© २०२३
बुटवल,४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितका मन्त्री र नेताहरु बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । टोलीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री प्रकाश ज्वाला, ताप्लेजुङका सांसद एवं एमाले नेता योगेश भट्टराई लगायतका नेताहरु रहेका छन् ।
आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानामन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले उद्दार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयमसेवी संघसंस्थामा अपील पनि गरे । प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबार बिहिनलाई तत्काल स्थानान्तरण र भोलिको आवासको लागि व्यवस्था मिलाउन आवश्यकता अनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।
प्रधानमन्त्री सहितको टोली आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।