© २०२३
बुटवल,४ फागुन । बुटवलमा निर्माण भएको पशु बधशाला छिटो सञ्चालनमा ल्याउन व्यवसायीले माग गरेका छन् ।
बधशाला सञ्चालनमा आउंदा उपभोक्ताले स्वस्थ र स्वच्छ मासु पाउने र किसानले पालेका खसी बोकाले उचित मूल्य पाउने हुंदा दुबैलाई फाइदा हुने उनीहरुको भनाई छ ।
मासु व्यवसायी संघ रुपन्देहीको १२ औं वार्षिक साधारणसभाका अवसरमा उनीहरुले दुई दशकदेखि बधशाला सञ्चालनमा आउने भनिएपनि आउन नसकेको गुनासो गरेका छन् ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा सहमति भइसकेको र एक दुई हप्ताभित्रै सम्झौता हुने बताइन् ।
सार्वजनिक, निजी, साझेदारी (पीपीपी) मोडेलमा बधशाला व्यवस्थित सञ्चालन हुने अर्यालले बतायन् ।
बुटवल उपमहानगरपालिका १० रामनगरमा २ विगा ३ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बधशाला सञ्चालन गर्न उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ ।
बधशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन भएको र कार्यदलले नियमित रुपमा अनुगमन र व्यवस्थापनसमेत गर्ने निर्णय भएको उपप्रमुख अर्यालले बताइन् ।
सो अवसरमा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरसँग पशु बधशाला सञ्चालनमा देखिएका अन्योल टुंगिएकाले छिट्टै सम्झौता गरी सञ्चालन गर्न हस्तान्तरण गर्नुपर्ने माग गरे । बधशालाका लागि दैनिक ५ सय खसी बोका आपुर्ति गर्ने गरी किसानले तयार गरेका तर हाल बुटवलमा करिब ३ सय खसी बोका मात्र खपत भएकाले स्वच्छ मासुको खपत बढाउन सरकारले ध्यान दिनुपर्ने बताए । उनले शुरुका दुई वर्ष सञ्चालन वापत व्यवसायीले बुझाउनुपर्ने ४७ लाख रुपैयां उपमहानगरले अनुदानका रुपमा दिने मौखिक सहमति कार्यान्वयन हुन सके व्यवसायी उत्साहित भएर बधशाला सञ्चालन गर्ने बताए ।
मासु व्यवसायी संघ बुटवलका अध्यक्ष चुरामणि घिमिरेले खुला सीमानाबाट अवैधरुपमा भित्राइने खसी बोका र कुखुराको आयात प्रहरी प्रशासनले पूर्णरुपमा बन्द गर्नुपर्ने अन्यथा बधशाला दीगोरुपमा सञ्चालन समस्या आउने बताए । बधशाला सञ्चालनमा आउंदा व्यवसायीले सबै खाले तयारी मासु बेच्न पाउने हुंदा उनीहरुलाई झन्झट नहुने बताए ।
कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली, होटेल तथान रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतम,हेफर इन्टरनेसनल बुटवल कार्यालयका व्यवस्थापक प्रेम राई लगायतले बधशाला सञ्चालनमा आउंदा उपभोक्ता,व्यवसायी र किसान सबैलाई राम्रो हुने बताए ।
४७ जना व्यवसायीलाई उपहार
संघले साधारणसभाको अवसर पारेर ४७ जना व्यवसायीलाई मासु पसलमा आवश्यक सामानहरु उपहार स्वरुप प्रदान गरेको छ । संघले ३२० लिटरका २ वटा डिफ्रिज,२० वटा डिजिटल तराजु, २० जोडी गमबुट र २० वटा दाउ तथा ५ वटा किमा बनाउने मेशिन गोला प्रथाबाट वितचरण गरेको हो । संघमा साढे ३ सय बढी व्यवसायी आवद्ध छन् । मासु पसललाई व्यवस्थित, सफा बनाई स्वच्छ मासु उपभोक्तालाई दिन व्यवसायीबाट रकम संकलन गरी सामानहरु विरण गरिएको संघले जनाएको छ ।