© २०२३
बुटवलमा मानव सभ्यताको शुरुवात कहिलेदेखि भयो भन्ने ठोस प्रमाणहरू भेटिदैनन् । तर, रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका नजिक पर्ने तिनाउ खोलाको पहरामा भेटिएको एक करोड १० लाख वर्षअघिको मानिएको रामापिथेकसको नामले प्रसिद्ध नरवानरको बंगाराको प्राप्त जीवाष्मले मानव उद्विकासको शृंखलामा यो क्षेत्र महत्वपूर्ण स्थल रहेको थियो भन्ने प्रमाणित गरेको छ (प्रधान,२०४५) । बौद्धकालमा यो क्षेत्र गौतम बुद्धको विचारणको क्षेत्र रहेको थियो भन्ने योगी नरहरिनाथको भनाई रहेको छ ।पाल्पामा सेन राज्यको उदय र विस्तारसंगै बुटवलले भारतीय साम्राज्य र पहाडी राज्यलाई जोड्ने केन्द्रको रूपमा विकसित हुन पाएको थियो । बुटवलले पाल्पा राज्य र अवध राज्य विच सन्तुलित सम्बन्ध राखेर दुई फरक भूगोल र सस्कृतिको केन्द्र बन्ने अवसर प्रदान गरेको थियो । बुटवललाई लिएर नेपाल र अंग्रेज विचमा युद्ध भएकोबाट पनि बुटवलको महत्व कत्तिको थियो भन्ने थाहा हुन्छ । सुगौली सन्धिपछि बुटवलले नेपालमा पृथक पहिचान बनाएको छ । बुटवलले अनेकौ सामाजिक–राजनैतिक, प्राकृतिक र आर्थिक उतारचढाव भोगेकोले यहाँ अनेकौ सम्पदाहरू निर्माण भएका छन् । ति सम्पदाहरू मध्ये जितगढ़ी बुटवलको शानको रूपमा रहेको छ ।
प्रतिरक्षाका निमित्त चारैतर्फबाट घेरी सुरक्षित तुल्याईएको ठाउँलाई किल्ला वा गढी भनिन्छ ( प्रज्ञा नेपाली शब्दकोश) । नेपालमा भुरे टाकुरा राजादेखि नेपाल अंग्रेज युद्दको समयसम्म देशलाई जोगाउने प्रमुख स्थानहरू यिनै गढी वा किल्लाहरू रहेका थिए । तत्कालिन पाल्पा राज्यमा माथागढ़ी, नुवाकोट गढी, बल्ढेङगढी, वाकुमगढी, जितगढ़ी लगायतका गढि़हरू रहेका थिए । यी गढि़हरूमध्ये जितगढ़ीले नेपालको इतिहासमा विशिष्ट स्थान राख्दछ । तिनाउ नदीको दाहिनेतर्फ तिनाउ पुलको आडैमा रहेको यो गढी कसले निर्माण गरेको भन्ने ठोस प्रमाण भेटिदैन । चौवीसे क्षेत्र अन्तर्गतको पाल्पा राज्यमा विक्रमको सोह्रौं शताब्दीको उत्तराद्र्धतिरदेखि सेनवंशी राजाले शासन गर्न थालेका थिए । यस वंशका दोश्रा राजा मुकुन्द सेन ’प्रथम’ ले वि.सं. १५७५ देखि १६१० सम्म शासन गरेका थिए । यसै समयमा. उनले पाल्पा राज्यलाई विस्तार गरी पूर्वमा दूधकोशीसम्म पु¥याएका हुन् । यिनै मुकुन्दसेन प्रथमले जितगढि़को निर्माण गराएको हुनसक्ने इतिहासकार निर्मल श्रेष्ठको अनुमान छ । मध्यकालमा दक्षिणतिरबाट पाल्पा प्रवेश गर्ने प्रमुख मार्ग बुटवल रहेकोले सेनबंशी राजाहरूले नै गढि़को निर्माण गराएको उनको दाबि छ । गन्धर्व सेनको समयमा अवधका नवावहरूसंग बुटवलको विषयलाई लिएर पाल्पासंग खटपट चलेकोले सुरक्षाको लागि उनले बनाएको अनुमान गर्न सकिन्छ । तर गन्धर्व सेनको पालामा बुटवल आएका पृथ्वी नारायण शाहको यात्रा वर्णनमा र वि.स. १८३९ मा महादत्त सेनको पालामा बुटवल आएर ५ महिना बसेका प्रभू स्वामीनारायण भनिने निलकण्ठ वर्तिको यात्रा विवरणमा यो गढि़को उल्लेख नहुनुले त्यो समयभन्दा पछी यो गढि़को निर्माण भएको हो कि भनि शंका गर्नुपर्ने हुन्छ ।
किल्लाको निर्माण सम्बन्धमा कुनै ठोस ऐतिहासिक प्रमाण नभेटिएपनि नेपाल अंग्रेज युद्दमा यहि किल्लाबाट नै नेपाली फौजले अंग्रेज विरुद्ध लडेर अंग्रेजलाई परास्त गरेको थियो । सैनिक इतिहासका अध्येता डा. प्रेम सिंह बस्न्यात यस किल्लालाई पहिले बुटवल गढी भनिएपनि अंग्रेजलाई हराएपछि यसको नाम जितगढ़ी भन्न थालिएको हो (बस्न्यात, २००५) । तर बुटवल हमला गर्न आउनुपूर्व र हमला गर्न आएको बेलामा अंग्रेजले गरेको पत्राचारमा ’जितगढ़ उल्लेख गरिएकोले छ, त्यसैले जितगढ़ी नामाकरण पहिले नै भएको देखिन्छ ( मैनाली, २०८०) । बुटवलको लडाइँ लड्न आएको अंग्रेज सेनाका कमान्डर मेजर जेनरल जोन सलिभन उडले पहिलो लडाइँ हुने बित्तिकै लेखेको पत्रमा त्यस ठाउँलाई जितगढ भनेका छन्। उनलाई यो कुरा पाल्पाली ब्राह्मण कनकनिधि तिवारीले बताएका थिए (मैनाली, २०८१)। बस्न्यात र श्रेष्ठले भनेजस्तै अंग्रेजलाई हराएको कारण यस किल्लाको नाम जितगढ़ी रहेको नभई पहिले बनेकै किल्लालाई मर्मत सम्भार गराएर कर्नेल उजिरसिंह थापाले अंग्रेज विरुद्धमा लड्न यस किल्लाको प्रयोग गरिएको हुनुपर्छ ।
अहिले पुर्व पश्चिम राजमार्गको किनारमा पुरानो बुटवलको दक्षिणमा जितगढ़ी रहेको छ । तर पाल्पा हान्न आएका अंग्रेजका कमान्डर सुलेभान उडले किल्लाको अवस्थितिको बारेमा केहि अन्यौल सिर्जना गरेका छन् । ४ जनवरी १८१५ मा जोन सुलेभान उडले लेफ्टिनेन्ट कर्णेल फागनलाई पठाएको पत्रमा कनकनिधि तिवारीले बुटवलबाट डेढ किलोमिटर पश्चिममा रहेको जितगढि़को निरीक्षण गर्न, त्यसलाई कब्जा गर्न र निर्जन बुटवल बजारलाई पोलेर खरानी पार्न सल्लाह दिएको उल्लेख छ । यो पत्रमा उनले जितगढ़ी र बुटवलको विचबाट आफ्ना सैनिकलाई अघि बढाउँन खोज्दा कुहिरोले नदेखिएकोले अचानक गढि़को मुखमा पुगेको र गढि़बाट गोलाबारी हुँदा आफ्नोतर्फ ठुलो क्षति भएकोले युद्ध मैदानबाट पछि हट्नुपर्नेको उल्लेख गरेका छन् । वि.स १८७२ महिनामा युद्धमा हार खाएपछि दोश्रोपटक थप शक्ति संचय गरेर सुलेभान उडले १८७२ बैशाख ७ गते बुटवलमा आक्रमण गर्न खोजे । जितगढ़ी किल्लाको कभर पोस्टको रूपमा रहेको रंगमहल ( फूलबारीमा रहेको दरबार)लाई तोपको गोलाले क्षति पु¥याएपनि दोश्रो पटक पनि सुलेभान उड नेतृत्वको अंग्रेज फौजले ठुलो हताहती भोग्नु परेको थियो । त्यसपछि भागेर गएको अंग्रेजी सेनाले बुटवलमा युद्ध गर्ने योजना नै त्यागेको थियो ।
गढि़को पूर्वी भागमा तिनाउ नदी रहेको छ । उत्तरबाट राजमार्ग गएको छ भने दक्षिण तथा पश्चिमको भागमा वस्ती छ । वस्तीले नै गढिको धेरै भाग अतिक्रमण गरेकोले विगतमा किल्लाको स्वरूप कस्तो थियो भन्ने अनुमान गर्न सकिदैन । यस गढीको पुर्वपस्चिम लम्बाई २०५ फुट र चौडाई करिब ५५ फुट रहेको छ । इट्टा र सुर्खिको प्रयोग गरि बनाईएका गढि़का भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढि़मा अर्ध गोलाकार बुर्जहरू बनाईएको छ । गारोमा धेरै प्वालहरू रहेका छन् । ति प्वालहरू भित्रतर्फ सानो र बाहिरतपÞर्m ठुलो आकारका छन् । गढि़का भित्ताका प्वालहरू शत्रुलाई हेर्न र गोली हान्न सजिलो हुने किसिमले बनाएको देखिन्छ । वि.स. २०५२ सालमा पुरातत्व विभागले जितगढि़को उत्खनन गर्ने क्रममा उत्तरतर्फको पर्खालको पेटी र पेटिको दायाँबायाँ सिंढी समेत देखिएको थियो । यो सिंढिलाई सुरुंग प्रवेश गर्ने सिंढी भएको हुनसक्ने बताईएको थियो । यो गढि़को भित्रतर्फ सुरुंग रहेको र त्यो सुरुङ्ग नुवाकोट गढी र फूलबारीमा रहेको सेन दरबारसम्म रहेको स्थानीयहरू विस्वास गर्छन् ( ज्ञवाली, २०८०) ।
गढि़को दक्षिण क्षेत्रमा पार्क जस्तो संरचना बनाएर युद्धमा ज्यान गुमाएका योद्धाहरूको शालिक राखिएको छ । गढि़माथी पैदल यात्रीलाई हिडडुल गर्नको लागि केहि वर्ष पहिले फलामको ¥याम्प बनाईएको छ । यसले गढि़को वास्तविक सौन्दर्यलाई घटाएको भएपनि गढी अवलोकन गर्न चाहनेहरूलाई सहज बनाएको छ । गढि़को उत्तरी भागमा युद्द प्रदर्शनी हल बनाईएको छ । यसभित्र युद्धको अवस्था र जितगढि़को महत्व दर्शाउने विभिन्न तस्विरहरू राखिएको छ । बुटवल उपमहानगरपालिकाले जितगढ़ी किल्लामा अग्लो टावर बनाएर त्यसमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । अहिले यो गढी बुटवलको प्रमुख पर्यटकीय सम्पदा बनेको छ र बुटवल भ्रमणमा आउनेहरूले एकपटक पुगेरै छोड्ने स्थान बनेको छ । जितगढ़ी बुटवलको गौरवशाली इतिहासको प्रतिक हो. अंग्रेजको मनमा नेपाललाई जित्न सकिन्न भन्ने हतोत्साही मानसिकता विकास गर्ने काम जितगढ़ी युद्धले गराएको थियो. जितगढ़ी संगै हाल फूलबारीमा रहेको दरबार ( भग्नावशेष) अनि नेपाल अंग्रेज युद्ध अघि बुटवलमा रहेको अंग्रेजको थानालाई हटाउने मुख्य व्यक्ति सुवेदार मनिराज मास्केले निर्माण गराएर गुठीको व्यवस्था समेत गरिदिएको श्री ७ मन नारायण मन्दिर पनि नेपाल–अंग्रेज युद्धका साक्षी हुन् । बुटवललाई जोगाउने र बुटवललाई चिनाउने यस्ता सम्पदाको बारेमा तथ्यगत खोजि गर्ने, पुनर्निर्माण र संरक्षण गर्ने तथा प्रचारप्रसार गर्ने काम राज्यस्तरबाट हुनुपर्छ । यी तिन सम्पदाहरूलाई सहज पैदल र रञ्जुमार्गबाट जोडेर पर्यटकहरू सजिलै आउनेजाने गर्न सक्ने सुविधा प्रदान गर्नुपर्छ । सम्पदा हुनुमात्र ठुलो कुरा हैन, त्यसलाई जोगाउनु, चिनाउनु र प्रतिफल लिन सक्ने बनाउनु ठुलो कुरा हो । यसतर्फ सरोकारवाला सबैको ध्यान पुगोस् ।
श्रोत सामग्री:
प्रधान, केदारनाथ (२०४५):नेपालको १.१ करोड वर्ष अघिको रामनरमानव नेपिथेकसको सन्दर्भमा आदि मानवको उद्गम र उद्गमस्थल. प्राचिन नेपाल संख्या १०६
बस्न्यात, डा. प्रेमसिंह (२००५): नेप्लीज फोर्ट एण्ड द रोयल नेपालिज आर्मि ईन फोर्ट ब्याटल. साझा प्रकाशन
श्रेष्ठ, निर्मल (२०७९): समर सौन्दर्यका नायक कर्णेल उजिरसिंह थापा, नेपाल अंग्रेज युद्ध र महिषासुरमर्दिनी श्री ७ रणउजिस्वरी भगवती जात्रा. रेखा कार्की( प्रकाशक) तानसेन
ज्ञवाली, भास्कर (२०८०): पुरातात्विक सम्पदाः जितगढ़ी किल्ला. उजिर संदेश–उजिरसिंह स्मृतिग्रन्थ, उजिरसिंह माबी, बुटवल
पूर्णिमा र प्राचिन नेपालका विभिन्न अंकहरु