© २०२३
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड बुटवलमा कार्यरत मजदूरहरू आन्दोलित भएका छन् । तलब वृद्धि गर्न माग गर्दै गत शुक्रबार देखि उनीहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग सम्बोधन गर्न व्यवस्थापक र सञ्चालक समितिलाई आग्रह गर्दा कुनै चासो नदिएको भन्दै कर्मचारीहरूले सात बुँदे माग राख्दै हड्ताल गरेका छन् । हड्तालका कारण विगत ६ दिन देखि कम्पनीको सम्पूर्ण काम पूर्ण रूपमा ठप्प छ । (
मजदूरहरूले अहिले पाईरहेको तलबका आधारमा ५ हजार र मंहगी भत्ता ३५ सय गरी ८ हजार पाँच सय वृद्धि गरिनुपर्ने, कम्पनीले उपलब्ध गराएका अन्य भत्ताहरु शतप्रतिशत वृद्धि हुनुपर्ने, कम्पनी भित्र क्यान्टिनको व्यवस्था हुनु पर्ने, जोखिम भत्ता, सम्पूर्ण कर्मचारीहरुलाई कम्पनीमा शेयर सहुलियत दरमा उपलब्ध गराउनु पर्ने र ड्रेसको व्यवस्था गरिनुपर्ने भन्दै संघर्षमा उत्रिएका छन् ।
बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गर्दे अखिल नेपाल औद्योगिक मजदुर यूनियन नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेडका अध्यक्ष भुवन गिरीले २०७३ सालदेखि तलब वृद्धि भएको नभएको भन्दै आफुहरुले राखेका मागलाई दबाउन प्रशासन लागि परेको आरोप लगाए ।
उनले आफूहरुले कम्पनी जोगाउनका लागि कहिले आधा तलब खाएको भन्दै आउँदा दिनमा पनि त्यस्तो अवस्था आए आफुहरु खुशी साथ स्वीकार गर्ने तर अहिले कम्पनी नाफामा रहँदा आफूहरुले महङ्गीलाई मध्यनजर गर्न अनुरोध गर्दा वास्ता नगर्नु दुःखद भएको बताए । नेपाल हाइड्रोमा १ सय ७८ मजदूरहरू कार्यरत छन् । कम्पनीको प्रमुख व्यवस्थापक राजेश अग्रवालले कामदार प्रति कुनै सदभाव नदेखाएको मजदूरहरूको आरोप छ । समग्र उद्योग ट्रेड युनियन नेपाल नेपाल हाइड्रो इलेक्ट्रिक लिमिटेड अमितबहादुर आचार्यले माग पूरा नभएसम्म आफूहरूकाममा नर्फन बताए । २०४२ सालमा स्थापना भएको कम्पनीले नेपालकै ठूला कालीगण्डकी जलविद्युत आयोजना, तिनाउ पावर कम्पनी, चमेलिया विद्युत आयोजनका काम गरिसकेको छ । कम्पनीले बार्षिक दुई अर्बको काम गर्दै आएको छ ।