© २०२३
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको सय दिन पूरा भएको छ । सरकारको सय दिनलाई पर्ख र हेरको रूपमा अथ्र्याउने गरिन्छ । सय दिनको समयले सरकारको आगामी दिनको दिशा निर्धारण गर्दछ । त्यसैपनि सरकारले बल्ल दिशाबोध गर्दैछ । अर्थतन्त्र लयमा आउँदैछ । तर, यही बेला सरकारमाथि अनेकखाले टिका टिप्पणी गर्न थालिएको छ । त्यसो त विपक्षी दलहरूले सरकारको सय दिनलाई लिएर खरो आलोचना गर्नु स्वाभाविक हो । किनभने नेपालमा राम्रो काम गरेपनि सत्तापक्षको आलोचना गर्नैपर्ने बिपक्षीहरूको नियती नै बनेको छ । यो परिस्थितिमा सरकारमाथि अहिले आलोचनाको ज्वारभाटा प्रहार भैरहेको छ । निश्चितरूपमा देश सामान्य अवस्थामा छैन । त्यसैले सरकारले पनि अहिले सामान्यरूपमा कामकाज गरेर पुग्दैन । तर, सरकारले सय दिन पूरा गर्दैगर्दा सरकारको विषयलाई लिएर टिकाटिप्पणी र आलोचना सुरु भएकोले सरकारलाई सहजरूपमा काम गर्ने वातावरण हुँदैन कि भन्ने आशंका जन्मिएको छ । प्रधानमन्त्री ओलीले आर्थिक संकटको महामारीबाट अर्थतन्त्रलाई बौराउनु अनिवार्य भएको छ । तर, जुनरूपमा सरकारमाथि टिकाटिप्पणी सुरु भएको छ त्यसले सरकारलाई काम गर्न भने सजिलो छैन भन्ने प्रमाणित भएको छ । सरकारको विषयमा टिका टिप्पणी गर्न अझै थुप्रै समय बाँकी छ । जुनकुनै सरकारलाई पनि तीन महिनासम्म काम गर्ने समय हुन्छ र त्यसपछिमात्र सरकारको कामका बिषयमा समीक्षा हुन्छ । तर, अहिले सुरुवाती दिनवाटै सरकारप्रतिको टिका टिप्पणीले सरकारमाथि काम गर्नेभन्दा पनि दवाव बढाउने काम भैरहेको छ । अहिले सरकारलाई काम गर्न दिउँ, त्यसपछि सरकारको कामको मूल्याँकन गर्न सकिन्छ । त्यो समय आउनै बाँकी छ । त्यसैपनि यो सरकारको आयु दुई बर्ष अर्थात सातसय ३० दिन तोकिएकै छ । बाँकी ६ सय ३० दिन सरकारले अझै काम गर्ने समय छ । तर अहिले नै हतार हतार सरकारको कार्यशैलीलाई लिएर टिकाटिप्पणी सुरु हुनु राम्रो होइन् । सरकारले लय नसमात्दै भैरहेको आलोचनाले सरकारमाथि दवाव पर्ने हो कि भन्ने आशंका बढेको छ । यद्यपि सरकार जस अपजसको भागिदार हुनैपर्दछ तर केही समय काम गर्न दिएर सरकारको मूल्यांकन गर्नु मनासिव हुन्छ । कम्तीमा ओली नेतृत्वको सरकारको एक चौथाई समय पनि पूरा नभएकोले सरकारलाई आफ्नो रफ्तारमा काम गर्न दिनुपर्दछ ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आलोचना गर्ने समय अझै धेरै बाँकी छ । रात रहे अग्राख पलाए भनेझै सरकारले गरेका कामको मूल्याँकन गर्ने समय अझै धेरै छ । जुनकुनै सरकारको आलोचना गुण र दोषको आधारमा गरिन्छ । तसर्थ अहिले नै सरकारको विषयलाई लिएर आलोचनाको हतारो भन्दा सरकारले गर्ने कामका बिषयमा टिप्पणी बढी सान्दर्भिक हुन्छ । प्रधानमन्त्रीसँग यसपटक चौतर्फी अपेक्षा र दबाब छन् । यसपटक प्रधानमन्त्रीले आफूलाई सुधार गर्नेमात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिप्रति उत्पन्न हुन लागेका वितृष्णा रोक्नेछन भन्ने आशा छ । प्रधानमन्त्री ओलीले लिने सबै निर्णयमा निर्मम समीक्षा गर्नैपर्दछ । तर, राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने शैली बिपक्षी दलहरूले पनि राख्नुपर्दछ । हिजोको दिनमा भएका बेठिक काम र व्यवहार ओलीबाट दोहोरिए भने त्यो जनताका लागि स्वीकार्य हुँदैन । पछिल्लोपटक व्यवसायी मिनबहादुर गुरुङले पार्टी भवन वनाउन दिएको जग्गाको बिषयमा ओलीको बढी नै आलोचना भएको छ । तर, मिनवहादुर गुरुङले विगतमा सवै पार्टीहरूलाई गर्दै आएको सहयोग र पार्टीहरूले पनि लिदै आएको दानको अर्को पाटोलाई पनि बिर्सन हुँदैन् । ओलीमाथि अर्को गंभीर चुनौति छ– देशको अर्थतन्त्र सही दिशामा ल्याउनु । यो कठिन चुनौति पार लगाउन उनलाई दह्रो साथको खाँचो छ । आर्थिक संकटको विद्यमान अवस्थाबाट मुलुकलाई माथि उठाउन सरकार सफल भयो भने यो सरकार इतिहासकै सफल सरकार हुनेछ ।