© २०२३
पछिल्लोसमय प्रधानमन्त्रीदेखि सरकारका मन्त्रीहरूले युवाहरूको बढ्दो विदेश पलायन रोक्ने भन्दै भाषण गरिरहेका छन । प्रधानमन्त्री र अर्थमन्त्रीको हरेक भाषणमा युवालाई विदेश जानबाट रोक्ने कुरा आईरहेको छ । भाषणमा युवा पलायन रोक्ने भनिएपछि सरकारले विदेश पलायन रोक्ने कसरी भन्ने बिषयमा ठोस कारण दिन सकेको छैन । सरकारले विना आधार युवा पलायन रोक्ने भनेर रोकिने अवस्था पनि छैन । किनभने हरेक युवाले आफ्नो जीवनमा काम, नाम र दामको आकांक्षा राखेका हुन्छन् ।
यही आकांक्षालाई पूरा गर्न पाखुरीको बल र मस्तिष्कको सिर्जनशीलतालाई उपयोग गर्दै जीवनमा सधैँ अगाडि बढ्न लालायित हुन्छन् । त्यसका लागि विदेशै जान तयार छन युवाहरू । त्यसै त नेपालमा राम्रो काम र दामको अभाव छ । नेपालमा रोजगारी दिन नसक्ने, अवसर सिर्जना नगर्ने अनि त्यत्तिकै विदेश पलायन रोक्ने भनेर रोकिने अवस्था पनि छैन । पछिल्लोसमय युवाहरू आफ्नो भविष्य खोजिरहेका छन । उनीहरूमा युगलाई परिवर्तन गर्न सक्ने तागत छ । राज्यले युवालक्षित नीति र कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा काम, नाम र दामका आकांक्षी लाखौँ युवा आज निराश छन् । उनीहरूको यो निराशा देशको राजनीति, समाज र अर्थतन्त्र सबैतिर प्रतिबिम्बित छ । मूलतः राजनीतिक दुराशयले देशको राजनीति विभाजित छ । देशका युवा राजनीतिको कित्ता–कित्तामा विभाजित छन् । राजनीति नै देशमा आर्थिक र सामाजिक परिवर्तनको मियो बनेको अवस्थामा युवाहरू राजनीतिमा जोडिन पुग्नु अस्वाभाविक होइन । तर, राजनीतिभित्रको दुराशयले युवालाई विभाजित मात्रै गरेको छैन, शोषण पनि उत्तिकै गरेको छ । युवालाई राजनीतिक दलको खेतालाको रूपमा मात्रै प्रयोग गरिएकाले उनीहरूको समय र ऊर्जा खेर गइरहेको छ । त्यसैले पनि धेरै युवालाई विदेश पलायन गराएको छ ।
आजको २१ औं शदीका युवालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्नु राज्यको दायित्व हो । यो दायित्वबाट राज्य निरन्तर चुक्दा युवामा राज्यप्रति नै निराशा र वितृष्णा बढेको छ । युवाको भावनामा पोखिने निराशा र वितृष्णाले देशको भविष्य नै अन्धकार हुन सक्ने संकेत गरिरहेको छ । राज्यले यो संकेतलाई बुझ्ने प्रयास समयमै गरेन भने राज्य युवाविहीन हुनेछ । राज्य वृद्धाश्रम बन्ने जोखिम छ । ऊर्जाशील एवं सिर्जनशील युवालाई विदेश पलायन हुन बाध्य पारेर वृद्धवृद्धा, महिला र बालबालिकाबाट मात्रै कस्तो समृद्धिको अपेक्षा गर्न सकिन्छ ? राज्य गम्भीर हुन जरुरी छ । राज्यका पदाधिकारी आफ्नो भूमिका निर्वाहमा गम्भीर नबन्दाको परिणाम हो– युवा पलायन । त्यसैपनि बर्तमान राजनीतिको दिशाबाट युवाजगत निराश छ । अवसरबाट वञ्चित युवा मनमा केही सपना बोकेर अवसरको खोजीमा बिदेसिएको यथार्थलाई हामीले भुल्नु हुँदैन ।
पछिल्लो तथ्याँक अनुसार देशको कुल जनसंख्यामध्ये युवाको संख्या ४२ प्रतिशत छ । जस अनुसार युवाको जनसंख्या एक करोडभन्दा बढी छ । तर, बिडम्वना भनौं झन्डै आधा संख्या अवसरको खोजीमा बिदेसिन बाध्य छन् । तिनै युवाले पठाएको रेमिट्यान्समा नेपाल अहिले समृद्धिको सपना देखिरहेको छ । युवाले पठाएको रेमिट्यान्सले उनीहरूको घरको चुलो मात्रै बलेको छैन, देशको अर्थतन्त्र पनि त्यसैमा टिकेको छ । यो जतिको विडम्बना के हुन सक्छ ! रेमिट्यान्स परनिर्भरताको परिचायक हो । रेमिट्यान्सले चलेको अर्थतन्त्र सुरक्षित हुन सक्दैन । यसतर्फ राज्यको गंभीर ध्यान जाओस् । अव सरकारको जिम्मेवारी के हुनुपर्दछ भने बाध्यताले बिदेसिएका र स्वदेशमै भएरपनि बरालिएका युवालाई सही मार्गमा डो¥याउने र राष्ट्रिय समृद्धिको अभियानमा परिचालन गर्नेतर्फ प्रयास हुनु जरूरी छ । राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका संवाहक मानिएका युवाले नेपालका हरेक राजनीतिक परिवर्तन, लोकतन्त्रको स्थापना र अन्य सामाजिक आन्दोलनहरूमा पनि महत्वपूर्ण योगदान गरेको इतिहास साक्षी छ । तसर्थ युवा विदेश पलायन भएकोमा चिन्ता गर्नुभन्दा सरकारले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ बाताबरण तयार गरोस् ।