© २०२३
कपिलवस्तु जिल्लामा गत आर्थिक बर्ष २०७४÷७५ को अबधीमा राजश्व आम्दानी करिब दुई गुणाले बृद्धि भएको छ भने पुजीगत खर्च भने घटेको भेटिएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको तथ्याङ्कले गत आवमा जिल्लाको राजश्व आम्दानी ७ अर्ब, ८५ करोड, ८ लाख ७३ हजार २ सय ५२ भएको देखिएको छ । राजश्व आम्दानीमा अघिल्लो आवको तुलनामा १ सय ८९ प्रतिशतले बृद्धि भएको भेटिएको छ ।
अघिल्लो आव २०७३÷७४ मा जिल्लाको आजश्व आम्दानी ४ अर्ब, १५ करोड, २१ लाख ७८ हजार १ सय ९५ रुपैया रहेको थियो । चालु आवमा राजश्व आम्दानी तर्फ राष्ट्रिय बाणिज्य बैङ्कमा ८४ करोड ११ लाख ४४ हजार ९ सय ९४, नेपाल बैङ्क कृष्णनगरमा ६ अर्ब ९६ करोड ९२ लाख ६८ हजार ५ सय ९४ र नेपाल बैङ्क चन्द्रौटामा ४ करोड ४ लाख ५९ हजार ६ सय ६३ जम्मा भएको छ । जिल्लाको बजेट खर्च तर्फको अवस्था हेर्दा गत आवमा चालु खर्च तर्फको कुल बार्षिक बजेट रु ७ अर्ब ७३ करोड३० लाख ८० हजार ६ सय ७९ को ९६ प्रतिशत ७ अर्ब ४० करोड ३१ लाख १८ हजार २ सय ७ रुपैया खर्च भएको छ । अघिल्लो आवको तुलनमामा चालु खर्चमा ४ प्रतिशतले बृद्धि भएको छ । त्यसै गरि पुजीगत खर्च तर्फको बार्षिक बजेट २ अर्ब ४१ करोड ६८ लाख २६ हजार ५ सयको ८९ प्रतिशत अर्थात २ अर्ब १४ करोड ४७ लाख ५ सय ७० खर्च भएको छ । पुजीगत खर्च तर्फ भने अघिल्लो आवको तुलनामा २ प्रतिशतले कम खर्च भएको भटिएको छ । चालु आबमा कुल बार्षिक बजेट १० अर्ब १४ करोड ९९ लाख ७ हजार १ सय ७९ को ९४ प्रतिशत अर्थात ९ अर्ब ५४ करोड ३१ लाख ६५ हजार ७ सय ७८ रुपैया खर्च भएको छ । जिल्लाको कुल खर्च भने अघिल्लो आवको तुलनामा २ प्रतिशतले बृद्धि भएको छ । गत आवमा पुजीगत खर्च कम हुनुको मुख्य कारणमा अघिल्लो बर्ष जिल्ला बिकास समिती हुदाँ पुजीगत खर्चको अख्तियारी रहेकाले पुजीगत खर्च बढि रहनु, हाल जिल्ला समन्वय समितीलाई पुजीगत खर्चका लागी अख्तियारी नआउनु, गत आवकै अबधीमा निर्वाचन र नयाँ संरचना निर्माण लगायतका कारण मुख्य देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका कोष नियन्त्रक पुन्य प्रसाद पन्थीले जानकारी दिए ।