© २०२३
गुल्मी, जेठ- प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गुल्मीले जिल्लाको मालिका गाउँपालिका ८ अन्र्तगत मर्भुङ्गमा सञ्चालन गरेको कफि कृषक पाठशालाबाट त्यहाँका कफी कृषकहरुमा थप उत्साहित बनेका छन । परियोजना मार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा पन्ध्र्र हप्तासम्म प्राङ्गारिक कफि कृषक पाठशाला सञ्चालन गरिएको थियो ।
पाठशाला शिक्षावाट कफी कृषकहरु आफुले रोपेको कफीका बोटहरुको रेखदेख र त्यसको निगरानी गर्दै आफ्नै कफी बगैंचामा कफीमा लाग्ने रोगको पहिचान गर्न सक्ने भएका छन ।
उनीहरुले भिन्न भिन्न समूह बनाएर बगैंचामै पुगेर कफिका बोटहरुमा देखिएका समस्याहरुको बारेमा आफै खोजी गर्न सक्ने बनेका छन । कृषक पाठशालामा उनीहरुले कफीमा लागेका रोग र किराहरुको बारेमा एक आपसमा छलफल गर्दै सिकाई प्रशिक्षणलाई प्रभावकारी बनाएका हुन ।
पन्ध्र हप्ते कृषक पाठशालामा प्रशिक्षण सम्पन्न गरेपछि त्यहाँका कृषकहरुले कृषक दिवश समेत मनाए । कृषक दिवशमा पाठशालामा सिकेका कुराहरुलाई स्थलगत रुपमा बगैंचामा पुगेर सिकाई अभ्यासमा आफुले गरेका र सिकेका विषयवस्तुको बारेमा जानकारी गराएका थिए । पाठशालामा कफी विज्ञहरुसँग प्रत्यक्ष रुपमा बगैंचाको अनुगमन गर्दै त्यहाँ देखिएका समस्याको बारेमा खुलेर जिज्ञासा राख्न पाउँदा आफुहरु पनि थप उत्साहीत बनेको सथानीय नमा सुनारले बताईन । ‘शुरु शुरुमा त कफीको बारेमा खासै जानकारी थिएन, तालिमपछि बल्ल कफीको बारेमा जान्ने मौका मिल्यो, उनले भनिन ।’
स्थानीय स्तरमै सञ्चालन गरिएको कृषक पाठशालाबाट सहभागिहरुले व्यवहारिक रुपमा धेरै ज्ञान हासिल गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई गुल्मीकी प्रमुख गंगा कुमारी पोख्रेलले बताईन । उनले पाठशालावाट कृषकहरुको दक्षता अभिवृद्धि गर्नुका अतिरिक्त आफ्नो कफी बगैंचामा देखिएका ससाना समस्याहरुलाई आफै पहिचान गर्न सक्ने बनेको बताईन ।
पछिल्लो समयमा जिल्लामा बाँदर, बँदेल, दुम्सी, मृग लगायत जङ्गली जनावरहरुले किसानहरुले खेतबारीमा लगाएका बालीनाली नष्ट गरि हैरानी दिन थालेपछि यस क्षेत्रका किसानहरुले वैकल्पीक रुपमा कफी खेती गर्न शुरु गरेका हुन ।