© २०२३
नवलपरासी, १८ भदौ । जिल्ला सदरमुकाम परासी स्थित यातायात ब्यवस्था सेवा कार्यालयले गत आर्थिक बर्षमा यातायात सेवा सम्बन्धि सेवा प्रदान गरि १२ करोड बढि राजश्व संकलन गरेको छ । विगत बर्षमा भैरहवा र बुटवलबाट सेवा लिदै आएका नवलपरासीका बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने गरि लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याए पछि यातायात सेवासँगै सो राजश्व संकलन भएको कार्यालयले जानकारी गराएको हो ।
विभिन्न चार शीर्षकमा यातायात सेवा कार्यालयले गत आर्थिक बर्षमा कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजस्व संकलन भएको कार्यालय प्रमुख मुतिm प्रसाद पाण्डेयले जानकारी गराए । उनका अनुसार यातायात सेवा कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आमदनी,सवारी दर्ता किताब सम्बन्धि दस्तुर,सवारी साधन कर र आयकरमा राजश्व संकलन गर्दै आएको छ । जस्मा यातायात क्षेत्रको आम्दनी १५ लाख ५५ हजार ६५ रुपिया, सवारी दर्ता किताब सम्बन्धि दस्तुर १ करोड ७ लाख ९ हजार २ सय ५० रुपिया रहेको त्यसमा पनि (सवारी चालक अनुमतिपत्र नविकरणको रु ८ लाख २ हजार ५ सय रुपिया) रहेको छ । सवारी साधन कर मा सबै भन्दा बढि ११ करोड १४ लाख ९४ हजार ७५ रुपिया र आयकर ४८ लाख ४६ हजार ५ रुपिया गरि कुल १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया राजश्व संकलन भएको तथ्याँक छ ।
यातायात कार्यालयले गत बर्षमा सार्वजनिक तथा निजी सवारी साधन नबिकरण १७ हजार १ सय ९० वटा गरेको छ, भने जाँचपास नवीकरण ७ सय ९४, बाटो इजाजत नवीकरण १ सय ५३ वटा,अस्थाई बाटो इजाजत १ हजार ७ सय २४ र सवारी कारवाही (ओभरलोड बोकेको भारतिय सवारी) ७ सय ६५ वटा र सवारी चालक अनुमतिपत्रको नविकरण ३ सय ४८ वटा रहेको कार्यालय प्रमुख पाण्डेयले बताए । गत बर्षको अनुपातमा यो बर्षको एक महिनाको राजश्व समेत संकलन भएको बताउँदै उनले अहिले केही सेवा थप भएको हुदा राजश्व वृद्धि हुन सक्ने दाबी गरेका थिए । यातायात सेवा कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो,उनले भने,सेवा वापत लाग्न दस्तुरबाट राजश्व पनि संकलन गर्ने दोश्रो प्राथमिकता हो । अहिले राजश्व संकलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउने ब्यवस्था आउनु राहत पनि भएको छ ।
सेवा लिन बुटवल र भैरहवा सेवा लिन जानु पर्ने नागरिकको बाध्यता अहिले टरेको छ,उनले थपे,पहिला सवारी साधान नविकरणबाट सेवा शुरु भयो,तत्पश्चात सवारी चालक अनुमति पत्रको नविकरण शुरु भएको छ, यो बर्ष देखी मोटरसाईलक,स्कुटीको सवारी चालक अनुमति पत्र प्रदान गर्ने सेवा पनि यहिँबाट सुचारु भएको छ ।
चार पाँग्रे सवारीसाधन जस्मा हल्का सवारीसाधन र कृषकले चलाउने टेक्टर लगायतको सेवा यहिँबाट दिइने गरि पहल पनि भई रहेको भनाई कार्यालय प्रमुख पाण्डेयको थियो । चालु आर्थिक बर्षके साउन महिनामा पनि सवारीसाधनको स्थाई बाटो इजाजतपत्र (रुट) नवीरकण ५७ वटा, सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास १ सय ४१,अस्थाई बाटो इजाजतपत्र (पटके) सेवा ३ सय ७८ गरि कुल ५ सय ७६ वटा सवारीसाधन सम्बन्धि सेवा प्रदान गरिएको छ ।
साउन महिना भित्र सवारी साधन कर ९० लाख १५ हजार २ सय ८०, सवारी नविकरण ६ लाख २४ हजार ३ सय, सवारी चालक अनुमतिपत्र १० लाख ३० हजार,यातायात क्षेत्रको आम्दनी २ लाख ३३ हजार ९ सय ५० र आयकर २ लाख ३० हजार ६ सय गरि कुल १ करोड ११ लाख ३४ हजार १ सय ३० रुपिया राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस जिल्ला भित्र नै बजाज र होण्डा मोटरसाईलकको एसेम्बल हुने कारखाना रहेको छ । ति कारखानाबाट उत्पादन हुने मोटरसाईलकको नम्बर जारी गर्ने गरि ब्यवस्था यसै कार्यालयबाट गर्न सकियो भने राजश्व धेरै संकलन हुन सक्ने सम्भावना देखाउदै यहाँका जनप्रतिनिधि तथा सरोकारवालाले पहल गर्नु पर्ने समेत कार्यालय प्रमुख पाण्डेयले बताएका थिए ।