© २०२३
धुस्तुङ (पाल्पा) ।
पाल्पाको तिनाउ गाउँपालिका पाटन गाउँकी दीपा अर्घालीलाई बिहान छ बजे विद्यालय नहिडी सुखै छैन । रिब्दीकोट गाउँपालिका धुस्तुङमा रहेको नारायण माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अर्घालीलाई घरबाट विद्यालयसम्म पुग्न करिब तीन घण्टा लाग्छ । विद्यालयको अतिरिक्त कक्षा भेट्न छ बजे नै टिफिनमा तयारी खानासमेत लैजानुपर्छ उनले । खाना नलगे दिनभर भोकै बस्नुपर्ने उनको बाध्यता छ ।
कक्षा १० मा अध्ययन गरिरहेका लुम्बास गाउँका इन्द्रबहादुर गाहालाई विद्यालयसम्म आइपुग्न दुई घण्टा समय लाग्छ । उनको बाध्यता पनि बिहान हतारमा उठ्ने, खाना तयार गरेर टिफिन बोकी विद्यालय हिंड्ने छ । विद्यालयमा चमेना गृह र छात्राबासको व्यवस्था नहुँदा घरबाट चाडै विद्यालय हिडने र टिफिन बोकिरहेका छन् ।
दिपा र इन्द्रबहादुर मात्र होइन उक्त कक्षाका अनिल बगाले, मिलन अर्घाली, सरस्वती गाहा, हेमी लम्तरी, एलिसा गाहा, तिर्सना गाहा लगायतका बालबालिकाहरु दैनिक घण्टौ हिंडेर विद्यालय आवत जावत गर्छन् । गाउँमा माध्यमिक तहसम्मको विद्यालय चल्न सक्ने अवस्था नहुँदा उनीहरु विद्यालय शिक्षाका लागि दैनिक ४ देखि ६ घण्टा पैदल हिडिरहेका छन् । पाटन गाउँमा रहेको पाटन आधारभूत विद्यालयमा कक्षा ७ सम्म पठन पाठन हुन्छ । जहाँका बालबालिकाहरु कक्षा ८ देखि माथिको कक्षा पढ्न नारायण माध्यमिक विद्यालयसम्म पुग्नुपर्छ । अरु गाउँको बाध्यता पनि उस्तै हो । कतै कक्षा ५ त कतै कक्षा ८ सम्मका आधारभूत विद्यालय छन् । आधारभूत तहसम्म नै कम बालबालिका रहने गरेका विद्यालयमा माध्यमिक तहको कक्षा संचालन गर्न सकिने अवस्था पनि देखिंदैन ।
केही गाउँहरुको बीचमा पर्ने नारायण माध्यमिक विद्यालयको कक्षा १० मा ३० जना बालबालिका अध्ययनरत छन् । त्यसमध्ये आधाआधी बालबालिका एक घण्टाभन्दा बढी समय खर्चेर विद्यालय पुग्छन् । धेरैजसो बालबालिकाहरु आधारभूत तहसम्मको अध्ययन अरु विद्यालयमा पूरा गरेर आएका छन् । कक्षा १० की दीपमा अर्घालीले विद्यालयसम्म आउँदा र जाँदा ६ घण्टा दैनिक हिड्नुपर्दा थकाईले लखतरान पर्ने गरेको बताइन् । “विद्यालयमा आउँदा थकाई लाग्छ, फर्केर घर पुग्दा झनै थाकिन्छ” उनले भनिन्, “थाकेको बेला के पढ्नु, कसरी पढ्नु ?”
महाभारत श्रुंङ्खलामा पर्ने यो क्षेत्रमा मगर समुदायको बाहुल्यता छ भने बस्ती निकै छिरलिएका छन् । विद्यालय टाढा हुने बालबालिकाको सुविधाका लागि बस÷जिप र छात्राबासको दुई वटा विकल्प रहेकोमा छात्राबास लागतका हिसाबले कम खर्चिलो हुने विद्यालयको बुझाई छ ।
टाढा टाढाका बालबालिकाहरुले विद्यालयमा अध्ययन गर्ने हुँदा अतिरिक्त कक्षा सञ्चालन गर्न निकै कठिनाइ भएको कक्षा १० का कक्षा शिक्षक विजय बरालले बताए । “विद्यालयमा चमेना गृह छ्रैन, टिफिनको भरमा अतिरिक्त कक्षा संचालन गरेका छौ”ं, सहायक प्रधानाध्यापक समेत रहेका बरालले भने ।
कक्षा १० का लागि एसईईको तयारी कक्षा संचालन गरिरहेको हुँदा कतिपय विद्यार्थी बिहान ६ बजे नै हिंड्नु परिरहेको विद्यालयका प्रधानाध्यापक ढालबहादुर उचैंले बताए । तयारी कक्षा नचल्दाको अवस्थामा पनि बिहान ७ः३० देखि ८ बजे विद्यालय हिड्नुपर्ने बालबालिकाको संख्या अत्यधिक भएको प्रधानाध्यापक उचै बताउँछन् । विद्यालयमा छात्राबास र चमेना गृहको आवश्यकता खड्किएको उचैले बताए । उनले भने, “हामीकहाँ गाउँ बाहिरबाट पढ्न आउने बालबालिकाका लागि छात्राबासको माग गरिरहेका छौं, आश्वासन पाएका छौं तर सम्बोधन भएको छैन् ।”
गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश सांसदलाई समेत विद्यालयले यो बिषय जानकारी गराइरहेको छ । अहिले पालिकाको अध्यक्षमा नारायणबहादुर कार्की, प्रदेश सांसद तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र संघीय सांसदको रुपमा ठाकुर गैरे रहेका छन् । विद्यालयले छात्राबास र चमेना गृहका लागि उनीहरुकै बाटो कुरिरहेको छ ।
“विद्यालयमा ३५ देखि ५० जना बालबालिका राख्न सक्ने क्षमताको छात्राबास हुन सकेमा दैनिक ४÷६ घण्टा हिड्ने बालबालिकालाई सहज हुने थियो”, उचैले थपे । कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाका लागि छात्राबास जरुरी भएको उनको भनाई छ । उनका अनुसार विद्यालयमा अध्यापनरत शिक्षक समेत बाहिरका भएको हुँदा छात्राबास भए शिक्षकलाई समेत व्यवस्थापन गरी पृष्ठपोषण कक्षा संचालनमा सहयोग लिन सकिने अवस्था छ । अहिले विद्यालयमा ४ जना शिक्षकहरु बतासे बजारमा डेरा लिएर विद्यालयमा पठन पाठन गराइरहेको बताए ।
२०१६ सालमा स्थापना भएको नारायण माध्यमिक विद्यालयमा बालबिकास केन्द्रदेखि कक्षा १२ सम्म ३१६ बालबालिका अध्ययनरत छन् । रिब्दीकोट गाउँपालिकामा १३ वटा माध्यमिक विद्यालय, ६ वटा (१–८) आधारभूत विद्यालय र १८ वटा (१–५) प्राथमिक विद्यालय छन् ।