© २०२३
उर्जा जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले रोल्पाको पानीलाई बहुउद्देश्यीय ढंगले उपयोग गर्ने बताएका छन् । मन्त्री पुनले सोमवार सदरमुकाम लिवाङमा आयोजित एक साक्षात्कार कार्यक्रममा उक्त कुरा बताएका हुन ।
पश्चिम दक्षिण रोल्पा भएर वग्ने माडी नदीको पानीलाई वहुउपयोगमा ल्याईने मन्त्री पुनले जानकारी दिए । रोल्पा नगरपालिका–५ जेद्वाङ लाल्टीवाङमा २५३ मेगावाटको विद्युत उत्पादन गरि सोही पानी डाईभर्सन मार्फत दाङको फाँट समेत सिंचाई गर्नका लागि संभाव्यता अध्ययन भईरहेको छ मन्त्री पुनले भने । जिल्लाका अन्य नदीवाट समेत विद्युत उत्पादन हुने संभावना रहेको वताउदै घर्तीगाउँ नजिक रहेको नदिवाट १४८ मेघावाट र जैमाकसलामा रहेको नदिवाट ५८ मेगावाट विद्युत उत्पादन गर्न सकिने गरि अध्ययन प्रतिवेदन आएको छ मन्त्री पुनले भने । पानीबाट संवृद्धी संभव रहेको वताउदै सरकारले विभिन्न आयोजनाहरूमा जनताको समेत शेयर रहने गरि संचालन गर्न लागेको जानकारी दिए ।
रोल्पालाई १ वर्ष भित्र अध्यारोमुक्त वनाउने लक्ष्य सहित काम भईरहेको बताउँदै चालु आर्थिक वर्षमा विद्युतीकरणका लागि २९ अर्ब बजेटको टेण्डर भइसकेको मन्त्री पुनले जानकारी दिए । सोलार, लघु वा साना जलविद्युत जे सम्भव हुन्छ त्यसको बिस्तारले जिल्लाका सबै घरधुरी अँध्यारोमुक्त हुन्छन मन्त्री पुनले भने ।
एक अर्को प्रसंगमा मन्त्री पुनले मन्त्रीमण्डल फेरबदलको कुनै संभावना नरहेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोश्रो तहका अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिने मन्त्री पुनले एक आर्थिक वर्ष समाप्त नहुदै मन्त्रीको कार्यसम्पादन संभव नभएकाले कार्यसम्पादनका आधारमा मन्त्रीमण्डल फेरवदल हुने हल्ला मात्रै भएको टिप्पणी गरे । विपक्षीले सरकार ढाल्न सक्ने अवस्था नभएका कारण हल्ला फिजाएर सरकारलाई अस्थीर वनाउने गरि सामाजिक संजालहरूमा यस्तो हल्ला आएको मन्त्री पुनको भनाइ थियो । पार्टीमा विवाद रहेको भन्ने प्रश्नमा मन्त्री पुनले ठूलो पार्टी भएका कारण केही नेताहरूमा कुनै विषयमा असन्तुष्टी हुन सक्छ मन्त्री पुनले भने । छठ लगत्तै वस्ने स्थायी समितिको वैठकले सवै विषयको टुंगो लगाउने मन्त्री पुनको भनाई थियो । पार्टी एकताको काम समेत अव वस्ने स्थायी समिति वैठकले टुंगो लगाउछ मन्त्री पुनले भने ।
सरकारले ५ वर्षे कार्यकाललाई १० सेमेष्टरमा वाँडेको वताउदै हाल पहिलो सेमेष्टर मात्रै पुरा भएको मन्त्री पुनेको भनाई थियो । पहिलो सेमेष्टरमा जग निर्माण गर्ने काम गरेका छौ अवका बाँकी सेमेष्टरमा कामले गति लिन्छ मन्त्री पुनले भने । कर्मचारीको पुनरसंरचना र सेटिङ, ऐन कानूनको तर्जुमा लगायतका काम सम्पन्न भएको मन्त्री पुनको भनाइ थियो ।