© २०२३
‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ । नेपालमा मानव बेचबिखनको अवस्था भयावह छ । यो दिवसकै सन्दर्भमा मानव बेचबिखन नियन्त्रण गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्नुपर्ने चुनौति छ । नेपालबाट अहिलेपनि मानव तस्करहरूले नेपाली सोझासिधा जनतालाई विश्वका विभिन्न मुलुकमा रोजगारीका नाममा विक्री गरिरहेका छन ।
यो भयावह अवस्था रोकिने भन्दा पनि झनै बढ्ने अवस्थामा छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनैपनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । यो अवस्था भनेको नेपालको लागि भयावह नै छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको विभिन्न समयमा गरिएका अनुसन्धान र घटनाक्रमले देखाएका छन । अहिलेपनि गरिबी, बेरोजगारी, अशिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । विकासशील राष्ट्रहरूमा मानव बेचबिखन घट्दै गएपनि दक्षिण एसिया लगायतका मुलुकमा यो अवस्था गंभीर चुनौतिको रूपमा देखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको बेचबिखन र ओसारपसार एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत हुन थालेको छ । मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ ।
नेपालमा बर्षौदेखि मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न सयौं गोष्ठी भएका छन । पाँचतारे होटलमा अन्तरक्रिया र छलफल भएका छन । त्यसका लागि राज्यको करोडौं रूपियाँ खर्च भएको छ । तर, त्यो खर्च बालुवामा पानी भएको छ । अर्थात जति गोष्ठी र छलफल गरेपनि मानव बेचबिखनको अवस्थामा सुधार आएको छैन । बरू झनै बढेको अवस्था छ । अर्कोतर्फ महिलामात्र होइन अहिले पुरूषपनि बेचबिखनको जोखिममा पर्दै गएका छन । यो चिन्ताजनक अवस्था हो । खासगरि वैदेशिक रोजगार दलालको प्रलोभनमा परेर भारतको विभिन्न बाटो हुँदै तेश्रो मुलुक पु¥याउने क्रम रोकिएको छैन । कैयौं नेपाली चेलीबेटीको उद्धार गरिएको कुरा सुन्नमा आउने गरेको छ ।
सरकारले खाडी मुलुकमा महिला कामदार पठाउन कडाई गर्दै आएको छ तर दलालहरूले बिकल्पमा अन्य धेरै सीमानाकाको प्रयोग गरेर तेस्रो मुलुकसम्मको पहुँच बढाएका छन् । कतिपय महिला भने खाडी मुलुकको प्रलोभनमा भारतीय कोठीमा पुग्ने गरेको कहालीलाग्दो चित्र छ । मानव बेचविखन सहित अन्य गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा निकाय र अन्य संघ संस्थाले निगरानी जारी राखे पनि दलालको चतु¥याइँ त्यो भन्दा धेरै माथि देखिन्छ, जुन चिन्ताजनक कुरा हो । मानव बेचबिखन नियन्त्रण तत्काल संभव छैन । यो समस्या नियन्त्रणमा सामूहिक प्रयासको आवश्यकता छ । नेपालको ९० प्रतिशत मानव बेचबिखनको समस्या नेपाल भारत सिमासंग जोडिएकोले नेपाल र भारतसंगको सहकार्यमा यो समस्या नियन्त्रणमा जोड दिनु जरूरी छ ।