पाल्पा, ३० असोज ।
शरद ऋतुको आगमनसँगै खेती नगरिएका खाली समथर भूभागमा तथा खोलाका किनार किनारमा काँश फुलेर सेताम्य भएका छन् । यहाँका फाँटहरुमा फुलेका काँशले प्राकृतिक सौन्दर्यता बढाउँदा क्यामेरा तथा मोवाइलमा कैद गर्ने युवायुवतीहरु मात्र होइन । सौन्दर्यप्रेमी जो केहीको पनि मनै लोभ्याउने गरेको छ । वर्षा ऋतृ सकिएपछि आउने सरद ऋतुसंगै फुल लागेका छन् । काँश फुलेपछि रोग व्याध हराउँदै जाने पुराना पुस्ताहरुको भनाई रहेको छ ।
सेताम्य फुलेका काँशले मनलाई आनन्दित बनाएको वगनासकाली गाउँपालिका पोखराथोकका वेद प्रसाद न्यौपने बताउँछन् । खोलाको किनारामा सेताम्य फुलेको काँशबाट आम्दानीको मुख्यश्रोत बनाउन सकिन्छ । यसबाट गुन्द्री, ढकीया अन्य सजावटका सामानहरु पनि बनाउने गरेको पोखराथोककी स्थानीय फुलकुमारी कुमाल बताउँछिन् ।
माडी फाँटमा मात्र नभई पुर्वखोलाको कचल, सर्देवा, अर्गली, रामपुर जस्ता फाँटमा पनि काँशका सेता फुलहरुले प्राकृतिक सुन्दरता बढाएको छ । पहिलाप हिला परालको गुन्द्रीको विकल्पमा काँशका गुन्द्रीहरु बनाउने प्रचलन थियो । त्यसबाट विभिन्न सामग्रीहरु जस्तै ढकीया सजावटका सामग्री बनाएर बजारमा बिक्री पनि गर्ने, आफन्तहरुलाई उपहार दिने समूह पनि थिए । पुराना पुस्तामा यस्ता सिपहरु भएपनि नया पुस्ताका लागि काँश, टिकटक बनाउनभन्दा अरु केही काम नलागेको स्थानीय कमल खनाल बताउँछन् ।
काँशलाई नया पुस्ताले उपयोग गर्न नजानेको हो । आयुर्वैदिक चिकित्सामा पनि काँश एक प्रकारको जडिवुटीको रुपमा चिनिन्छ । यसलाई आम्दानीको मुख्य श्रोततर्फ स्थानीय सरकारले पहल नगरेको हो । नयाँ पुस्तालाई तालिम दिएको खण्डमा घरैमा बसीबसी आयआर्जन गर्न सकिने थियो । त्यसैगरी यहाँको पर्यटन विकासमा पनि थप सहयोग हुने थियो । यसलाई ठुलो सानो पर्दाको म्युजिक भिडियोको छायांकनका लागि समेत प्रयोग गर्न सकिने भएपनि उपयोगमा ल्याउन नसकिएको स्थानीयहरु बताउछन् । वातावरणीय क्षेत्रमा पनि यसको महत्वपूर्ण योगदान रहेको छ । यसले भूक्षय रोक्न सक्दछ । खेतको किनारामा लगाउँदा पहिरो नियन्त्रण गर्न सकिने वन प्राविधिक रामचन्द्र लामा बताउछन् । काँश भएको ठाउँमा खोलाको कटान अत्यन्तै कम हुने गरेको उनी बताउछन् ।
तिनाउ गाउँपालिका दोभानका स्थानीय शेर बहादुर चिदी भन्छन्, “तिनाउ खोलामा समाहित हुन आउने कचल खोलाको वारी पारी सेताम्य हुने गरी फुलेको काँशलाई साक्षी राखेर मायापिरती साटासाट गर्ने ठुलो संख्यामा युवायुवतीहरु वुटवलबाट आउने गरेको र काँश फुलेपछि वर्षा सकियो भन्ने सन्देश दिएको उनले बताए ।
खेतका गरा गरामा सुन जस्तै पहेलै पाक्न लागेको धानसंगै सेताम्य फुलेको काँशका बोटहरु झुलेको देख्दा जो कोहीको मन पनि लोभिने गर्दछ । यसलाई उपयोग गर्न सकिए आम्दानीको बलियो माध्यम बनाउन सकिने थियो । पहिला पहिला यहाँका महिलाहरुले विभिन्न सामग्रीहरु बनाएर बजारमा लगेर बिक्री गरी आफुलाई आवश्यक सामग्रीहरु किनेर ल्याउँथे । तर आज यस्ता सिप भएका मानिस सबै सकिदै गए । नया पुस्ताले सिप सिक्न नचाहँदा काँश त्यसै खेर गएको स्थानीय देव कुमारी वगाले बताउँछिन् ।