© २०२३
प्रारम्भिक चरणको निर्माणको काम सुरू हुँदै गर्दा सिद्धबाबा सुरुङ मार्गको प्रवेशद्वार नै पहिरोले क्षतिग्रस्त बनाएपछि यसको भबिष्यलाई लिएर चिन्ता र अन्यौल उत्पन्न भएको छ । सुरुङ माग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हेडबक्सको रिपको ढलान गरेपछि सिद्धबाबा मन्दिर नजिकैको सुरू मार्ग प्रवेशद्वारमा रिपको काम थालेको थियो । त्यहाँ ३५ जना कामदारले काम गरिरहेका थिए ।
पाल्पाको तिनाउ गाउँपालिका ३ मा पर्ने निर्माणधिन सुरुङमार्गको रिपमा पहिरोले क्षति पुर्याउनुका साथै रिप नै पुरिएपछि अव सुरूङ मार्गको भविष्यलाई लिएर चिन्ता थपिएको छ । सिद्धबाबा सुरूङ मार्गले उत्साह थपेको थियो । हजारौं लाखौं जनताको आस्थाको केन्द्र सिद्धबाबा मन्दिर नजिकबाट सुरूङ मार्ग निर्माणको काम सुरू हुँदै गर्दा पहिरोले रिपको मुहान नै क्षतिग्रस्त बनाएपछि सुरूङ मार्ग असफल हुने हो कि भन्ने चिन्ता बढेको छ । निर्माणको जिम्मा पाएको चाईना स्टेट कम्पनीले समेत सुरूङ मार्गको भविष्यलाई लिएर चिन्ता ब्यक्त गरेपछि बहुप्रतिक्षित यो परियोजना कतै असफल हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ ।
बुटवलदेखि दोभानसम्मको करिव तीन किलोमिटर सडक उच्च जोखिममा छ । हरेक बर्ष त्यहाँ मानवीय क्षति हुने गरेको छ । यो बर्ष मानबीय क्षति नभएपनि पहिरोमा परेर स्कार्पियो नै क्षतबिक्षत भयो । मुस्किलले त्यसमा सवार यात्रु बाँच्न सफल भए । यस्तै नियती बर्षाैदेखि त्यस क्षेत्रमा यात्रा गर्नेहरूले भोग्दै आएका छन् । पछिल्लोसमय सुरूङ मार्गले आशा एवं विश्वास सिर्जना गरेको थियो । तर, पहिरोको नियतीले यसको भविष्यमाथि नै खेलवाड गरेको अनुभूति भैरहेको छ । करिव डेढ किलोमिटर लामो सुरूङ मार्ग निर्माण सम्पन्न भएमा अत्यन्त जोखिम मानिएको सिद्धबाबा क्षेत्र सुरक्षित हुने आशा गरिएको छ । एक तथ्याँक अनुसार यो नाकाबाट दैनिक झन्डै आठ हजार सवारी साधन निरन्तर चलिरहन्छन । यति धेरै सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक जोखिमले भरिएको छ ।
यो सडकमा यात्रुले सास्तीमात्र पाएका छैनन, व्यवसायीले आफ्नो लगानी हत्केलामा जोखिम मोलेर चलाईरहेका छन । यो सुरूङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको थियो । बिडम्वना निर्माण चरणको सुरूमै आयोजनाको प्रवेशमार्गमा बनाएको रिपमाथि क्षति पुगेपछि सुरूङ त ढिलोचाँडो निर्माण होला तर यसको दिर्घकालीन भविष्यलाई लिएर आशंका गर्न थालिएको छ । भूगर्भबिदहरूले सुरूङ मार्ग निर्माणको मुख्य क्षेत्र पहिरोग्रस्त क्षेत्र भएकोले सुरूङको भविष्यमाथि चिन्ता ब्यक्त गर्न थालेका छन । कतै सुरुङ मार्ग हात्ती आयो फुस्सा हुने हो कि भन्ने चिन्ता बढेको छ ।
त्यसै त यो सुरूङ मार्ग निर्माणको समय चार बर्ष तोकिएको छ । त्यसमाथि यस्तै प्राकृतिक प्रकोपजन्य अवरोध आईरहेमा निर्माण कम्पनीलाई निर्माणमा ढिलाई गर्न बहाना बन्ने निश्चित छ । हामीले बुटवल नारायणगढ सडक खण्डको नियति देखिसकेका छौं । चार बर्षमा पूरा हुने सडक बन्न अझै चार बर्ष लाग्ने अवस्था छ । सरकारले निर्माण पक्ष चाईना स्टेट कन्सट्रक्सनलाई पटकपटक ताकेता गर्दा पनि सडक निर्माणले गति लिन सकिरहेको छैन । दुबै आयोजनाको निर्माण कम्पनी एउटै भएकोले कतै सिद्धबाबा सुरूङ मार्गको नियति पनि बुटवल नारायणघाट सडकै हुने हो कि भन्ने चिन्ता बढेको छ । यो सुरुङ मार्गले तराईलाई पहाड र हिमालसंग समेत जोड्ने भएकोले यसको निर्माणको कामलाई लिएर साझा चिन्ता गर्नु जरूरी छ । सवैको चासो र चिन्ता भयो भनेमात्र निर्माण कम्पनीलाई छिटो काम गर्न दवाव पर्नेछ । सुरूङ मार्ग निर्माणले यस क्षेत्रको सामाजिक र आर्थिक पक्षमा ठूलो प्रभाव पर्नेछ । तसर्थ निर्माणको काम सुरू भैसकेकोले साना बाधा र ब्यवधानलाई पञ्छाउँदै छिटो निर्माण सम्पन्न गर्ने दिशामा काम अघि बढोस् । चार बर्षभित्रै निर्माण सम्पन्न गर्ने बिषयमा नेपाल सरकारले समेत यो आयोजनाप्रति चासो दिनु जरूरी छ । जोखिम धेरै छन तर पनि सुरूङ मार्गको बिकल्प तत्काल नदेखिएकोले कम्तीमा यो आयोजना सफल भयो भने यसले यो क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनेछ ।