© २०२३
कपिलवस्तु शिवराज नगरपालिकाको मुख्य व्यस्त बजार चन्द्रौटा । घडीको सुइले दिनको दुई बजाएपछि सडकछेउको नालीमाथि एक ६२ बर्षीय वृद्ध सानो बोराबाट टुटेफुटेका चप्पल, जुत्ता निकाल्छन् र नियाल्छन् सडकमा हिड्ने बटुवालाई । ती ६२ बर्षीय बृद्ध बटुवाको अनुहारमा होइन उनीहरूले लगाएको जुत्ता चप्पल नियाल्छन् कतै फाटेको छ कि भनेर । दैनिक चन्द्रौटा–कृष्णनगर सडकपेटीमा भेटिने बृद्ध हुन चन्द्रौटा निवासी पिताम्बर ।
सडकपेटीमा उनको आफ्नै सानो पसल छ फाटेका जुत्ता चप्पल सिलाउने र पोलिस गर्ने आफू जान्ने भएदेखि नै यही सडकमा बोरा डोसाएर आफ्नो पेशा फाटेका जुत्ता सिलाउने र पालिस गर्दै आएको उनी बताउँछन् । “मैले जुत्ता सिलाउँदा यो बजार नै थिएन, फाटफुट झुपडी थिए, अहिले हेर्दाहेर्दै व्यस्त बजार बनिसक्यो” उनले मुस्काउँदै भने ।
दिउँसो २ बजेबाट सडकपेटीमा फाटेका जुत्ता सिलाएर र पोलिस गरेर आएको आम्दानीबाट ४ जना परिवारको गुजारा चल्दै आएको उनले बताए । सडकपेटीको व्यापार भएकोले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफुले बस्ने ठाउँ नै नपाएको उनी गुनासो गर्छन् । अब सडकपेटीमा नै जीवनको यति लामो समय विताएँ, यही पेशाबाट नै मेरो घर परिवार चलेको छ, अव सडकपेटीबाट नहटाए हुनेथ्यो आफूले बोल्ने अवधी भाषामा उनले भने ।
यस पेशाबाट कहिलेकाँही ५÷७ सयसम्म आम्दानी भइहाल्छ भने कहिले त सय रूपैयाँ पनि नहुने उनले आफ्नो व्यथा सुनाए । पुख्र्यौली घर पर्सिया भए पनि हाल चन्द्रौटाको पुरानो बजारमा बस्दै आएका छन् पिताम्बर । सडकमै जुत्ता पालिस गर्ने र सिलाउने हुँदा धेरैले हेय दृष्टिले हेर्ने गरेको उनले सुनाए । “कसैकसैले राम्ररी नै बोलाउँछन्, सम्मान गर्छन् तर कोही भने साह्रै हेपेर बोल्छन” उनले आफूले भोगेको व्यथा सुनाए ।
सडकपेटीमै ५ दशक विताएकाले आफू बसेको सडकपेटी कै बढी माया लाग्ने गरेको उनले बताए । विहान खासै भिडभाड नहुने हँुदा दिउँसो २ बजेबाट मात्र पसल खोल्ने गरेको उनले बताए । चाडपर्वको दिन भने विहानैबाट बस्ने गरेको उनको भनाई छ ।