© २०२३
खानेपानीका लागी ठूलो कष्ट झेलिरहेका सदरमुकाम तानसेन बासीले आर्थिक वर्षको अन्त्यसम्ममा खानेपानीको समस्याबाट मुक्त हुने भएका छन् । कालीगण्डकी तानसेन (वृहत पम्पीङ) खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि तानसेनमा खानेपानीको समस्या हट्ने भएको हो । १५ महिनामा सम्पन्न गर्ने गरि २०७४ सालको जेठमा ठेक्का सम्झौता भएको आयोजना प्राविधिक कारणले मंसिरमा सम्पन्न हुन सकेको थिएन ।
तानसेन नगरवासीलाई आवश्यकता अनुरुप खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित योजनाको हालसम्म ७२ प्रतिशत कार्य पुरा भएको र यसै आर्थीक वर्षमा योजना सम्पन्न हुने योजनाका प्राविधिक उत्सव पोखरेलले बताए । उनका अनुसार २५ करोड ३० लाख रुपैयाको लागतमा तानसेन देखि ११ किलोमिटर टाढाबाट ६ वटा स्टेशनमा ५ वटा लिफ्टीङबाट पानी ल्याउने तैयारी भएको छ । हालसम्म विद्युत लाइन विस्तारको काम ९५ प्रतिशत , मुख्य पाइप लाइन विस्तार ८० प्रतिशत, र सिविल संरचना निर्माणका कार्य ८० प्रतिशत सम्पन्न भएको प्राविधिक तथा आयोजनाका सुचना अधिकारी पोखरेलले बताए ।
योजना समयमै सम्पन्न गर्ने गरि निर्माण व्यवसायीले काम गरेपनि विचमा कुन कार्यालय बाट रेखदेख गर्ने कार्यालय कहाँ रहने भन्ने विषय र कर्मचारी समायोजनको अन्योलका कारण काममा ढिलाइ भएको उनले स्वीकार गरे ।
तानसेन खानेपानीको व्यवस्थापन पाल्पा गौडाका प्रमुख तथा तात्कालीन वडा हाकीम प्रताप शमशेरले तानसेन भन्दा सात कि.मी टाढा बाझांबाट पानी ल्याएको नगरका स्थानिय बासिन्दा राजेन्द्र गोपाल सिंहले बताए । झण्डै ८९ वर्ष इतिहास बोकेको तानसेनको पहिलो आयोजना र यो पुस्ताको अन्तिमै जस्तो योजना सम्पन्न हुदा तानसेनको विकासमा थप एक इट्टा थपिने उनले बताए ।
तानसेन खानेपानी उपभोक्ता समितीका अध्यक्ष चकोरमान शाक्यका अनुसार यस योजनाबाट २० वर्षका सम्मका लागी पर्याप्त मात्रामा खानेपानीको आपूर्ति हुनेछ । हाल तानसेन–१३ रानीमहल नजिक ठूलो सम्पलकबाट प्रति सेकेण्ड २० देखि २५ लिटर पानी बजारमा भित्रिने छ ।
यतिखेर नगरका ढुंगेधारा , ४१ वर्ष .अगाडी जापानी विद्यार्थीको सहयोगमा भूल्केबाट लिफ्टीङ्ग गरिएको पानी प्रति सेकेण्ड ८ लिटर दैनिक ७ लाख लिटर र स्थानिय बासिन्दा नेपाल सरकार बाट सञ्चालित सिक्ने मूलबाट प्रति सेकेण्ड डेढ लिटर दैनिक १ लाख ३० हजार लिटर संकलित पानी वितरण गरिदै आएकोमा अव यस आयोजना सम्पन्न भए पश्च्यात २० वर्ष सम्म का लागी प्रर्याप्त मात्रामा खानेपानी व्यवस्थापन हुने उपभोक्ता समितीले जनाएको छ ।
नेपाल अधिराज्यमै सबै भन्दा महङ्गो खानेपानीको उपभोग गरिरहेका नगरबासी यस योजना वौघा पोखराथोक सम्म लिफ्टीङ्ग का लागी र त्यसबाट ग्रामिटी माध्यमबाट पानी ल्याइने छ । त्यसका लागी टंकी निर्माणको कार्य सम्पन्न भइसकेको छ । तानसेनमा यस योजनाबाट दैनिक २० लाख लिटर पानी भित्रिने बताइएको छ ।
यस योजनाका लागी ३३ के.भि विद्युत लाइनको काम पनि करिव सकिन लागेको र तानसेनमा ठाउँ ठाउँमा टंकीको निर्माणका कार्यपनि पुरा भएको छ । तानसेनमा प्रयाप्त मात्रामा खानेपानीको व्यवस्थापन हुन नसक्दा दैनिक रुपमा ठूलो परिणाममा ट्याङ्करबाट ढुवानी गरि पानीको व्यवस्थापन गरिदै आएको छ ।
यो योजना सम्पन्न भएपछि सर्वसाधरणदेखि होटल व्यवसायीसम्मका लागी राहतको महसुस हुनेछ । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ भन्दछन् । तानसेनको पर्यटन पर्यटन विकासमा थप सहयोग पुग्नेछ । तानसेनको विकासका लागी ढोका खोलीने उनले बताए ।