© २०२३
देश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सवहरू स्थानीय उत्पादनसँग जोडिन नसकेको बताएका छन् ।
स्थानीय उत्पादन मेला तथा महोत्सवहरूसँग जोडिन नसक्दा मेला महोत्सवबाट ठूलो रकम बाहिर जाने गरेको उनले बताए ।
रूपन्देहीको तिलोत्तमा उद्योग व्यापार संगठनले बिहीबारदेखि रूपन्देहीको मणिग्राममा सुरु गरेको औद्योगिक व्यापार मेला, कृषि एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
“मेला महोत्सवहरू आयआर्जनका दृष्टिले सफल देखिएका छैनन्, जति रकम उद्योगी व्यवसायीले आम्दानी गर्छन्, खर्चका नाममा त्यो भन्दा धेरै रकम बाहिर जाने गरेको छ”–उनले भने ।
महोत्सवहरूमा स्थानीय उत्पादनहरूलाई प्रवद्र्धन गर्ने भनिएपनि त्यो व्यवहारमा नदेखिएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश पाँचमा पनि थुप्रै प्रकारका घरेलु उद्योगहरू रहेका तर ती उद्योगहरू मेला महोत्सवसँग जोडिन नसकेको बताए ।
मेला महोत्सवहरूबाट स्थानीय उत्पादनको प्रवद्र्धन नभएपनि प्रदेश सरकारले भने यसतर्फ आवश्यक योजना बनाइरहेको उनले जानकारी दिनुभयो । सहरीकरण बढ्दै गएपनि सहर छेउँछाउँका कृषकहरूका उत्पादन अझैपनि निर्वाहमुखी र परम्परागत रहेको भन्दै उनले व्यावसायिक खेतीपातीमा प्रवेश नगरेसम्म कृषिजन्य वस्तुको आयात नरोकिने बताए ।
व्यापारबाट गरेको आम्दानीलाई कृषिको व्यवसायीकरणमा खर्च गर्न उनले व्यवसायीहरूलाई सुझाव दिए । महोत्सवलाई मान्छेको भीड जम्मा गर्ने माध्यम नबनाउन आग्रह गर्दै उनले स्थानीय उत्पादनको बजारीकरणमा गम्भीर बन्न आग्रह गरे । “मेलामा सामाजिक गतिविधिमा खलल पुग्ने गतिविधि अव प्रदेश सरकारले हुन दिंदैन, त्यस्तो गर्न खोज्ने व्यावसायिक प्रतिष्ठानलाई मेला महोत्सव सञ्चालनको अनुमति दिइँदैन”–उनले भने ।
मुख्यमन्त्री पोखरेलले अब मुलुक विकास र प्रगतिको पथबाट पछाडि फर्कन नसक्ने बताए । मुलुकको अर्थतन्त्र सही बाटोमा जाँदा पनि जनतालाई निराशा र भ्रम छर्ने काम भैरहेको भन्दै उनले जनतालाई हतोत्साहित पार्ने काम नगर्न आग्रह गरे । प्रदेश सरकारले यो प्रदेशको विकासको अवधारणा तयार गरिसकेको उनले जानकारी दिए ।
कृषि क्षेत्रलाई प्रदेश विकासको पहिलो प्राथमिकतामा राखिएको र कृषि वन र खनिजलाई दोस्रो प्राथमिकतामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले औद्योगिक कोरिडोर र पर्यटकीय विकास पनि प्रदेशको मुख्य प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले मेला महोत्सवहरूले औद्योगिक विकासका लागि टेवा पु¥याउनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेसम्म मुलुक आर्थिक रूपले आत्मनिर्भर बन्न नसक्ने भन्दै यसका लागि उद्योगी व्यवसायीहरू पनि योजनाबद्ध ढंगले लाग्नुपर्ने बताए ।
अर्का प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले मेला महोत्सवहरू व्यापारमुखी हुन नहुने भन्दै औद्योगिक विकासका लागि छलफल र बहसको थलो बनाउनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, रूपन्देही उद्योग संगका अध्यक्ष गणेशप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारी, संगठनका तिलोत्तमा नगर अध्यक्ष सत्यव्रत ज्ञवाली लगायतले उद्योग, व्यवसायको प्रवद्र्धन र कृषिको विकासका लागि मेला महोत्सवहरू सफल बन्नुपर्नेमा जोड दिएका थिए । मंसिर १८ गतेसम्म चल्ने मेलाका लागि तीनसय स्टल राखिएका छन् । मेलामा २५ करोडको आर्थिक कारोबार हुने र तीन लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् ।