© २०२३
रुकुम पूर्वका सबै तहमा नेकपाको पार्टी एकीकरण टुंगिएको छ । पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच पार्टी एकीकरणका लागि बनेको कार्यदलले पदीय बाँडफाँड सहित एकीकरण प्रक्रियालाई टुंग्याएको हो ।
जिल्ला तहको एकीकरणका लागि केन्द्र स्तरको कार्यदल र स्थानीय तहको एकीकरणका लागि प्रदेश स्तरको कार्यदल बनाइएको थियो ।
कार्यदलले टुंग्याए अनुसार एकसय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व माओवादी केन्द्रबाट ८१ पूर्व एमालेबाट ५४ सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व माओवादीको तर्फबाट होमप्रसाद श्रेष्ठ र सचिवमा पूर्व एमालेको तर्फबाट सतमान पुनलाई सिफारिस गरि पठाएको बताइएको छ । त्यस्तै तीनवटा स्थानीय तह रहेको यस जिल्लामा पूर्व माओवादीलाई दुई र पूर्व एमालेलाई एक स्थानीय तहमा नेतृत्वको बाँडफाँड गरिएको छ । अध्यक्ष र सचिव फरक–फरक समूहले पाउने भएका छन् ।
गाउँपालिका र भूमे गाउँपालिकाको नेतृत्व गर्नेछ भने पूर्व एमालेले सिस्ने गाउँपालिकाको नेतृत्व पाउने भएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा सरुल पुन (अजय शक्ति) अध्यक्ष र कुलबहादुर ओली सचिव तोकिएको छन् भने भूमे गाउँपालिकामा जनक बुढा (कमल) अध्यक्ष र दलबहादुर विक सचिव रहेका छन् । त्यस्तै सिस्ने गाउँपालिकामा महेन्द्र केसी (जुनकिरी) अध्यक्ष र मधुरजंग खड्का सचिवको जिम्मेवारी तोकेर प्रदेशमा सिफारिस गरिएको नेकपा प्रदेश नम्बर ५ का सदस्य टोपबहादुर ओलीले जानकारी दिए । उनका अनुसार ७५ सदस्यीय सबै पालिका स्तरीय कमिटीमा पूर्वमाओवादीको तर्फबाट ४५ र पूर्व एमालेको तर्फबाट ३० जना सदस्यहरू रहेका छन् । प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र स्तरीय कमिटीको नेतृत्वमा भने एकएक वटा बाँडफाँड गर्ने बताइएको छ ।
३१ वडा रहेको यस जिल्लामा २० पूर्व माओवादी केन्द्र र ११ पूर्व एमालेले पाउने गरी सहमति गरिएको छ । त्यहाँ पनि अध्यक्ष र सचिव फरक धारले पाउनेगरी सहमति भएको र व्यक्ति तोक्ने काम पनि छिट्टै हुने बताइएको छ । कार्यदलले टुंग्याएको यी नामावलीहरूलाई केन्द्र र प्रदेशले अनुमोदन गर्ने बित्तिकै कार्यान्वयनमा जाने केन्द्रीय सदस्य खेममान खड्काले बताए । जिल्लाको अध्यक्ष र सचिवको अन्तिम टुंगो केन्द्रीय सचिवालयले लगाउने भएकोले यस विषयमा आफूले बोल्न नमिल्ने उनको भनाइ छ । राज्य पुनर्संरचनाको क्रममा साविक रुकुमलाई दुईभागमा विभाजन गर्दा यस क्षेत्रमा ठूलो भूगोल भएपनि जनसंख्या थोरै हुँदा रुकुम पूर्व तीन स्थानीय तहको मात्रै नयाँ जिल्ला बनेको थियो ।