© २०२३
प्यूठान, १ कात्तिक ।
जिल्लाका ग्रामिण क्षेत्रमा भइरहेका सामाजिक समस्याका बारेमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य(सुवेदी)ले स्थानीयसंग छलफल थालेकी छन् । जिल्लाका दुर्गम क्षेत्रमा पुगेर सामाजिक समस्या बारे सचेतना अभियान संचालन गर्न थालिएको आचार्यले बताइन् ।
भदौ अन्तिम साता प्रजिअको रुपमा प्यूठान आएकी आचार्यले मंगलबार प्यूठान नगरपालिका–५ जुम्रीकाँढा स्थित ठुलोगाउँका स्थानीय किशोर, किशोरी, उनीहरुका अभिभावकसंग छलफल अन्तरक्रिया गरेकी छन् । बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत मदिराले निम्त्याउने समस्याहरुको बारेमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिइन । उनले यस्तो अभियान स्थानीय तहसंगको समन्वयमा जिल्लाका सबै स्थानीय तहका दुर्गम बस्तिमा पुग्ने योजना रहेको सुनाइन् ।
‘गाउँको अवस्था र समस्याहरु बुझेर समाधानका प्रयत्न थालेका छौ’ उनले भनिन्, ‘सामाजिक समस्याहरुलाई न्यूनिकरण गर्न समुदायलाइ पहिले तयार पार्नु पर्छ ।’ समाजको अन्धविश्वास, अशिक्षा हटाउँदै बहस र पैरवीका माध्ययमबाट समस्याहरु समाधान गर्न सकिने प्रजिअले विश्वास व्यक्त गरिन् । पछाडी परेको वर्गमा समुदायको बस्तिमै पुगेर गरिएको कार्यक्रम निकै प्रभावकारी भएको प्यूठान नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नन्द बहादुर पुनले बताए ।
जिल्लामा आत्महत्या, बालविवाह, घरेलु हिंसा, बालिका आमा बन्ने समस्याहरु रहेका छन् । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्य सहित जनप्रतिनिधि, प्रहरी, कर्मचारी, स्थानीय अगुवाहरु समेतको सहभागिता रहेको थियो । सहभागीहरुले बालविवाह, महिला हिंसा, घरेलु हिंसा लगायत सामाजिक समस्याहरुलाई समाधानका लागि सबैको एक्यवद्धता अवश्यकता रहेको बताए ।