© २०२३
बुटवल,२१ पुस । नेकपा एमालेबाट निर्वाचित भई पुरा कार्यकाल नसकिंदै राजीनामा दिएका रुपन्देहीका खिमलाल भट्टराईको ठाउंमा राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो । रुपन्देही ५ को प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न राजीनामा दिएर टिकट लिएपनि पार्टीले बासुदेव घिमिरेलाई पनि टिकट दिएको थियो । दुबै जनाले मनोनयनपत्र पनि दर्ता गरेका थिए । तर बासुदेवले पहिले मनोनयन दर्ता गरेकाले निर्वाचन आयोगले भट्टराईको मनोनयनलाई मान्यता दिएन । उक्त निर्वाचनमा नेपाली कांग्रेसले लगातार जित्दै आएको क्षेत्रमा बासुदेवले ९ हजार बढी मतान्तरले शानदार जिते निकालेका थिए ।