© २०२३
बुटवल, २४ वैशाख ।
देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेको सरोकारवालाहरुले औल्याएका छन् । आर्थिक अनुसन्धान केन्द्र नेपालको आयोजनामा वर्तमान आर्थिक सङ्कट तथा समाधान विषयमा भएको अन्तत्र्रिmया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रमको उदघाटन लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान सदस्य डा. दामोदर भुसालले गरेका थिए । कार्यक्रममा उनले वर्तमान समयमा देशमा उच्च तहको नेतृत्वमा राजनैतिक ईमानदारिता र नैतिकता हराउँदै जाँदा कर्मचारीहरुमा आफ्नो पदीय जिम्मेवारी वहन गर्ने ईच्छाशक्ति हराएकोले मुलुक आर्थिक रुपमा गम्भीर अवस्थामा पुगेकोले युवाहरुले आफ्नो अध्ययन तथा अनुसन्धानका कार्यहरुलाई राज्यका नीतिमा रहेका कमजोरी पत्ता लगाउनेतर्फ केन्द्रित हुनु पर्ने बताए । साथै अबको राजनैतिक नेतृत्व कुनै न कुनै प्रकारका उत्पादनमुलक कार्यमा लाग्नु पर्ने जसले गर्दा पछिल्लो समयमा बढेको बैदेशिक रोजगारीलाई न्यूनीकरण गरी समृद्ध मुलुक निर्माण गर्न सकिने उनले बताए ।
कार्यक्रममा बोल्दै प्राध्यापक डा. बावुराम ज्ञवालीले वर्तमान समयमा नेपाली अर्थतन्त्रमा आर्थिक संकटका संकेत देखा परिरहेका भएता पनि नेपाली अर्थतन्त्र दुई विशाल अर्थतन्त्रको बीचमा रहेकोले विश्वका अन्य अर्थतन्त्रमा जसरी आर्थिक समस्या नआउने बताएका थिए ।
नेपाली अर्थतन्त्रले छोटो समयमा आर्थिक समृद्धि प्राप्त गर्नका लागि देशको सक्रिय जनशक्तिलाई वैदेशिक रोजगारीबाट स्वदेशमा उत्पादनका गतिविधिमा जोडिनका लागि राज्यले नीतिगत रुपमा नै सम्बोधन गर्नु पर्नेमा जोड दिएका थिए ।
प्राध्यापक डा. रामचन्द्र आचार्यले नेपालीहरुले पटक पटक आफ्नो भविष्य बदल्नका लागि राजनैतिक व्यवस्था परिवर्तनका लागि आन्दोन गरेता पनि नेतृत्वले बदमासी गरिदिदा युवाहरु स्वदेशमा नै उत्पादन तथा कृषि, पर्यटनका कार्यमा जोडिन नसकेको बताउँदै अब युवाहरु आर्थिक तथा राजनैतिक क्रान्तिका लागि तयार रहनु पर्ने बताए । साथै वर्तमान संघीयताले नेपाली जनताको हित गर्न नसक्ने भएकोले यसको खारेजीका साथै संविधान संशोधन गरी राष्ट्रिय सभा र समानुपातिक प्रणाली अन्त्य गर्नु पर्ने बताए ।
सह प्राध्यापक डा. खगराज शर्माले राज्यले आफ्ना दैनिक गतिविधिमा सुशासन, जवाफदेहीता, नैतिकता र विश्वसनियता प्रदान गर्न नसक्दा वर्तमान समयमा अध्ययनको नाममा पुँजी पलनयन भईरहेको र यस्तै अवस्थामा रहिरहेमा देशले सामान्य कार्य पनि गर्न नसक्ने बताए । कार्यक्रममा बोल्दै डा. उमेश न्यौपाने समाजमा रहेका बौद्धिक व्यक्तित्वहरुले वर्तमान समयमा फैलिईरहेको संघीयता प्रतिको नकारात्मक टिप्पणीलाई चिर्दै यसबाट प्राप्त हुने उपलब्धिका बारेमा आम नागरिकहरुलाई सचेत बनाउनु पर्ने जिम्मेवारी सबैको रहेको बताए । यसैगरी युवा विश्लेषक रामचन्द्र श्रेष्ठले वर्तमान समयमा देश साच्चिकै आर्थिक संकटमा परेको छ वा पारिएको छ भन्ने बुझ्न जरुरी रहेको बताउदै मुलुकबाट शैक्षिक जनशक्ति विदेशीने कार्यलाई अबिलम्ब रोक्नु पर्नेमा जोड दिएका थिए ।
उद्योगी बावुराम बोहोराले वर्तमान समयमा नेपाली समाजले उद्योग व्यवसाय सञ्चालन गरी स्वदेशमा उद्यम गर्नेलाई भन्दा विदेशमा गएर समुन्द्रको छेउँमा फोटो खिच्नेलाई सम्मान गर्ने तथा बैंक तथा वितिय सस्थाले उद्यमीलाई भन्दा ज्यादा महत्व जग्गा दलाललाई दिएकोले वर्तमान समयमा देश आर्थिक संकटमा पुगेको बताए ।
त्यसैगरी ग्लोबल आवाजका प्रधान सम्पादक गौतम भुसालले देशमा नयाँ लगानीकर्ता आउने अवस्था नभएको र स्थापित व्यवसायीहरु पनि विदेश पलायन हुँदै जाँदा सञ्चार क्षेत्र मर्कामा परिरहेको यसमा पनि झोलामा खोलिएका अनलाईनहरुलाई नियामक निकायले अनुगमन नगरिदिदा व्यावसायिक अनलाईनहरु समस्यामा परेको बताए । कार्यक्रममा समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरे, लेखक संघका अध्यक्ष लिलाधर पाण्डे, शिक्षक मोहन भट्टराई, प्रेम परियार, सस्थाका अध्यक्ष हुमराज भुसाल, उपाध्यक्ष प्रशान्त रावल, सचिव राजेन्द्र भुसाल लगायतले मनतव्य व्यक्त गरेका थिए । सो अवसरमा सस्थाले प्रकाशन गरेको अर्थ — अन्वेषण स्मारिकाको समेत विमोचन गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशको आर्थिक अवस्थाका बारेमा भोजराज पंगेनीले प्रस्तुतीकरण गरेका थिए ।