हजार व्यक्तिहरूले विद्यालयको अवलोकन गरेका छन् । ती संघीय शिक्षा मन्त्रीदेखि प्रदेश, स्थानीय तह र विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षाकर्मी र शिक्षाका अध्येताहरू हुन् । अरू विद्यालय र क्याम्पसहरूमा पनि यस्तै खालका अवलोकन अध्ययन भ्रमणहरू भएका छन् । लुम्बिनी प्रदेशमा भएका शिक्षाका अभ्यासहरू तीनवटै तहका सरकारका लागि सहयोगीमात्रै होइन मार्गदर्शक बन्न सक्छन् । त्यो मार्गदर्शन संघीय सरकारले नीति बनाउनका लागि, प्रदेश सरकार र स्थानीय सरकारले शिक्षाका नीति र योजना बनाउनका लाागि, क्याम्पस र विद्यालयलले आफूलाई अब्बल र नमूना बनाउनका लागि कोशेढुंगा सावित हुन सक्छ । यसले आफ्नो अवस्थालाई चिनाउन सक्छ, आफूलाई सुधार्न सक्छ । त्यो रहर तीन तहका सरकार र शैक्षिक संस्थाले गर्न सक्लान् ?