© २०२३
कोरोना संक्रमण समुदायमा देखिएपछि तिलोत्तमा नगरपालिका वडा नम्बर २ को भेटेनरी लाईन क्षेत्र शिल गरिएको छ ।
भेटेनरी लाइन बस्ने एकजना कोरोना संक्रमित महिलाको बिहीबार मृत्यु भएपछि नगरपालिका, प्रहरी र स्वास्थ्यकर्मीको टोलीले सो क्षेत्र दिउँसोदेखि शिल गरेको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार भएकोमा स्वास्थ्यमा थप समस्या देएिपछि भदौ १ गते अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृतकलाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको डा. थापाले बताए । तिलोत्तमामा कोरोना संक्रमणका कारण भएको मृत्यु यो पहिलो हो ।
उनको मृत्युसँगै कोरोना संक्रमण समुदायमा फैलिएको आशंकामा जानकीनगरको भेटेनरी लाइन क्षेत्र शिल गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले बताए । “सो टोलमा ५–७ जनामा नै संक्रमण देखिएपछि थप फैलिन नदिन बिहीबार दिउँसोदेखि शिल गरेका छौं, अव कन्ट्रयाक्ट ट्रेसिङका आधारमा संक्रमितहरुको पहिचानको काम अगाडि बढाउँछौं”–उनले भने ।