© २०२३
नवलपरासी, २३ असोज ।
राजस्व कर्मचारीको निगरानीमा मात्रै मदिरा उत्पादन गर्नु परेको जिल्ला स्थित डिस्टिलरीहरूको समस्या बनेको छ । राजस्व कर्मचारी उपस्थित भएन भने उत्पादन नै रोकिने अवस्था भएकोले डिस्टिलरीलाई समस्या हुँदै आएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले राजस्व बढाउनका लागि निरन्तर विभिन्न अभिब्यतिm दिँदै आएको तर राजस्व वृद्धिको बाधक राजस्वका कर्मचारी नै भइरहेको सरोकारवालाहरूको भनाइ छ । राज्यलाई कर तिर्ने सरोकारवालालाई प्रवद्र्धन र प्रोत्साहन गरिनु भन्दा करदातालाई हैरान गरेर राजस्व कहिल्यै नबढ्ने एक ब्यवसायीले बताए । ‘राज्यको मेरुदण्ड अर्थतन्त्र हो, त्यसको प्रमुख कुरा राजस्व हो,’ उनले भने–‘तर मेरुदण्ड नै भत्काउनेमा राजस्वका कर्मचारी लाग्ने गरेका छन् । जसको ज्वलन्त उदारहण हो, जिल्लामा सञ्चालित डिस्टिलरीहरू । राजस्वका कर्मचारी आएर बसेमा मात्र डिस्टिलरीले आफ्नो उत्पादन शुरु गर्छ, यदि राजस्व कर्मचारी आएनन् भने उत्पादन नै प्रभावित बन्ने गरेको गुनासो छ ।
बर्षेनी तीन करोड भन्दा बढि राजस्व बुझाउँदै आएको जिल्लाको सुनवल नगरपालिका स्थित हिमाली डिस्टिलरीका राजस्व हेर्ने प्रतिनिधि मान बहादुर क्षेत्रीसँग डिस्टिलरी किन चलेको छैन ? भनेर सोधपुछ गर्दा उनले राजस्व कर्मचारी नभएर उत्पादन रोकिएको प्रतिकृया दिए । नियमित रूपमा डिस्टिलरी चलेको छैन्, उनले भने, मितेरी लगायत आधा दर्जन ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । तर नियमित रूपमा डिस्टिलरी सञ्चालनमा समस्या देखिएको छ । डिस्टिलरीको पूर्ण नियन्त्रण राजस्व कर्मचारीको रहेको हुन्छ । सिसिटिभि समेत जडान गरिएको छ ।
नियमित उत्पादन गर्दा राजस्वले आफ्नो लेबल लगाईदिने हो । त्यस पछि निकासी हुन्छ । तर उत्पादन नै नियन्त्रण गर्नु हुँदैन । उत्पादन गरेर भण्डारण गर्न मिल्ने र निकासीमा नियन्त्रण गरिनु पर्ने हो । तर उत्पादन नै नियन्त्रण हुँदा उद्योगलाई प्रोत्साहन हुनु भन्दा निरुत्साही गर्ने कार्य भइरहेको अनुभव कर्मचारीहरूको रहेको छ ।
बर्षेनी कर वृद्धि हुने पनि यहिँ मदिरा हो, तर नियन्त्रण पनि यसैलाई गरिएको छ । डिस्टिलरी नियन्त्रण गरेर नेपालमा मदिराको सेवन थोरै घटेको छ, एक कर्मचारीले भने, बरु विदेशी मदिराको आयात बढेको छ । राजस्व नीति र कर्मचारीका कारण राजस्व र रोजगारी दुबैलाई प्रभावित बनाएको उनको भनाइ थियो ।
यसैगरि गत बर्षमा १७ करोड ५२ लाख राजस्व बुझाएको सुनवल नगरपालिकाकाको स्वाठी स्थित लायन्स डिस्टिलरीले अहिले पनि महिनाको १ करोड बढि राजस्व संकलन गर्दै आएको छ । अधिकांश मजदुरु बर्गले सेवन गर्ने खालका ब्राण्डका मदिरा सो डिस्टिलरीले उत्पादन गर्दै आएको लेखा प्रमुख केशरमान श्रेष्ठले बताएका थिए । राज्यलाई राजस्व नियमित बुझाउने उद्योग मध्येको यो पनि प्रमुख उद्योग हो । स्वदेशमै उत्पादन हुदै आएको स्प्रीटबाट मदिरा उत्पादन गर्ने गर्दै आएको छ । दर्जन बढि स्थानीय महिलाहरूले रोजगारी समेत पाएका छन् । राजस्वका कर्मचारी नियमित रूपमा उद्योग परिसर भित्रै बस्ने गरेका हुन्छन् । उनीहरूकै निगरानीमा मदिरा उत्पादन हुने गर्छ ।
सामाजिक रूपमा मदिरा उद्योगलाई पनि सम्मानित पेशा नभएको हुदा राजस्व कर्मचारीको निसानामा ति उद्योगहरू नै पर्ने गर्छन् । उच्च अधिकारीलाई सम्मान स्वरूप उपहार उनीहरूले नै पठाईदिनु पर्छ । चाडवर्प र उत्सव महोत्सवमा पनि राजस्व कर्मचारी लगायत उच्च ओहदाका कर्मचारीको ध्यान पनि मदिरा उद्योगतर्फ जाने गरेको छ । डिस्टिलरी सञ्चालक तथा अधिकारी सरकारी कर्मचारीको स्वागत सत्कारमा जहिले पनि तम्मतयार हुनु पर्ने अवस्था हुन्छ । तर त्यसको फाईदा बेला बखत राजस्वका कर्मचारीलाई मिलाएर उद्योग सञ्चालकहरूले पनि लिइने गरेको एक मजदुरले सुनाए । राजस्वको स्टिकर बिनामा पनि कहिले काँही मदिरा उत्पादन गरि बजारमा पठाईदिएर राजस्व छली पनि हुने गरेको छ ।
राजस्व कर्मचारीले उद्योग सञ्चालक र कर्मचारीलाई हैरान गर्ने र अबैध असुली गर्ने गर्दा त्यसको फाईदा सञ्चालकहरूले पनि बेला मौका मिलाएर राजस्व छल्ने तर्फ जाने गरेको ति मजदुरको भनाई थियो । यसले उद्योग सञ्चालक र कर्मचारीलाई लाभ हुने तर राज्य कोषमा राजस्व घट्ने गरेको छ । राजस्वका कर्मचारी उद्योगमा बसेर हेर्ने, सिसिटिभी मार्फत पनि अनुगमन गर्ने तर पनि राजस्व अनुसन्धानका कर्मचारी बेला मौका घुमफिर गर्दै आफ्नो भाग पनि उठाउन आई पुग्ने गरेको दाबी ती मजदुरको थियो । राजस्व कर्मचारी र उद्योगका कर्मचारीको खेलोमेसो हामी हेर्ने गर्छाै, उनले नाम नबताउने सर्तमा भने,तर हामी जस्ता साना मजदुरले त्यसको प्रतिवाद गर्ने हैसियत नै हुँदैन ।