© २०२३
पाल्पाको पूर्वखोला गाउँपालिकाका विद्यालयमा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ । रजस्वलाका बेला छात्राहरू विद्यालयको पढाइ छाड्ने र कक्षामा नियमित नभएको पाइएपछि गाउँपालिकाले सेनेटरी प्याड वितरण गरेको हो ।
गाउँपालिकामा रहेका आधारभूत ८ र माध्यमिक तह ७ गरी १५ विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको हो । आधारभूत तहका ८ विद्यालयहरूमा अकला आधारभूत, सिलवा, मदन आश्रित आधारभूत, सिलवा आधारभूत, शारदा आधारभूत, कमला आधारभूत जल्पा, जनप्रकाश आधारभूत जल्पा, जनउज्ज्वल आधारभूत, रिङनेरह, खाडदेवी आधारभूत, बीरकोट, जनकल्याण आधारभूत, बिरकोट छन् । त्यसैगरी माध्यमिक तहका ७ विद्यालयहरूमा जनमार्ग मावि, सिलवा, सरस्वती मावि, जल्पा, शम्भु मावि, जल्पा, उद्बुद्ध मावि, रिङनेरह, मातृभूमि मावि, देवीनगर, गणपति मावि, बीरकोट, जनप्रिय मावि हेक्लाङ्ग छन् ।
आधारभूत तहका विद्यालयमा प्रति विद्यालय ७२ वटा र माध्यमिक तहका विद्यालयमा प्रति विद्यालय २१६ का दरले सेनेटरी प्याड दिइएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिए । दिइएका प्याडले विद्यालयमा पुग्ने नपुग्ने अवस्था हेरि थपघट गरिने ढकालले बताए । महिनावारी भएपछि विद्यालय छाड्ने, अनियमित हुने देखिपछि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको ढकालले बताए । उनका अनुसार विद्यालयमा रहेका महिला शिक्षकलाई जिम्मेवारी गराई उनीहरू मार्फत उक्त कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत अनुदान तथा विद्यालयको २५ प्रतिशत लगानीमा गाउँपालिकाका सात माध्यमिक विद्यालय र आठ आधारभूत विद्यालयमा प्याड वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पौडलले बताए । गाउँपालिकाका छात्राले विद्यालय नजाने गरेपछि विद्यार्थीका पढाइ र स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै प्याड वितरण गरिएको र यसलाई निरन्तरता दिइने अध्यक्ष नुनबहादुर थापाको भनाइ छ । उनका अनुसार ती विद्यालयहरूमा सेनेटरी प्याडको प्रयोग, कम उमेरमा हुने बिवाहले स्वास्थ्यमा पार्ने प्रभाव, प्रजनन् स्वास्थ्य जस्ता बिषयलाई केन्द्रित गरि गाउँपालिकाले हेल्थपोष्ट मार्फत स्वास्थ्य शिक्षा कार्यक्रम शुरु गर्न लागेको छ ।
महिनावारी भएका बेला छात्रालाई समस्या हुने र कतिपयले विद्यालय आएपछि बीचमै पढाइ छाडेर घर जाने तथा विद्यालय नै नगई तीन÷चार महिनासम्म रजस्वलाकै कारण बिदा लिने गरेको शिक्षकले बताएका छन् । स्वास्थ्य शिक्षा सहित सेनेटरी प्याडको व्यवस्थाका लागि गाउँपालिकाले एक लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिकामा ३७ विद्यालय रहेका छन् । à