© २०२३
चाडपर्व मनाउन भारतबाट नेपाल फर्किंदै गरेका ४ नेपाली भारतमा बसभित्रै लुटिएका छन् । बसको यात्रा गरी स्वदेश फर्किन लागेका उनीहरूलाई झुक्याएर पानी खुवाई, रुमाल सुघाएर वेहोस् बनाई लुटिएका हुन् । चाडपर्व भित्रिएसँगै धन कमाएर फर्किने नेपालीहरूलाई लुटपात गर्ने गिरोह सक्रिय भएका छन् ।भारतको लखनऊस्थित बराबङ्कीमा नेपालीहरू लुटिएको घटना बाहिरिएको हो । अर्घाखाँची शितगंगा नगरपालिका ९ सिद्धारा अर्घाखाँचीका २१ वर्षीय अशोक रावत लुटिएको प्रहरीमा उजुरी दिएका छन् । तीन महिनाअघि दिल्लीमा काम गर्न गएका उनी चाडपर्वमा घर आउने क्रममा बसमा सुतेको बेला बेहोस् बनाई लुटपात गरेको उनले बयान दिएका छन् ।
उनीसँग रहेको ४० हजार भारतीय रूपैयाँ र एउटा मोबाइल सेट लुटिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ । उनी भन्छन् –“दशैं मनाउन घर फर्किने क्रममा लखनऊदेखि बढनीसम्म कसरी पुगें थाहा पाएन मसँग भएका एकजना साथीलाई अर्काे एक व्यक्तिले बिस्कुट पानी खान दिएका थिए । उनले खाए तर मैले खाएन । राति सुत्ने बेला रूमाल सँुघाए जस्तै लाग्छ, बाँकी केही थाहा पाएन ।” कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ भेलाईका २८ वर्षीय माधव ज्ञवाली रावतसँगै दिल्लीबाट घर फर्किंदै थिए । उनीसँग रहेको २२ हजार भारतीय रूपैया र मोबाइल चोरिएको प्रहरीले जनाएको छ ।
“दिल्लीबाट म चढेको बसमा एकजना नेपाली भाइ पनि चढेका थिए । उनले दिएको बिस्कुट पानी खाएपछि मलाई केही याद छैन” उनले भने । होस आउँदा आफूसँग केही थिएन । बढनीमा बसबाट झरेर नेपाल आई प्रहरीमा जाहेरी दिएको उनले बताए । रावत र ज्ञवाली दुवैजना नसाको अवस्थामा रहेकाले बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारपछि परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बहादुरगञ्ज जनाएको छ । यसअघि पनि भारतबाट स्वेदेश फर्किदै गरेका दुई नेपाली अचेत अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।à