© २०२३
यो बर्षको भारी बर्षाका कारण बुटवलको तिनाउ नदीमा आएको बाढीले खतराको सतह पार गरेको धेरैपटक भैसकेको छ । मंगलवार विहानपनि त्यहीक्रम दोहोरिएको छ । अर्थात तिनाउ नदीमा आएको बाढीले खतराको सतह त पार गरेको छ नै, स्थानीय नदी तटीय क्षेत्रको बस्ती जोखिममा परेको छ । मंगलवार विहानमात्रै तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल उपमहानगरपालिकाले तिनाउ नदीमा जलस्तरले खतराको सतह पार गरेकोले दाउरा खोज्ने तथा माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नदी किनारमा नजान अनुरोध गरेको छ । यो बर्ष तीनपटक तिनाउ नदीले खतराको सतह पार गरेको छ । कि पानी नै नआउने, आयो भने तिनाउ नदी किनारको बस्तीमा जोखिम निम्त्याउने गरि बाढी आउने अवस्था पटक पटक देखिएकोले अव यसको जोखिम न्यूनिकरणतर्फ ध्यान दिनेगरि दिर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ । बुटवल उपमहानगरपालिकाकाले मंगलबार बिहानैदेखि नदी किनारमा विपदको टोली र नगर प्रहरी खटाएर सावधानी अपनाएको छ । नदी किनार क्षेत्रमा नगर प्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान समेत गरिएको छ ।
मौसम विज्ञान विभागले होचा स्थानमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ । त्यसैपनि नेपालमा बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । वर्षायाममा तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरो जानु हाम्रो देशको लागि नियमित आकस्मिकता बनिसकेको छ । यो वर्ष पनि बाढीपहिरोले नोक्सान गर्न थालिसकेको छ । निरन्तरको वर्षासँगै मुख्य नदी र जलाधार क्षेत्रमा पानीको बहाव बढेको छ । पश्चिम तराईका अधिकांश नदी तटीय बस्ती उच्च जोखिममा छन् । पहाडी बस्तीहरूमा गएको पहिरोले निरन्तर जनधनको क्षति भइरहेको छ । प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ । प्राकृतिक प्रकोपले निम्त्याउने कतिपय समस्या दीर्घकालीनरूपमा समाधान गर्न सकिने भए पनि सरकार तथा सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन् ।
हरेक वर्ष दोहोरिने प्राकृतिक प्रकोपका समस्यालाई योजनाबद्ध तवरमा, दीर्घकालीन सोचका साथ क्रमिकरूपमा न्यूनीकरण गर्दै जानुपर्ने भएतापनि उक्त कार्यमा अपेक्षित प्रगति हुन नसकेको व्यवस्थापिका संसद्को विकास समितिले समेत निष्कर्ष निकालेको छ । बाढीपहिरो, डुबानजस्ता क्षति न्यूनीकरणका लागि जोखिमयुक्त बस्तीहरूलाई पूर्वसचेत गराउन सावधानीका सूचकहरू (एसएमएस प्रणाली, वार्निङ साइरनलगायतका सूचकहरू) को व्यवस्था मिलाई प्रयोग गर्न, प्राकृतिक प्रकोप व्यवस्थापन पद्धति अनुरूप आवश्यक पूर्वतयारी एवं पूर्व सावधानीसहितको कार्ययोजना तत्काल बनाउन, उद्धारलगायतका कार्यका लागि आवश्यक हेलिकोप्टर, डोजर, स्काभेटर, बेलिब्रिज, खाद्यसामग्री, औषधि लगायतका राहत सामग्री तथा उद्धारजन्य उपकरणहरू तयारी अवस्थामा राख्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् ।
प्राकृतिक प्रकोपवाट हुने क्षति न्यूनीकरणको लागि कुरा हैन काम गर्नु अपरिहार्य छ । यसका लागि फेरीपनि गाउँतहबाटै प्राकृतिक प्रकोप क्षति नियन्त्रणको योजना बनाउनु जरुरी छ । अहिले जसरी नदी तटीय क्षेत्रमा बाढीका कारण जोखिम बढेको छ, त्यसको दिर्घकालीन समाधानका लागि बर्षापछि हिउँदको समयमा जोखिम क्षेत्रलाई सुरक्षित बनाउन तटबन्ध लगायतका काममा सम्वन्धित निकायको ध्यान जानुपर्दछ । बर्षा आउँदा र जोखिम हुँदा सावधानीको कुरा गर्ने तर अरू बेला बिर्षने प्रवृत्तिमा सुधार गरि बर्षौदेखिको यो समस्या समाधानमा दिर्घकालीन योजनाको साथ काम होस् ।