© २०२३
न समाउने हाँगो न टेक्ने जमिन, न दुःखमा साथ दिने इष्टमित्र न खुशीमा रमाउने छिमेकी यस्तै अवस्थामा पुगेका छन कपिलबस्तुका एक वृद्ध दम्पत्ति । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर–५ वैकुण्ठपुरका ८६ वर्षीय यन बहादुर क्षेत्रीलाई आफ्नी ८८ वर्षीय श्रीमतीको रेखदेख र स्याहारसुसार गर्दै ठिक्क रहेको छ । बृद्ध दम्पती जस्को दैनिकी निकै दुःखदायी छ । बाणगंगा नदिको छेउमा स्थानीय गाउँलेहरूको सहयोगमा ऐलानी जग्गामा बनेको सानो झुपडी उनीहरूको सबै संसार हो ।
चैतमासको हुरी र बर्खा यामको झरीको ‘कहर’ बाट केही हदसम्म राहत प्रदान गरेको छ । स्थानीयहरूकै सहयोग बाट पिउने पानीका निम्ति चापाकल गाडिएको छ तर साँझ बिहानको गर्जो टार्न भने सहयोगीहरूको बाटो हेर्नुपर्ने अवस्था छ । खानका लागि अरूले देलान की भन्ने आशा गर्नु बाहेक उनीहरूसँग केही बिकल्प छैन ।
८६ वर्षका यन बहादुर क्षेत्रीको शारीरिक अशक्तता त छ नै त्यसमाथि आफ्नी ८८ वर्षीया दृष्टिविहिन श्रीमतीको स्याहारसुसार र रेखदेख गर्दा अझ धेरै कष्टमा उनी रहेका छन् ।
बैँस छँदा ज्याला मजदुरी गरेर जीवन निर्वाह गरेका ती जोडी निसन्तान दम्पती उमेर घर्किएसँगै समस्यामा परेको स्थानीय कृष्ण पोख्रेल बताउँछन् ।
गाउँका केही घरले साँझ बिहान आई हेर्ने खाना ल्याइदिने गरेको उनले बताए । बृद्ध दम्पतीको स्वास्थोपचार र दैनिकी सहज बनाउन सरोकार वाला पक्षले ध्यान दिन आवश्यक रहेको स्थानीय सुनिल भट्टराई बताउँछन् ।उनले स्थानीय निकाय र संघ सस्थाहरूलाइ बृद्ध दम्पतीको दुःखमा साथ दिन आग्रह समेत गरेका छन् । डाडा माथिका घाम जस्तै बनेका बृद्ध दम्पतीलाई सामाजिक संरक्ष्णको आवश्यक रहेको छ । तर कसैको सहयोग छैन । वृद्धवृद्धालाई सरकारी निकायले सहयोग नगरेको गुनासो उनीहरूको छ ।