© २०२३
मनसुन बाहिरिनै लाग्दा भैरहेको अबिरल बर्षाले देशका अधिकांश भू–भागको जनजीवन प्रभावित भएको छ । देशका पहाडी भू–भागमा सडक अवरुद्ध भएको छ । तराईमा डुवानको समस्या देखिएको छ । मंगलवार दाङको तुलसीपुर लगायतका क्षेत्रमा भएको भीषण बर्षाले डुवानको समस्या निम्तिएको छ । उता सुदूर पश्चिममा बाढी र पहिरोको कारण कैयौं घर परिवार विस्थापित हुन बाध्य भएका छन । बाग्लुङमा पहिरो जाँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । अबिरल बर्षापछि आएको बाढीकै कारण बाग्लुङमा जीप बगाउँदा तीनजनाको मृत्यु भएको छ । यी सवै प्राकृतिक विपत्तीमा परेका प्रभावित परिवारलाई मल्हम लगाउनु जरुरी छ । सरकारले प्रभावित परिवारलाई राहत दिनु जरूरी छ । अर्कोतर्फ पानीले धानबाली प्रभावित गरेको छ । काटेको धान उम्रने अवस्था आएको छ भने काटनै लागेको धान ढलेको छ ।
उता बाढी पहिरोको प्रकोपमा परेकालाई अव ढिलो नगरी संघीय, प्रदेश र पालिका तथा विभिन्न सामाजिक संघ संस्थाहरूले प्राकृतिक विपत्तिमा परेका परिवारको राहतमा कमी आउन नदिनेतर्फ ध्यान दिनु जरुरी छ । प्राकृतिक प्रकोपले पहाड र तराईका विभिन्न क्षेत्रमा पहिरो र डुवान तथा बाढीको समस्या देखिएपछि फेरी एकपटक प्रभावितहरूको व्यवस्थापनको चुनौति थपिएको छ । प्राकृतिक प्रकोपले मानिसलाई जोखिम क्षेत्रमा बसोबास गर्नुहुँदैन भन्ने सिकाएको छ । यद्यपि बढ्दो जनसंख्या र अनेकथरी चुनौतिका कारण मानिस जोखिम बढी भएकै क्षेत्रमा बसोबास गर्न बाध्य भएको छ । मानिसको बाँच्न पाउने हक सबैभन्दा ठूला अधिकार हो तर मानिस आफ्नै लापरवाहीले प्राकृतिक प्रकोपको शिकार भैरहेको छ । यही वर्षमात्रै आएको बाढी र पहिरोमा परी देशैभरीमा गरि ५० बढीको मृत्यु भैसकेको छ । अहिले प्रत्येक दिनजसो पहाडी क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाउनेहरूको संख्या बढेको बढ्यै छ । सरकार भने प्रभावितहरूको सहयोगमा अहिलेसम्म बेखबर छ ।
त्यसो त हरेक बर्ष बाढी र पहिरो वर्षायामको नियमित प्रकृया जस्तै हो । यो जान्दाजान्दै पनि सावधानी अपनाएको पाईदैन् । सरकारले पनि जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापित गर्न सजगता देखाएको छैन । वर्षा सकिएपछि दुःख विर्सिने र अर्को वर्षको जोखिम सहन गर्न तयार हुनुपर्ने वर्षौदेखिको यो नियति नै हो । मूख्यरूपमा पहाडी क्षेत्रमा बसोबास गरिरहेका जोखिम बस्तीलाई अन्यत्र सार्ने विषयमा सरकारी स्तरबाटै पहल जरुरी छ । नेपाल सरकारको यस विषयमा ध्यान पुग्नैपर्दछ । अझैपनि प्रत्येक दिनजसो बर्षा भैरहेकोले पहिरोको जोखिम पनि बढ्दै गएको छ । यो बर्षको मनसुन बाहिरिने क्रममै मंगलबार देशभर भीषण बर्षा भएको छ । यो वर्ष थप क्षति हुन नदिनेतर्फको सचेतना आवश्यक छ । पछिल्लो बर्षाले धानबालीलाई क्षति पु¥याएको छ । अव सरकारले ढिलाई नगरिकन देशभर भएको प्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्न तत्काल कदम चाल्नु जरूरी छ । बर्षा अझै केही दिन हुने भएकोले देशका विभिन्न स्थानमा हुने प्राकृतिक बिपत्तिमा सचेतता अपनाउनु जरूरी छ ।