© २०२३
राप्तीकै सबैभन्दा ठूलो शक्तिपिठ सल्यानको खैरावाङमा पाटेश्वरी भगवतीको नयाँ प्रतिमा (मूर्ति) प्रतिस्थापन गरिएको छ । एक थान भगवतिको मुर्ती र २ थान बाघका मूर्तिहरू प्रतिस्थापन गरिएको खैरावाङ भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छवि कुमार शर्माले जानकारी गराए ।
शारदा नगरपालिका सल्यानका मेयर शुरेश अधिकारिले बुधबार पुजाअर्चना सहित प्रतिमा प्रतिस्थापन गरेका हुन् । शारदा नगर पालिका १ स्थित श्रीनगर बजारबाट बाजागाजा र झाँकी सहित प्रतिमा लाई शोभा यात्रा गराइ मन्दिरमा लगिएको थियो ।
जिल्ला भित्र र बाहिर हिन्दु आस्थाको केन्द्रको रूपमा रहेको मन्दिर लाई व्यवस्थापन गर्ने काम चलिरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा रहेका अमुल्य वस्तुहरू २ दशक अघि हराएका थिए । शारदा नगर पालिकाको प्रत्यक्ष निगरानिमा हाल नया व्यवस्थापन समितिको गठन गरि मन्दिर लाई धार्मिक पर्यटनको प्रमुख रोजाइ बनाउने प्रयास भइरहेको समितीले जनाएको छ ।
सो अवसरमा बोल्दै नगरप्रमुख अधिकारिले प्राकृतिक दृष्टिकोणले रमणीयस्थल खैरावाङको विकासका लागी सबैको साथको अपेक्षा गरे । कार्यक्रममा शारदा नगरकी उपप्रमुख सावित्रा वस्नेत, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, शारदा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपक हमाल, ४ का अध्यक्ष सुधन विष्ट, ५ का अध्यक्ष प्रदिप शाही, ९ का अध्यक्ष चक्र बहादुर घर्ती, १० का अध्यक्ष रेशम बुढाथोकी र ११ का राम सिंह बुढाथोकी लगाएतकाले बोल्दै पर्यटकीय क्षेत्रको प्रचारमा सबैको ध्यान पुग्नुपर्ने बताएका थिए ।
सदरमुकाम खलंगाबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर साविकको हिवल्चा गा.बि.स.र हाल शारदा नगरपालिकामा पर्छ । खैरावाङको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने, आपत, बिपतको बेलामा भाकल गर्दा भगवतीले सबै माग पूरा गरिदिने विश्वास भक्तहरूले गर्दछन् ।
खैरावाङमा नित्य पूजा बाहेक विशेष पर्वहरूमा सल्यान बाहेक छिमेकी जिल्लाहरू दाङ, रुकुम, रोल्पा, जाजरकोट, बाके, बर्दिया, सुर्खेत र अन्य स्थानबाट पनि पूजा र भाकल चढाउन मानिसहरू आउने गर्दछन् । विजया दशमीको समयमा खैरावाङमा ठूलो मेला लाग्ने गर्दछ ।