© २०२३
नवलपुर, भदौ १३ गते । पूर्वी नवलपरासीको कावासोती–१५ मा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी, अभिभावक र शिक्षक अहिले पढाई लेखाइभन्दा खेत बारीमा लगाएकोे खेती स्यार्हन ब्यस्त भएका छन । यहाँका विद्यार्थीले ‘पढ्दै कमाउँदै आयमूलक कार्यक्रम’ अन्तर्गत आफ्ना विपन्न परिवारका साथीहरुका लागि आर्थिक संकलन सुरु गरेका हुन । कक्षा ६,७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिएको छ ।
खेतीमा श्रमदान गरेर आम्दानी भएको रकम आफ्नै विद्यालयमा अध्ययन गर्ने निम्न आर्थिक अवस्थाका विद्यार्थीको शैक्षिक सामग्री र सिर्जनात्मक काममा लगाउदा विद्यार्थीहरुमा हौसला बढाएको कक्षा नौ मा अध्यनरत छात्रा विद्या धमलाले बताईन ।
विद्यालयले यो कार्यक्रम अन्तर्गत कृषि कार्यलाई जोड दिँदै आएको छ । अधिकांशले खेती गर्न छाड्दै गएको र विद्यार्थीमा कुन अन्न कसरी उत्पादन हुन्छ भन्ने विषयको ज्ञान दिन यस्तो कार्यक्रम प्रभावकारी हुने गर्दछ । विद्यार्थीहरूको यो काममा कावासोती–१५ वडा कार्यालय खेती लगाउनका लागि आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७५ हजार रुपैया बजेट विनियोजन गरिदिएको थियो । विद्यार्थीले २ बिघा १० कठ्ठामा अहिले तिल, धान र मास खेती गरेका छन ।
यसैगरि १ बिघा १५ कठ्ठामा तिल, १० कठ्ठामा धान र ५ कठ्ठामा मास लगाएर उत्पादन लिने समय भएको छ । विद्यालयकी प्रधानाध्यापक लक्ष्मी न्यौपानेले तिलबाट करिब १ लाख ५० हजार, धानबाट ३० हजार र मासबाट २० हजार गरेर २ लाख रुपैयाँ विपन्न छात्रछात्रालाई छात्रवृत्ति कोषमा रकम संकलन हुने बताईन । शिक्षण सिकाइसँगै आयमूलक कार्य र व्यावहारिक ज्ञान प्रदान भएकाले कार्यक्रम प्रभावकारी र एकदमै सराहनिय बन्दै गएको छ भने विद्यालय छात्रवृत्ति कोष स्थापना गर्न जुटेको छ ।
कावासोती नगरपालिकाभित्रका अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गर्न र विपन्न विद्यार्थीका लागि बाहिरी छात्रवृत्रि माग गर्नुपर्ने बाध्यता हटाउन खेती तथा कला गरेर सहयोग गर्दै आएका छन् । नगरपालिकाको समन्वय र विद्यालयको आफ्नो मौलिकतामा केही विद्यालयले ‘पढ्दै कमाउँदै आयमूलक कार्यक्रम’ संचालन प्रभावकारी भएको कावासोती नगरपालिका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले बताए ।