© २०२३
बुटवल, २८ असार खेल भनेपछि हुरुक्कै हुने बुटवलका दिलिप कुमार गुरुङलाई पुरानो पुस्ता धेरैले चिन्छन । धेरै खेल बिधामा हात हालेका उनले आफ्नो परिचय भने जिम्न्यास्टिकबाट बनाए । आम औसत नेपालीको उचाइँ ५ फिटका उनी फिटनेश र रनिङमा धेरै राम्रो थिए । बुटवलमै जन्म र कर्म थलो भएका उनी ८ देखि ९ वर्ष फुटबल खेले । विश्वभर नै फुटबलको चर्चा चुलिँदा रूपन्देही कम थिएन । फुटबलमा गर्ने प्रदर्शन कै कारण उनले साथीहरूबाट रोबट कार्लोस जस्ता उपनाम समेत पाए ।
बललाई खेलाउने र पास गर्ने उनको गजबको कला थियो । तिलोत्तमा गोल्डकपमा जनकपुर चुरोट कारखानाबाट खेल्न आउने खेलाडीसंग मिल्दो खेल खेलेको भन्दै उनलाई टोयोटा नाम पनि दिएको उनी सुनाउँछन । वडा कप, जिल्लास्तरका खेल खेलेका उनी एकाएक जिम्न्याष्टिकमा आकर्षित भए । फुटबल हँुदै उनी जिम्न्याष्टिकमा हानिए । हाटबजारमा अभ्यास गरेका खेलाडीहरू हेर्ने क्रममा आफू पनि राम्रो खेल प्रदर्शन गर्न सक्छु भन्ने आत्मविश्वासका साथ उनी यो खेलमा आवद्ध भए ।
तत्कालिन समयमा भिम बहादुर थापा गुरुङबाट उनले खेलमा कखरा सिकेका थिए । नभन्दै उनले खेलमा राम्रो गरे । बिस्तारै खेलमा रुचि बढ्दै गएपनि विभिन्न प्रकारका रोमन रिङ, होरिजेन्टल बार, प्यारालल बार, साइड हर्ष, म्याटमा उनी दक्ष भए । उनी आफ्नो समयमा नाम चलेका धर्मेन्द्र शाक्य, रूपेश थापा, कृष्ण थापा लगायत चर्चित खेलाडीलाई सम्झन्छन ।
उनि जिम्न्याप्टिकमा राष्ट्रिय खेलमा सहभागी भए । अन्य खेलाडीहरूको तुलनामा कम सेवसुविधामा पनि उत्कृष्ट प्रदर्शन भएको उनि सम्झन्छन । ‘खेल क्षेत्रमा जे पहिले थियो कुनै परिवर्तन आएको छैन,’— उनको गुनासो छ । आसेपासे र राजनीतिक पहुचके भरमा खेलाडी छनौट नेपाली खेलमा विकासको बाधक भएको उनि ठान्छन । युवा अवस्थामा खेलमा भविष्य खोजेका दिलिप अन्तत वैदेशिक रोजगारमा जान बाध्य भए । दुई पटक मलेसिया र एक पटक दुबई वैदेशिक रोजगार गए । विदेशमा रहदा पनि उनी खेल भने छाड्न सकेनन ।
करीब ९ वर्ष विदेश बसेका उनको परिवारमा एक जना छोरा र छोरी छन । अहिले पनि खेल हुने हरेक जसो ठाउमा पुग्ने गर्छन । खुुट्टामा चप्पल, टाउकामा क्याप टोपीमा हुने उनि खेल नशाको रूपमा मान्छन । चालक पेशा अपनाएर जिवन चलाएका छन । उमेरले ५२ वर्षमा लागेका उनि बुटवल पब्लिक स्कुलमा कार्यरत छन ।
उनि एक उदाहरण मात्र हुन, उनिजस्ता धेरै खेलाडी हराए । खेलमा भविष्य देखेका युवा उमेरमा खेलमा आवद्ध भए । उनिहरूलाई सहि गाईडलाईन, आवश्यक परामर्श र ठाउमा पहुच नहुदा केवल स्थानिय स्तरका प्रतियोगितामा खुम्चिनुपर्यो । खेल र खेलाडी ब्यवसायीक बनाउनेतर्फ सरकारको पहल नहुदा धेरै राष्ट्रिय अन्तराष्ट्रिय मंचमा देशको नाम चिनाएका खेलाडीहरू ओझेलमा परेका छन ।
रूपन्देहीमा लामोसमयदेखी महिला भलिबलमा खेलाडी उत्पादनमा योगदान दिदै आएका प्रशिक्षक अर्जुन घिमिरे केवल पदकै लागि संस्थाहरूमा हानथाप हुने गरेको दुखेसो गर्छन । अधिवेसन ताका पद प्राप्तीका लागि जुरमुराउनेहरू एक महिनामा बजारमा नभेटिने गरेको उनले बताए । खेलको विकासमा काम गर्ने नारा बोकेका अधिकाश संस्थाहरू आफन्तबाद र राजनीतिक दलदलमा फसेको उनको दुखेसो छ । हामी जस्ता खेलाडी र प्रशिक्षकलाई बुझने संस्थाको अभाव खड्किएको उनले बताए । ‘काम गर्ने वातावरण नै छैन ।’—उनले भने । नगर, जिल्ला, प्रदेशमा सामान्य आधार पनि तयार नगर्ने तर पदकको आशा बढी हुने गरेको उनको दुखेसो छ । प्रतियोगिता आयोजना गर्दा विश्वमा नै नभएको अचम्मका मापदण्डका बुदाहरू राखिने गरेको उनी बताउछन ।
जिल्लामा ३ दर्जन बढी खेल संस्था, काम भने शुन्य
असारको झरिले देशभरमा बितण्डा गएको छ । यस्तोमा खेलकुदसंग जोडिएका संस्थाहरूमा भने अधिवेसनको चटारो जारी छ । केन्द्रको चुनाव शुरु भएसंगै प्रदेश, जिल्ला गठन तिब्र भएका छन । स्थानिय स्तरबाट नै खेल नबुझेका र खेलका खेलाडी नै नभएका संघहरू दर्ता गर्ने काम शुरु भएको हो । केन्द्रमा प्रतिनिधि पठाउनका लागि अहिले संघ गठनको काम भएको खेलाडीहरूको गुनासो छ ।
रूपन्देहीमा पुर्वाधार नहुदा सम्भावना नै नभएका खेलहरू समेत दर्ता अघि बढेको छ । हक्की, घोडचढी, गल्फ, प्याराग्लाईडिङ, ट्राईथलन, सफाकाताक्रो, फेन्सिङ जस्ता खेलहरू दर्ताका लागि आएको रूपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि)ले बताए । नया खेल, पुर्वाधार नभएको र आर्थिक रूपमाबाट समेत भार हुने खेलहरू दर्ताको कुनै औचित्य नरहेको उनी बताउछन । खेलकुद क्षेत्रलाई आफन्तबाद र राजनीतिक पहुचका आधार बनाउदा खेलाडी उत्पादन हुन नसकेको उनले दुखेसो गरे । जिल्लामा दर्ता भएका खेल संस्थाहरूमा पनि क्रियाशिलताको संख्या न्युन रहेको उनि बताउछन । ‘अधिकाश आशन र भाषण ग्रहण गर्ने रूपमा पदका लागि संस्था दर्ता भएका छन ।’—उनले भने ।
रूपन्देही सोतोकान्त कराते, रूपन्देही जिल्ला लनटेनिस संघ, स्केटिङ तथा स्केटबोर्डिङ संघ, रूपन्देही ह्याण्डबल संघ, जापान गोजुरियो कराते डो मिशन संघ रूपन्देही, जापान गोजुरियो केनवाई कराते डो रूपन्देही, रूपन्देही सुटिङ संघ, सेपाकताक्रो रूपन्देही संघ, रूपन्देही बुद्धिचाल संघ, रूपन्देही स्नुकर संघ, रूपन्देही शारीरिक सुगठन तथा फिटनेश संघ, रूपन्देही कबड्डी संघ, रूपन्देही खोखो संघ, जिल्ला भलिबल संघ, जिल्ला टेबलटेनिस संघ, रूपन्देही साईक्लिङ संघ, जिल्ला क्रिकेट संघ, रूपन्देही बक्सिङ संघ, कालिका कराते डो, बादिरियो कराते संघ, तिलोत्तमा तेक्वान्दो एकेडेमी, फुलबारी गाईज, लखन ब्रदर्श युथ क्लब, बुद्धनगर क्लब छन ।
यसबाहेक पनि धेरै क्लबहरू नगरस्तरमा दर्ता भएका छन । जिल्लामा दर्ता भएकामध्ये धेरै कम संस्थाहरूको ब्यवस्थापकीय र नियमित कार्यक्रमहरू गरेको पाउछौ । एक तिहाई संस्थाहरू पनि ब्यस्थापनको पाटोमा अब्बल नरहेको समितिका अध्यक्ष भुपेन्द्र बहादुर थापा क्षेत्री (हरि) बताउँछन । समितिको समन्वयकारी भुमिका हुने भन्दै उनले अधिकाश संस्थाहरू नबिकरण र समन्वयका लागि नआउने गरेको दुखेसो गर्छन । बजेट चाहियो भन्ने माग लिएर आउनेमात्र धेरै हुने उनि बताउछन ।