© २०२३
बुटवलको रामनगरमा देउराली रोधीघर संचालनमा आएको छ । उक्त रोधीघरको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित लोकदोहोरी गायक चन्द्र शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले नेपाली कलासंस्कृति र कलाकारको संरक्षणमा रोधीघरहरूले उल्लेख्य भूमिका खेलेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीका अध्यक्ष समुन्द्र जि.सीले बुटवल प्रदेशको राजधानी भएपनि यहाँको उद्योगी व्यवसायीहरूले राजधानीको आभास गर्न नपाएको बताए । मुलुकमा द्वन्द्वकाल र संक्रमणकाल अन्त्य भई संघीयता आइसक्दा समेत अझैपनि व्यवसायीहरूलाई द्वन्द्वकालकै व्यवहार गरिएको भन्दै राज्यप्रति गुनासो गरे । बुटवल अब सबै किसिमको हव बन्दै गइरहेको अवस्थामा यहाँको होटल व्यवसायलाई राती १० बजे नै बन्द नगरी सकेसम्म रातभरी नै चल्न दिने वातावरण बनाउनुपर्ने बताए ।
नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले पनि बुटवलको व्यवसायलाई माथी उकास्नको लागि सबै राजनीति दल तथा स्थानीयबासीसँगको छलफलबाट रातीमा पनि निश्चित क्षेत्रमा निश्चित व्यवसाय संचालनको वातावरण मिलाउनु आवश्यक रहेको बताए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम हमालले सबैको समन्वयबाट रातीमा व्यवसाय संचालनको वातावरण मिलाउन सकिने बताए । इलाका प्रशासन बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली मल्लले व्यवसायी र प्रहरीको सम्वन्ध सदैव सकारात्मक हुनुपर्नै भन्दै रातीमा व्यवसाय वन्द गराउँदै हिँड्नु बाध्यता रहेको बताए । पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जि.सीले रोधीघरले व्यवसायिकता संगै स्तरीय सेवा र कला संस्कतिको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने बताए । रोधीघरका सञ्चालक ज्ञानु खरेलले कला संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्धनका उद्देश्यले आफूहरूले रोधीघरमा लगानी गरेको बताए ।