© २०२३
बुटवल,१ साउन । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकसहित देशभरका २४ वटा बैंक तथा वित्तीय संस्थाले मात्र आस्वा सदस्यता नवीकरण गराएका छन्।
धितोपत्र खरिद (सार्वजनिक निस्कासन) सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका २४ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै आर्थिक वर्ष २०८०–८१ को लागी धितोपत्रको निस्काशन हुदाँको वखत लगानीकर्ताको दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अनुमतिपत्र नवीकरण गरिएको बोर्डले जनाएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको पहिलो र एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले हालै मात्र अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो भने गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको थियो ।
अब शाइन रेसुंगा सहित२४ वटा बैंक तथा वित्तीय संस्थाबाहेक अन्यबाट लगानीकर्ताहरूले आईपीओ भर्न नपाउने भएका छन्।
सदस्यता नवीकरण नगराएका बैंक तथा वित्तीय संस्थाबाट आईपीओसहित अन्य सार्वजनिक निस्काशनमा आवेदन दिन नमिल्ने भएको हो।
सार्वजनिक निस्काशनमा लगानीकर्ताको दरखास्त संकलन र सो सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष समाप्त हुनभन्दा १ महिना अघि नै नेपाल धितोपत्र बोर्डमा नवीकरणको लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ।