© २०२३
रुपन्देहीको ओम सतिया गाउँपालिकाको आर्थिक वर्ष ०७७।७८ को नीति तथा कार्यक्रम पारित भएको छ ।
गाउँपालिका क्षेत्र भित्रको कृषि योग्य जमिनको पहिचान गरि नमुना ब्यावसायीक खेतीको रुपमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरि आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
गाउँ गाउँमा सहकारी घर घरमा स्वरोजगारी मुल नाराका साथ स्थानिय क्षेत्रमा गठन भएका सहकारी संस्थाहरुको क्षमता विकास गर्नुका साथै विकासमा सहकारीसंगको साझेदारी सहकार्यमा जोड दिइने पालिकाका अध्यक्ष हिरा केवट राहुलले बताए ।
अर्गानिक तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने, स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग गरि स्थानीय गाउँबासीले रोजगारी पाउने खालका योजना तथा कार्यक्रमहरु प्राथमिकता दिइने तथा कृषि बिउहरु उत्पादन गर्ने ब्यवस्था मिलाइने नीति तथा कार्यक्रम पालिकाले पारित गरेको छ ।
कृषि परियोजनाको लागि फर्म दर्ता गरि जग्गा भाडामा लिएको कृषि फर्मलाई प्रति कठ्ठा ३ हजार ५ सय को ५० प्रतिशतले हुन आउने रकम अनुदानको रुपमा उपलब्ध गराउने ब्यवस्था मिलाउने,कृषक तथा कृषिजन्य ब्यवसायीक खेती गर्नेलाई बिउ तथा बिरुवा बितरणमा ५० प्रतिशत र ७५ प्रतिशत अनुदानका कार्यक्रम ल्याइने पालिकाले नीति लिएको अध्यक्ष केवटले बताए ।
ओम सतिया गाउँपालिकाले पालिका अन्तर्गतका सामुदायिक विद्यालयलाई पूर्णरुपमा अंग्रेजी माध्यमबाट सञ्चालन गरिने नीति लिएको छ । कार्यान्वयनमा ल्याउनको लागि पालिका स्तरबाट शिक्षा राखि ब्यवस्थीत गरिने, माध्यमिक विद्यालय (११–१२) दिवा सत्रमा सञ्चालन अनिबार्य ल्याइने सञ्चालन भएका सामुदायीक विद्यालयलाई न्युनतम अनुदानमा समानता कायम गरिने विद्यार्थी संख्याको आधारमा अनुदान रकम उपलब्ध गराइने नीति लिएको ओम सतिया गाउँपालिकाका प्रबक्ता शिव कुमार धवलले बताए ।
छोरा वा छोरी दुवै बराबरी भन्ने मुल नारालाई सार्थक बनाउनको निम्ती गरिएको छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिइने, ५ कक्षा सम्म अध्ययन गर्ने सम्पूर्ण बालबालीकालाई दिवा खाजाको ब्यवस्था गरिने पालिकाले नीति लिएको छ । सामुदायीक विद्यालयलाई भूगोल र विद्यार्थी संख्याको आधारमा मर्ज गरिने नीति लिइने साथै जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने मुल नाराका साथ दरबन्दी मिलान कार्यक्रम गरिने पालिकाको नीति रहेको छ ।
जेष्ठ नागरिकहरु दीर्घ रोगी, मधुमेह, क्यान्सर, दम तथा उच्च रक्तचाप जस्ता रोगीहरुले नियमित प्रयोग गर्ने औषधिहरु निशुल्करुपमा बितरण गरिने, गरिब, बिपन्न परिवार, दलित,द्धन्द्ध पिडीत ब्यक्ति लक्षित उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिने, अतिबिपन्न परिवारको खर तथा फुसको छानो भएको छानोलाई प्रतिस्थापन गरि जस्ता पाता बितरण गरिने पालिकाले नीति लिएको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले बताए ।
कोरोना भाइरस (कोभिड १९) प्रकोपलाई न्युनिकरण गर्न संघिय सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई पूर्णरुपमा कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्रमा उल्लेखिय बजेट बिनियोजन गरिने पौडेलले बताए । चुनौतिपूर्ण घडिमा दलित बर्ग माथि भइरहेको हत्या, हिंसा,बलात्कार जस्ता जघन्य अपराध एवं भेदभाव कार्यलाई मुक्त गर्न पालिकाले दलित जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने पालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
सुत्केरी हुने महिलालाई स्वास्थ्य पोषण युक्त सन्तुलित आहारको लागि थप १ हजारका दरले पोषण भत्ता उपलब्ध गराइने जसका लागि नेपाल सरकार स्वास्थ्य बिभागले निर्माण गरेको मापदण्ड पुरा भएको हुनुपर्ने पालिकाको नीति रहेको छ ।
वार्षिकरुपमा ब्यवसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन ब्यवसाय कर तिरौँ विकास कार्यमा सरिक हौँ भन्ने नाराका साथ वडा समिति र टोल विकास संस्थाहरुलाई अभिमुखिकरण सहित सशक्त बनाई परिचालन गर्ने नीति लिइएको गाउँपालिकाका प्रबक्ता शिव कुमार धवलले बताए ।
पालिका प्रबिधि मैत्रि गाउँपालिकाकोरुपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रुपमा विकास गरिने नीति लिइने पालिकाले नीति तथा कार्यक्रम पारित गरेको प्रबक्ता धवलले बताए । सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ एवं प्रदेश सार्वजनिक खरिद नियमावली २०७६ बमोजिम खरिद प्रक्रियालाई एकद्धार प्रणाली अपनाई सार्वजनिक खर्चमा मितब्ययीता अपनाइने पालिकाले नीति लिएको पालिकाका प्रबक्ता शिव कुमार धवलले बताए