© २०२३
प्युठान, १४ असोज ।
कन्तमुल खाएर जंगल चहार्दे हिँड्ने कुसुन्डा जाती । तर अहिले जीवनशैलीको हिसाबले हेर्दा अन्य जातीकै जस्तै छ । प्यूठानको सरुमारानीमा उनीहरू यसरी घरजम गरेर बस्न थालेको वर्षौ भइसकेको छ ।
सरुमारानी गाउँपालिका–६, बुढीचौर राजाबस्तीका सुकराम कुसुन्डासँग जङ्गल जंगल चाहर्दै हिँडेको अनुभव अझै ताजै छ । सुकराम हाल ४३ वर्षका भए । बुबा लिल बहादुर कुसुन्डा ६० वर्ष अघि अर्घाखाँचीको जङ्गल हुँदै प्यूठान आएका थिए । जङ्गलमा सिकार खेल्दै आउँदा यतै विहे गरे । सुकराम ४ भाई मध्येका कान्छा सन्तान हुन् । आमाको पेवाले जमिन खरिदगरेपछि उनीहरूको गृहस्थी सुरु भएको हो ।
सुकरामले बुबासंग सिकार खेल्दै जाडो याममा सरुमारानी कै गनाहको जङ्गल र गर्मियाममा हाल बसोबास गरेको क्षेत्र नजिककै जङ्गलका छाप्रोमा बसेको अनुभव सुनाए । सरुमारानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण आचार्यका अनुसार गाउँपालिकामा ५ परिवारका २४ जनाको संख्यामा कुसुण्डाको जनसंख्या रहेको छ ।
उनीहरूले मासिक ३ हजार ९ सय ९० रूपैयाँ सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । गाउँपालिकाको तथ्यांक अनुसार ८ जना बालबालिका विद्यालय शिक्षा लिदैं गरेका छन् । तर जग्गा जमिन नभएका कारण घरमा बाह्रै महिना अभावका कारण सामाजिक सुरक्षा भत्ताले खाद्यान्य मै सीमित भएको कुसुन्डा परिवारको भनाइ छ ।
राष्ट्रिय जनगणना २०७८ बमोजिम नेपालमा कुल २ सय ५३ जना कुसुन्डा जातिका मानिसहरू बसोवास गर्दछन् । बसोबासको हिसाबले कुसुन्डाहरू प्युठान सहित सल्यान, दैलेख, तनहुँ, कास्की, गोरखा, सुर्खेत, अर्घाखाँची जिल्लामा पाइने तथ्यांकमा उल्लेख छ । जातिको बाजा इर्लुङ पिपिरी, मादल डम्फु, हतियार धुनवाण तथा कुसुन्डाको आफ्नै भाषा ‘कुसुण्डा गिपन’ लोप हुने अवस्थामा पुगेको छ । जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुलीमा १, स्वर्गद्वारी नगरपालिका–२ खालमा २ र सरुमानी बुढीचौरमा ५ घर गरी ८ परिवारका ५५ जनाको जनसङ्ख्या प्युठानमा रहेको कुसुन्डा जातीका शोधकर्ता उदय आलेले बताए । कुसुन्डाहरू ४० वर्ष अघि गाउँ पायक पर्ने गाउँ छेउका जङ्गलमा बसोबास गर्दथे । गाउँलेले जङ्गलमा आगो लगाइदिने, खानेकुराको अभाव, जङ्गलमा पहिरो जाने जस्ता थुप्रै कठिनाईबाट जोगिन गाउँमा आइ समाजिकीकरणमा घुलमिल भएको उनको धारणा छ ।
कुसुन्डाको सहज जीवनयावन तथा राज्यले एकीकृत बस्ती निर्माण गरी थुप्रै लाभ लिनु पर्ने शोधकर्ता आलेको तर्क छ । लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ । अहिले भाषा संरक्षणको लागि त्यो शब्दकोषको प्रयोग हुन सुरू भएको छ । भाषा आयोगले दाङ्मा १७ कुसुन्डा र ३ गैर कुसुन्डाले कुसुन्डा भाषा अध्ययन गरिरहेको जानकारी दिए । तर छरिएको बस्ती हुँदा भाषा दिगो संरक्षणमा कठिनाई हुने बताए । एकीकृत बस्ती विकास गरी दुई सय नपुगेको जनसङ्ख्यालाई एकै ठाउँमा राख्ने, भाषा तथा उनीहरूको संस्कृति संरक्षण गर्ने काम राज्यले गरे उनीहरू अध्ययनको पात्र बन्ने, पर्यटन क्षेत्र सम्भावना बढ्दा राज्यले समेत लाभ लिने अवसरमा ध्यान नपुगेको गुनासो गरे ।
अहिले दैनिक ज्यालादारीको श्रम गरेर जीवन निर्वाह गरिरहेका छन् । प्रशस्त जग्गा जमिन नभएका उनीहरू रोजगारी र उच्च शिक्षाका लागि सरकारको मुख ताकेर बस्नु परेको छ । उच्च शिक्षाका लागि खर्चिलो हुने र धान्न नसक्ने भएपछि आफ्ना दाईभाईहरू रोजगारीका लागि भारत गएको सुरज कुुसुन्डाले बताए । हाल सरुमारानी गाउँपालिकाका–६ मा ८ जना बालबालिका अध्यनरत छन् । भने उच्च शिक्षाका लागि भिमा कुसुण्डा मात्रै स्नातक तहमा पुग्न सफल भएकी छन् । आफ्नी बहिनीलाई भाषा संरक्षण अध्ययन तथा उच्च शिक्षाका लागि दाङ पठाइएको छ भने अन्य बालबालिकाको उच्च शिक्षाको भविष्य अन्यौलता रहेको सुरजको भनाइ छ ।