© २०२३
बुटवल,१२ फागुन । तिलोत्तमा न. पा. ६, मा अवस्थित डन मोडल एकेडेमीमा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष शिब कुमार पाठकले विद्यार्थाीहरुले बनाएको विन्ड मिल (हावा बाट विजुली उत्पादन) प्रोजेक्ट अवलोकन र सञ्चालन गरी प्रदर्शनी उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष पाठकले विद्यालयले विद्यार्थीहरुको सिर्जना प्रस्फुटन गराउन यस्ता कार्यक्रमको आयोजना गर्दै आएको र आगामी वर्षदेखि अन्तर विद्यालय विज्ञान प्रदर्शनीलाई प्रतियोगिताको रुपमा अघि बढाउने बताए ।
विज्ञान प्रर्दशनीमा विद्यालयमा कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान सम्बन्धि ५० वटा सामग्रीहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा छिमेकी विद्यालयहरु होराइजन गौतमबुद्ध मा. वि., इन्भारन्मेन्ट मा. वि. र शान्ति नमुना मा.वि. का कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।
उक्त प्रदर्शनीमा विन्ड मिल, सिस्मोग्राफ, मेटल डिटेक्टर, म्याजिक धारा (टेप), भ्याकुम क्लिनर, वाटर मिल्क, वाटर अलार्म, टच गेम, कुलर, भेजिटेबल कटर, सेक्यूरिटी अलार्म, वायरलेस, इनर्जी ट्रान्सफर, वाटर पम्प, इलेक्ट्रिक इरिगेसन, कम्प्रेसर, लिनियर मोटर, एक्चुएटर, भोल्टेज डिभाइडर, फ्लोर क्लिनर, जेसिवि, क्रेन, सर्कुलेटरी सिष्टम, यूरिनरी सिष्टम, लाइफ साइकल अफ बटरफ्लाइ, फुड चेन, मुटु, लगायत सामग्री तथा मोडलहरु प्रदर्शन गरिएको थियो । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुले आ–आफ्ना सामाग्रीहरुको बारेमा अवलोकनकर्ताहरुलाई जानकारी गराएका थिए ।
विद्यार्थीहरुको पढाई तथा सिकाईलाई प्रयोगात्मकरुपमा प्रष्फुटन गर्न, नेपाल सरकारको पाठ्यक्रमको उद्देश्य अनुरुप किताबी ज्ञानलाई ब्यवहारमा उतार्न र कक्षाकोठा भित्र गर्न नसकिने विभिन्न प्रयोगात्मक क्रियाकलापहरुमा विद्यार्थीलाई सक्षम बनाउन विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्राचार्य सीताराम भट्टराईले बताए ।
शिक्षक गोविन्द अर्याल, आकाश भुसाल, ज्योती रेग्मी र नविना थापाले विद्यार्थीहरुलाई उनीहरुले प्रदर्शन गर्ने सामाग्रीहरु बनाउन सहयोग गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक यज्ञराज अर्यालले डन मोडल एकेडेमी साच्चिकैरुपमा व्यवहारिक सिकाईका लागि विद्यार्थी र अभिभावकको रोजाईको स्कुल बन्नेतर्फ अगाडि बढेको बताए ।
विज्ञान प्रदर्शनीमा विद्यालयका अभिभावक, छिमेकी विद्यालयका विद्यार्थीहरु, संचालक, विद्यार्थीहरु तथा शिक्षक र कर्मचारी गरी करिब १५ सयजनाले अवलोकन गरेका सह–प्राचार्य सन्तोष पौडेलले जानकारी दिए ।