© २०२३
विदेशका विभिन्न कलेजमा नेपाली विद्यार्थी अध्ययनका लागि भन्दै दुई महिनाको अवधिमा २८ अर्ब रुपियाँ बाहिरिएको छ । नेपाली पैसा यसरी नै बिदेश पलायन हुनु अत्यन्त दुःखको कुरा हो । यो भन्दा अर्को दुःखको कुरा के छ भने अध्ययनका लागि विदेश गएका नेपाली विद्यार्थी उतै स्थायी बसोबास गरि बस्न थालेका छन् । यसले नेपाली पैसामात्रै बिदेसिएको छैन, नेपालको श्रम र दक्ष जनशक्ति समेत बाहिर पलायन भैरहेको छ । अहिले पढ्न गएका धेरै युवा स्वदेश फर्कंदैनन्, यसले देशलाई कति घाटा होला ? यसको आँकलन कमैले मात्र गरेका छन् । अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, जर्मन, बेलायत जस्ता देशमा नेपाली विद्यार्थी युवा युवतीको संख्या अधिक छ । विदेशमा अध्ययनका लागि भनेर गएका उनीहरूलाई पछि स्वदेशमा ल्याउने र सीप अनुसारको काम दिने सरकारको कुनै योजना छैन् । बरु विदेशी मुलुकसँग श्रम सम्झौता गरेर बाँकी रहेका कम शिक्षित युवालाई पनि विदेश नै पठाउने सोच नेपाल सरकारले राख्दै आएको छ । यसले कालान्तरमा नेपाल युवाविहिनमात्रै होइन, नेपालको जनसंख्यामा पनि भारी असर पर्ने देखिएको छ । पछिल्लो समय अध्ययनका लागि बाहिर जाने युवाको संख्याले भविष्यमा यहाँ दक्ष जनशक्तिको अभाव हुने जोखिम देखाएको छ । नेपाल सरकार र नेताहरूले बल्ल नेपाली युवा विदेश पलायन भैरहेकोमा चिन्ता प्रकट गर्न थालेका छन । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पछिल्लोसमय कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थी बिदेशिने समस्या डरलाग्दो रूपमा देखिएको भन्दै चिन्ता प्रकट गरेका छन् । कांग्रेस सभापति देउवा पाँचपटक देशको प्रधानमन्त्री भए । पाँचपटक प्रधानमन्त्री हुँदा युवा जनशक्ति देशमै वस्ने अवस्था किन सिर्जना गर्न सकेनन् ? नेपाली युवालाई विदेश जानु नपर्ने अवस्था किन बनाउन सकेनन ? उनले जवाफ दिनुपर्दछ । समय घर्केपछि चिन्ता ब्यक्त गर्नुको कुनै औचित्य छैन् । अहिले युवा विदेश पलायनको असर देखापर्न थालीसकेको छ । मुलुकमा सञ्चालित क्याम्पसहरू विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । यसबाट नेपाली विद्यार्थी विदेश पलायनमात्रै होइन, विद्यार्थीकै कारण भएको रोजगारी सिर्जनाको आधार पनि अव गुम्ने अवस्था उत्पन्न भएको छ । देउवा र डा. भट्टराईले नेपाललाई नै विदेशी विद्यार्थीका लागि गन्तव्य मुलुक बनाउनुपर्नेमा नेपाली विद्यार्थी नै विदेश पलायन हुनु दुःखद् भएको बताए । देउवा र डा. भट्टराईले यो कुरा ३० बर्ष अगाडी सोचेको भए र त्यसै अनुसार विद्यार्थी नेपालमै बस्ने वातावरण सिर्जना गरिएको भए यो अवस्था आउने थिएन । हिन्दीमा उखान छ– आगे सोचे सोचेनाई पिछे सोचे होेतेनाई चरितार्थ भएको छ । विद्यार्थी सबै विदेश पलायन हुन बाध्य बनाएर मुलुकलाई टाट पल्टाउने अवस्थामा पु¥याएपछि अव सोँच्नुको अर्को विकल्प छैन् । युवालाई स्वदेशमै रहने वातावरण बनाउन शिक्षालाई रोजगारीसित जोड्नुपर्ने थियो । त्यसका लागि विद्यालय तहदेखि नै विश्वविद्यालय तहसम्मका पाठ्यक्रम समय अनुसार परिवर्तन र परिमार्जन गर्न आवश्यक थियो । देउवा र डा. भट्टराई सरकारले यो बिषयमा बहस र छलफल समेत गर्न भ्याएन । अहिले चिन्ता व्यक्त गर्नुको औचित्य के ? समयले पर्खिदैन् । तसर्थ जुन कामपनि समय अगावै गर्नुपर्दछ । अनिमात्र त्यसको सान्दर्भिकता बल्ल रहन्छ । मुलुक धेरै अगाडी बढिसकेको छ । अव विदेश पलायनको अर्को विकल्प युवाहरूले देख्नै छाडिसके । नेपालमा केही छैन, केही गर्न सकिदैन भन्ने मानसिकता विकास भएको छ । सरकारले समेत त्यस्तै वातावरण बनाएको छ । युवा पुस्ता देशमा किन बस्न चाहेनन् भन्ने विषयमा सरकारले सोच्न ढिला भइसक्यो । भोलि युवाविहीन देश बन्यो भने अवस्था के होला ? अब सरकारले सोच्न ढिलाई नगरोस् । अझैपनि विद्यार्थी रोक्न सकिन्छ भने सरकार अव ढिलाई नगर ।